संविधानलाई समयानुकूल संशोधन आवश्यक छ : उपसभापति खड्का – Nepal Press

संविधानलाई समयानुकूल संशोधन आवश्यक छ : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानलाई समयानुकूल संशोधन आवश्यक रहेको बताएका छन् ।

उनले कांग्रेस नेतृत्वमा संविधान जारी गर्दानै मधेसी, महिला, आदिवासी, जनजाति, धर्म-संस्कृतिसँग जोडिएका विषयहरु सम्बोधन गर्न बाँकी नै रहेकाले संविधान कार्यान्वयन गर्दै जाँदा ति कुराहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता जारी गरिएको बताए ।

‘संविधानसभामा मत हाल्नुअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आज संविधान जारी गरौं, कार्यान्वयन गर्दै जाँदा महिला, आदिवासी, जनजाति, धर्म–संस्कृतिसँग जोडिएका विषयहरु संशोधनमार्फत सम्बोधन गरौंला भनेर बोल्नु भएको थियो’, इसाई समाज सुर्खेतले आयोजना गरेको इष्टर महोत्सवको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले भने, ‘अहिले संविधानमा लेखिएका कुराहरुलाई अक्षरस कार्यान्वयन गर्दै बाँकी रहेका विषयहरु समेट्न कांग्रेस सधैं तयार छ ।’

पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले संविधान, कानून र ऐनहरुमा नमिलेका कुराहरुलाई संशोधन गर्न आवश्यक रहेको बताए । उनले सरकारले कुनै जातजाति, भाषा, धर्म र संस्कृतिमाथि भेदभाव गर्न नहुने पनि बताए । ‘नागरिकको मतबाट सञ्चालन भएको शासनमा भेदभाव संभव छैन’, उनले भने, ‘राज्यले सबैकाप्रति समान व्यवहार गर्नुपर्छ, कहीँ पनि पक्षपात हुनु हुँदैन् ।’

उपसभापति खड्काले आफ्नै पार्टीको नेतृत्वमा जारी भएको संविधानप्रति कांग्रेस पूर्ण प्रतिवद्ध रहेको दोहोर्याए । ‘लोकतान्त्रिक पार्टी भएकाले पार्टीमा हरेक विषयमा खुल्ला छलफल हुन्छ, महासमितिको बैठकमा पनि भयो, धार्मिक विषयमा पनि कुरा उठ्यो’, उपसभापति खड्काले भने, ‘कांग्रेस आफ्नो नेतृत्वमा जारी भएको संविधानप्रति प्रतिवद्ध छ, दाँया र बाँया कुरै छैन ।’

उनले संविधान जारी गर्दा कांग्रेससँगै साथमा रहेका दलहरु पनि संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको बताए । ‘धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताका सवालमा त्यतिबेला संविधान जारी गर्ने सबै दलहरु पनि पूर्ण प्रतिवद्ध छन्’, उनले भने, ‘यसमा कसैले पनि शंकाको दृष्टिकोणले हेर्नु हुँदैन ।’ उनले संविधानमा रहेका केही कमिकमजोरी भने संशोधन गर्नु आवश्यक रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर