तीन महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइसके : रेशम चौधरी (भिडिओ) – Nepal Press

तीन महिनादेखि खाना खाएको छैन, आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइसके : रेशम चौधरी (भिडिओ)

'आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्छ'

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर दिक्दारी पोखेका छन् । उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरे ।

पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् ।

उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी पनि उनले दिए ।

रेशमको भनाइ:

मलाई थाहा छ यो बिरुवा कुन जातको हो । स्याउको हो कि, ओखरको हो कि, आँपको हो कि । मैले तीन महिनादेखि खाना खाएको छैन (भावुक बन्छन्) । कहिले दुई चम्चा खान्छु, कहिले के कहिले के । आत्महत्या गर्ने परिस्थितिसम्म पुगाइसके । केही पनि मान्दै मान्दैनन् । केन्द्रीय समितिको निर्णय नमान्ने भन्छन् । पार्टी कसले चलाइरहेको छ ? पदीय लोलोपता धेरै भयो । अब २३ र २४ गतेको बैठकले कारबाही गर्छ । सम्झौता भयो भने पार्टी मिलाउने हो, नत्र छानिछानी कारबाही गर्ने जसले गल्ती गर्‍यो उ कारबाहीमा पर्‍यो ।

बाहिरबाट हस्तक्षेप भएर यो भइरहेको छ । अहिलेको सरकारले हाम्रो पार्टी चलाइरहेको भएर यस्तो भइरहेको छ । पार्टी अर्काको इशारामा किन चल्ने ? केन्द्रीय समितिबाट निर्णय गरेर जाऊँ भनेको हो । २३ र २४ गतेसम्म यथास्थितिमा चल्छ । त्यसपछि केन्द्रीय समितिले गरेको निर्णय स्वीकार गर्छौँ ।

म सबैसँग क्षमा माग्न चाहन्छु । आफैँले रोपेको बिरुवालाई अर्को मान्छेले आएर काटेको टुलुटुलु हेर्न सकिने अवस्था छैन । सबै पिडा बुझ्नुभएको छ । म जतिको पीडित को होला ? हे भगवान् पीडा भन्ने तैंले मेरो भाग्यमा मात्रै लेखिस् है । जिन्दगीभरि संघर्ष गरेँ । काठमाडौं आउँदा भृकुटीमण्डपमा भारी बोकेँ । पिउनको जागिर खाएँ । रेडियो नेपाल टेलिभिजन हुँदै संघर्ष गर्दै आफ्नो गाउँ पुगेँ । गाउँबाट जेल पुगेँ । जेलमा साढे ८ वर्ष बसेँ । यस्तै तरिका हो भने… भन्ने दिन पनि आउला । अब के गर्ने पीडा छ ।

घरकै मान्छेले नमानेपछि झन् बढी पीडा हुन्छ । पार्टीका मान्छेले लोग्ने–स्वास्नी मिल्या छौ भन्छन् । म अनुरोध गर्छु, उहाँबाट स्वीकार हुँदैन । म बेवकुफ बन्छु । के गर्नु, बेवकुफ बनिरहने मेरो भाग्यमा लेखेको छ । पार्टी मिल्ला भनेर चुपचाप बस्ने हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर