शेखर र शशांक दाजुभाइ मिलाउने ‘सूत्रधार’ कसरी बने इलामका भेषराज ? – Nepal Press

शेखर र शशांक दाजुभाइ मिलाउने ‘सूत्रधार’ कसरी बने इलामका भेषराज ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पूर्वमहामन्त्री डा. शशांक कोइराला नातामा दाजुभाइ हुन् तर राजनीतिमा एकअर्काका प्रतिष्पर्धीका रुपमा धेरै नेता कार्यकर्ताले बुझेका छन् ।

सुशील कोइरालाको निधनपछि उनीहरू दुवै जना एकअर्काका सहयोगी बन्न सकेनन् । पार्टीको १४ औं महाधिवेशनमा कोइराला बन्धु एकै रहन सकेनन् । सभापतिका प्रत्यासी बनेका डा. शेखरलाई डा .शशांकले सहयोग गरेनन् । त्यो भन्दा अगाडि शशांक महामन्त्री भएका बेलामा डा. शेखरले सहयोग गरेनन् ।

नेपाल विद्यार्थी संघको महाधिवेशनमा तत्कालिन वरिष्ठ नेता रामचन्द्र पौडेल र तत्कालिन महामन्त्री डा. शशांक कोइरालाको समूहले उमेदवार बनाएका मनोजमणी आचार्यलाई हराउनका लागि शेखरले आनन्दराज त्रिपाठी उमेदवार बनाएको चर्चा कांग्रेसमाझ अहिले पनि चल्ने गर्दछ । जसको फाइदा नैनसिंह महरले उठाएर नेविसंघको अध्यक्ष बनेका थिए ।

एकअर्काका सहयोगी भन्दा पनि टाढा टाढा हुने गरेका दुई कोइराला मंगलवार इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उमेदवार तय गर्न बसेको बैठकमा भने एकै ठाँउमा उभिए । नेता शेखर कोइराला र केन्द्रीय सदस्य शशांक कोइरालाले इलाम–२ मा ‘जित्ने’ उम्मेदवारलाई टिकट दिन सभापतिलाई सचेत गराए ।

उनीहरु दुवैको जोड भेषराज आचार्यलाई उठाउनुपर्छ भन्ने थियो । कांग्रेसको संसदीय बोर्ड बैठकमै कोइरालाद्वयले देउवासमक्ष साझा भनाइ राखेका थिए ।

महामन्त्री गगन थापाले बैठकबाट निस्केर ‘सभापतिज्यू मान्दै मान्नुहुन्न, तपाईं गएर सम्झाउनुस् न’ भनेर शेखरलाई आग्रह गरेका थिए । सोपश्चात शेखर र शशांकले देउवालाई आफूहरु एक ठाउँमा रहेको सन्देश दिए ।

शेखरको भनाइ थियो–‘पार्टीले हारेकालाई टिकट नदिने निर्णय गरिसकेको छ । तर, तपाईंहरु फेरि पनि हारेकैलाई उठाउन खोज्दै हुनुहुन्छ । यो ठीक भएन ।’

शशांकले पनि सही थाप्दै भने, ‘दाइको कुरामा मेरो पनि सहमति छ ।’

शेखरले इलाम– २ मा भेषराज आचार्यलाई टिकट दिएमा मात्र चुनाव जित्ने दाबी गरेका थिए ।

उनले भने, ‘इलाममा सबैले भेषराजले जित्छ भन्दैछन्, तपाईं किन बुझ्नुहुन्न ? भेषराजलाई टिकट दिनुभयो भने ठीक छ । होइन भने हार–जीतको जिम्मा तपाईं नै लिनुस् ।’

शशांकले फेरि सही थाप्दै भने, ‘दाइको कुरामा मेरो पनि सहमति छ ।’

भेषराज कसरी बने कोइराला जोड्ने फेबिकोल ?

दुई कोइरालाका बीचमा सेतु बनेका भेषराज को हुन त ?

भेषराज आचार्यले जिल्लाको संगठन निर्माणमा तीन दशक विताएपनि पार्टीको केन्द्रीय र राज्यका निकायमा कुनैपनि अवसर पाएका छैनन् । उनी ०७० सालमा एमालेका दिवंगत नेता सुवास नेम्वाङसँग आमने सामने भएका थिए । त्यसबेला आचार्य नेम्वाङसँग पराजित भएका थिए ।

संगठनभित्र बलियो पकड बनाएका आचार्य समूहलाई बाइपास गरेको खण्डमा कांग्रेसका लागि घातक हुने देखिएको छ । क्षेत्रीय समितिबाट एक नम्बरमा नाम सिफारिस भएका आचार्य प्रतिस्पर्धी दलहरुका लागि पनि टाउको दुखाइका व्यक्ति हुन् ।

निरन्तरता, सक्रियता र संगठन निर्माण गरेरै स्थापित बनेका आचार्य हालसम्म कुनै विवादमा फसेका छैनन् । जोसुकै उम्मेदवार भएपनि उनको समूह मैदानमा सक्रिय नभए कांग्रेसलाई जित निकाल्न कठिन पर्ने कोइरालपक्षको बुझाइ छ ।

नेपाली कांग्रेसको संगठन निर्माणमार्फत लोकप्रियता कमाएका, पटक पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि रहँदै आएका आचार्य यस पटक जसरी टिकट लिएर विजयी भईछाड्ने अभियानमा छन् । इलामका दुईवटा निर्वाचन क्षेत्र, चारवटा प्रदेशसभा, पालिका र वडा तहका पार्टी संरचनाहरुको नेतृत्वमा आफ्नो ‘विचार समूह’का नेताहरुलाई स्थापित गराएको बताउँदै आएका आचार्यले जुनसुकै दलमा आस्थावान मतदाताको मत आफूले पाउने दाबी गरिरहेका छन् ।

‘लो प्रोफाइल’मा बसेर संगठन निर्माणमा तीन दशकदेखि सक्रिय रहेको बताउँदै आएका आचार्य यस पटक आफूले टिकट पाउने र विजयी भएरै छाड्ने बताउँछन् ।

कांग्रेसबाटै पूर्वराज्यमन्त्री केशव थापा पनि चुनावी अभियानमा उत्रिएका छन् । कुनैबेला पार्टी दुई चिरा हुँदा शेरबहादुर देउवाको क्याम्पमा बसेर इलाममा संगठन निर्माणमा सक्रिय रहेका थापा डम्बर खड्काको पक्षमा भन्दा आचार्यलाई छोड्नका लागि तयार हुने नेताहरूले बताउने गरेका छन् ।

पार्टीको जिल्ला अधिवेशनमा खड्कालाई सभापतिमा सहयोग गरेका थापा र खड्काबीचको सम्बन्ध पछिल्लो समय विग्रिएकाले देउवा समूहमा विचलन देखिएको छ । जसको प्रत्यक्ष असर देउवा समूह र पार्टीभित्र पर्ने देखिन्छ । तर डा.शेखर कोइराला र महामन्त्री गगन थापाको समूहबाट निर्विकल्प उम्मेदवार भनिएका आचार्यले सबैलाई मिलाएर चुनाव जित्ने दाबी गरिरहेका छन् ।

वि.स.२०५६ सालदेखि नेम्वाङ विजयी हुँदै आएको इलाम २ यसपटक कांग्रेसले जसरी आफ्नो पोल्टामा पार्ने रणनीति लिएको छ । एमालेसँग झिनो मतान्तरले पराजय ब्यहोर्दै आएको कांग्रेस यस पटक विवेकपूर्वक उम्मेदवार चयन गर्ने र एकतावद्ध अभियानमार्फत आफ्नो उम्मेदवारलाई विजयी गराउने रणनीतिमा छ ।

खड्कालाई कसरी भयो झड्का ?

क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार क्षेत्रीय समितिको हालैको बैठकले पहिलो नम्बरमा महासमिति सदस्य भेषराज आचार्यको नाम सिफारिस गरेको छ । दोस्रो नम्बरमा नेता केशव थापाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस भएको छ । महिला आकांक्षीद्वय चन्द्रमाया लिम्बु र चन्द्रकला राईको नाम सिफारिस गरेको छ ।

२०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित पार्टी सभापति समेत रहेका खड्का पुनः आधिकारिक उम्मेदवार बन्ने दौडमा छन् । तर उनलाई यसपटक पार्टीबाट टिकट लिन त्यति सहज देखिएको छैन् । उनलाई त्यसबेला माओवादी,नेकपा एसलगायत गठबन्धन दलको मत प्राप्त भएकाले नेम्वाङसँग टक्कर गर्न समर्थ भएका थिए ।

निर्वाचनमा पराजयपछि आफ्नै दलका अग्रज नेताहरुलाई ‘भौतिक आक्रमण गर्ने र अनुशासनको कारवाही गर्ने’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका कारण उनी आलोचित छन् । पार्टी सभापति भएर अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको, जिल्ला कार्य समितिको पूर्ण बैठक एक वर्षदेखि राख्न नसकेको र आफ्नै नेता कार्यकर्तालाई उत्तेजित गाली गर्ने गरेका कारण खड्का पार्टीभित्र साझा बन्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर