कैलाश सिरोहिया पक्राउ प्रकरण : गृहमन्त्रीको कदम साहसिक कि पूर्वाग्रही ? – Nepal Press

कैलाश सिरोहिया पक्राउ प्रकरण : गृहमन्त्रीको कदम साहसिक कि पूर्वाग्रही ?

सिरोहियाको नागरिकतामाथि यस्ता छन् संशयका विषय

काठमाडौं । देशको सबैभन्दा ठूलो सञ्चारगृह मानिने कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया फौजदारी आरोपमा आज आफ्नो कार्यकक्षबाटै पक्राउ परे । दोहोरो नागरिकताको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेपश्चात जनमानसमा विभाजित प्रतिक्रियाहरु उत्पन्न भइरहेका छन् ।

सामाजिक सञ्जालको प्रतिक्रिया हेर्दा जनमानसको ठूलो हिस्सामा खुशी छाएको देखिन्छ । तर, सञ्चार जगतका अगूवाहरु र पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले यसको निन्दा गरेका छन् । सिरोहिया पक्राउलाई प्रेस स्वतन्त्रतासँग जोडेर पनि भत्र्सना गरिएको छ ।

अर्कोतर्फ प्रतिपक्ष दल नेपाली कांग्रेस सिरोहियाको बचाउमा उभिएको छ । कांग्रेसका केही प्रभावशाली सांसदहरु आज कान्तिपुर कार्यालयमै पुगेर सिरोहियालाई सान्त्वना दिएका थिए । सिरोहियामाथि प्रक्राउ पूर्जी जारी हुनासाथ संसदमा कांग्रेस सांसदले उनको पक्षमा आवाज उठाएका थिए । कांग्रेसको यस्तो कार्यले यो प्रकरणको राजनीतिकरण हुनसक्ने देखिन्छ ।

अर्कोतर्फ आफूविरुद्ध कान्तिपुरले धारावाहिक समाचार लेखिरहेको हुँदा सिरोहियामाथि गृहमन्त्रीले व्यक्तिगत प्रतिशोध साँधेको आशंका र टिप्पणीहरु पनि भइराखेका छन् । यद्यपि, लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श नगरिकन यो कदम चाले होलान् भन्न सकिन्न ।

सिरोहिया स्वयम्ले आफ्नो पक्राउलाई कान्तिपुरविरुद्ध गठबन्धन र प्रधानमन्त्रीले गरेको प्रहारका रुपमा व्याख्या गरेका छन् । उनको सबैभन्दा बढी आक्रोश गृहमन्त्रीमाथि नै छ ।

उनले पक्राउ पर्नुअघि आक्रोशित भावमा भिडिओ सन्देश जारी गरेका थिए । भिडिओमा उनले यस्तो भनेका छन्ः

एउटा कुनै मान्छेको नागरिकता सम्बन्धी उजुरी, जुन दर्ता हुनु अगाडि नै मिडियामा आएको थियो, त्यसको विषयमा मसित कुनै सोधखोज गरिएको छैन । ममाथि कुनै उजुरी छ र मेरोविरुद्ध कुनै अनुसन्धान हुन्छ भने म त्यसको लागि तयार छु भनेको थिएँ । तर आजसम्म केही नगरी पक्राउ पूर्जी जारी गरिएको छ ।

मैले नागरकिता ऐन २०२० अनुसार २०३६ सालमा वंशजको आधारमा नागरिकता पाएको हो । मेरो नागरिकताको नेपाली कागज गलेकाले २०५७ सालमा प्रतिलिपि निकालेँ । मैले कहिले पनि दुईवटा नागरिकता लिएको छैन । र मेरो दुईवटा नम्बर पनि छैन । भनिँदै आएको छ कि, दुईवटा नागरिकता एउटै नम्बरको पर्यो । त्यो सेवाग्राहीको काम होइन नम्बर भिडाएर हेर्ने । प्रशासन कार्यालयले जे दिन्छ लिएर हिँड्ने हो । मैले भर्खर थाहा पाएँ, संसदका महासचिवको तीनवटा नागरिकता थियो । सच्याउन पाइन्छ । त्यस्तो केही थियो भने मलाई सोधखोज गरिनुपर्थ्यो । ममाथि पक्राउ पूर्जी जारी गर्नुको मतलब पूर्वाग्रहका रुपमा यो काम गरिएको छ ।

यो सबै सम्पूर्ण कुराको पछाडिको कारण कान्तिपुर हो । कहाँ हुनुहुन्थ्यो तपाईंहरु ६२/६३ को जनआन्दोलनमा ? कहाँ हुनुहुन्थ्यो लोकतन्त्र खतरामा परेको बेलामा ? कान्तिपुरले सँधै लोकतन्त्रका लागि लडेको होइन ? पहिला थुन अनि सोध, कुन कानून हो यो ? यो सबै प्रतिशोध हो । माननीय गृहमन्त्रीको सहकारी हेराफेरीको विषयमा प्रकाशित समाचारको प्रतिशोध हो । गृहमन्त्रीले राजनीतिक ब्ल्याकमेलिङ गर्न खोज्नुभएको छ ।

म एकजना गहृमन्त्रीको मात्रै प्रतिशोध मान्दिनँ । यो पूर्णरुपमा गठबन्धन र प्रधानमन्त्रीले कान्तिपुरमाथि गरेको प्रहार हो । यसलाई फेस गर्न तयार छु ।

के हो विवाद ?

सिरोहियाविरुद्ध गत वैशाख १६ गते नागरिकतासम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । सिरोहिया र धनुषाकै शिवजी साहु तेलीको नागरिकता नम्बर एउटै भएको, सिरोहियाले दुईवटा नागरिकता लिएको र विभिन्न ठाउँमा फरक-फरक नागरिकता नम्बर उल्लेख गरेको भन्दै जाहेरी परेको हो ।

जाहेरी दर्ता भएको भोलिपल्ट सिरोहियाले विज्ञप्ति जारी गर्दै खण्डन गरेका थिए । विज्ञप्तिमा उनले २०३४ सालमा नागरिकता लिएको र नेपाली कागज पुरानो भएकाले २०५७ मा प्रतिलिपी निकालेको उल्लेख गरेका छन् । २०१९ सालमा जन्मिएका सिरोहियाले उमेर नपुग्दै २०३४ सालमै कसरी नागरिकता लिए भन्ने प्रश्न उठ्यो । त्यसबेला नागरिकता लिने उमेर हद १८ वर्ष थियो ।

२०३४ सालमा आफुले नागरिकता लिएको र त्यसको दुई वर्षपछि नागरिकता लिएका व्यक्तिको नम्बर मिल्नुमा आफ्नो कुनै दोष नरहेको सिरोहियाको दाबी थियो । यस्तै विभिन्न कम्पनीहरुमा फरक–फरक नागरिकता नम्बर उल्लेख भएकोमा उनले प्राविधिक गडबडी बताएका थिए ।

तर सिरोहिया आफैंले केही दिनपछि सामाजिक सञ्जालमा आफ्नो नागरिकताको प्रतिलिपि राखे । त्यसमा उनको नागरिकता जारी मिति २०३६ साल भदौ २५ गते देखिन्छ ।

यसअघि ३४ सालमा नागरिकता लिएको बताएका उनले ०३६ सालमा लिएको नागरिकताको फोटो राखेपछि शंसय बढेको थियो । शिवजी साहु तेलीको नागरिकता जारी मिति २०३६ भदौ २० गते रहेको छ । यसअनुसार तेलीले नागरिकता पाएको ५ दिन पछि सिरोहियाले त्यही नम्बरबाट नागरिकता लिएको पाइयो ।

सिरोहियाले पाएको वंशजको नागरिकताका विषयमा पनि प्रश्न उठेको छ । उनको पिता घाँसीराम सिरोहिया अंगीकृत नागरिक थिए । तत्कालीन कानूनअनुसार सिरोहियाले वंशजको नागरिकता लिन उनको क्राइटएरिया नपुग्ने प्रहरीको स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गर्न अदालतसँग अनुमति माग्दा ६ वटा आधार प्रस्तुत गरेकाे छ । हेुर्नुस् जिप्रका धनुषाकाे पत्र: 

 

फौजदारी विषयमा ‘प्रेस स्वतन्त्रता’ को दुहाई

नागरिकताको विवाद सिरोहियाको व्यक्तिगत विषय हो । तर, उनले यसलाई कान्तिपुर दैनिक मात्र नभएर समग्र सञ्चार जगतसँग जोड्न खोजेका छन् । सञ्चार क्षेत्रका केही हस्तीले प्रेस स्वतन्त्रताको दुहाई पनि दिइरहेका छन् ।

नागरिकता सम्बन्धमा उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्नु उसको दायित्व नै थियो । जिल्ला अदालतबाट अनुमति लिएर प्रक्रियाअनुसार नै पक्राउ गरिएको छ । यसलाई प्रेस स्वतन्त्रताको हननको रुपमा व्याख्या गर्नु उचित होइन । पत्रकार महासंघको उच्च नेतृत्व आज कान्तिपुरको कार्यालयमा उपस्थित भएर सिरोहियाप्रति ऐक्यवद्धता जनाउनु प्रश्नयोग्य छ ।

गृहमन्त्री लामिछानेले सिरोहियामाथि व्यक्तिगत प्रतिशोधको भावना राखेका हुन् भने त्यो पनि ठीक होइन । सिरोहियामाथि पक्राउ गर्ने ‘टाइमिङ’ ले यस्तो शंका गर्ने आधार दिएको छ ।

कान्तिपुरको एकोहोरो खेदाइका बीच सिरोहिया पक्राउ पर्नुले बाघ कराउनु र बाख्रा हराउनुझैं भएको छ । यद्यपि, यदि सिरोहिया निर्दोष छन् भने लामिछानेले चाहेर मात्रै केही हुनेवाला छैन । छिनोफानो अदालतबाटै हुने हो ।

 


प्रतिक्रिया

5 thoughts on “कैलाश सिरोहिया पक्राउ प्रकरण : गृहमन्त्रीको कदम साहसिक कि पूर्वाग्रही ?

  1. साहसिक पनि होईन र पूर्वाग्रही पनि होईन । यो त स्वभाविक हो । दुईवटा नागरिकता राख्नेको छानबिन गर्दा यत्रो कोलाहल किन ? के मिडियाको मान्छे भन्दैमा अपराध गरे पनि छुट पाउनुपर्ने हो ? मिडियाकाले बलत्कार गरे पनि, चोरे पनि, मान्छे मारे पनि छुट पाउनुपर्ने ? यस्ता दलाली कुरा अब चल्दैन देशमा । सलाम छ रवि सर । कानूनको नजरमा कोही सानो ठूलो छैन भन्ने नमूना प्रदर्शन।

  2. नागरिकता सम्बन्धमा उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्नु उसको स्वभाविक दायित्व नै हो । जिल्ला अदालतबाट अनुमति लिएर कानूनको प्रक्रियाअनुसार नै पक्राउ गरिएको छ । यसलाई प्रेस स्वतन्त्रताको हननको रुपमा व्याख्या गर्नु उचित होइन । पत्रकार महासंघको उच्च नेतृत्व आज कान्तिपुरको कार्यालयमा उपस्थित भएर सिरोहियाप्रति ऐक्यवद्धता जनाउनु प्रश्नयोग्य छ ।

  3. नागरिकता किर्तेमा पक्राउ परेको कैलाशले प्रेस स्वतन्त्रताको दुहाई दिनु र कालो काङ्ग्रेसले उनको बचाउ गर्नु! हेर लज्जा!

  4. निष्पक्ष समाचार बल्ल पढ्न पाईयो धन्यवाद

  5. Purai kp oli ko gandha aaune headline…
    Phaujadari ho vanne proof chha timi sita? Investigation n hudai phaujadari?
    Timro office ma kunai din police or army ko boot bajarida thaha paune chhau

    Dalle haru

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर