प्रचण्ड सरकारको आयु लामो छैन, कांग्रेसले चाँडै स्थिर सरकार दिन्छ: प्रवक्ता महत (भिडिओ) – Nepal Press

प्रचण्ड सरकारको आयु लामो छैन, कांग्रेसले चाँडै स्थिर सरकार दिन्छ: प्रवक्ता महत (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्थिरता र अविश्वासको जगमा अहिलेको यो सरकारको आयु चाँडै टुंगिने जिकिर गरे ।

उनले भने, ‘अस्थिरतामा रमाइरहने प्रवृत्तिलाई निस्तेज गर्नुपर्छ । अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुंगिनेवाला छ र चाँडै नै लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

अहिले लोकतान्त्रिक मूल्य मान्यता र संवैधानिक व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

प्रवक्ता महतले भने, ‘सत्तामा देखिएको अस्थितरता, छिटोछिटो सरकार परिवर्तन हुने प्रवृत्तिलाई देखाएर लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गर्ने कोसिस भइरहेको छ । यद्यपि, त्यो सफल हुँदैन । नेपालको राजनीति नेपाली कांग्रेसको कारणले अन्योलग्रस्त भएको होइन । कांग्रेसको कारणले अस्थिरता आएको होइन । जसले अस्थिरता निरन्तर रुपमा निम्ताइरहेका छन्, त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर