माओवादीबाट राजीनामा नदिई रास्वपाका उम्मेदवार बने मिलन लिम्बू, प्रेस सेन्टरले गर्‍यो बर्खास्त – Nepal Press

माओवादीबाट राजीनामा नदिई रास्वपाका उम्मेदवार बने मिलन लिम्बू, प्रेस सेन्टरले गर्‍यो बर्खास्त

नेतृत्वको निर्देशन बेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गरेको प्रेस सेन्टरको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा उम्मेदवार बनाएका मिलन लिम्बूले माओवादीबाट राजीनामा नदिएको खुलेको छ । उनी माओवादीको उपत्यका विशेष प्रदेश समितिमा आवद्ध थिए भने माओवादीनिकट प्रेस सेन्टरको सचिव थिए ।

प्रेस सेन्टरले हिजो एक विज्ञप्ति जारी गरी उनलाई संगठनको जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ । सेन्टरका महासचिव सन्तोष पौडलद्वारा जारी विज्ञप्तिमा लिम्बूले संगठनको नीति, विधि, विधान र आचरणविपरीत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामा अभिव्यक्ति दिएको तथा अनुशासनविपरीत गतिविधि गरिरहेको उल्लेख छ ।

‘पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको र संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत वेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकाले संगठनको अनुशासन समितिको सिफारिसमा आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

रास्वपालाई मिलनले आफू माओवादीबाट अलग भइसकेको बताएका थिए । यद्यपि, उनले प्रेस सेन्टरमा राजीनामा नबुझाएको महासचिव पौडेलले नेपाल प्रेससँग बताए ।

‘उहाँले राजीनामा दिनुभएको छैन,’ पौडेलले भने, ‘सामाजिक सञ्जालमा लेखेको कुरालाई हामी मान्यता दिँदैनौं ।’

लिम्बू माओवादीबाट इलाम २ मा चुनाव लड्न चाहन्थे । तर, टिकट पाउने परिस्थिति नदेखेपछि उनले ‘पहिचानवादी’ समूहबाट साझा उम्मेदवार बन्ने प्रयासमा लागे । त्यसमा पनि सफल भएनन् । त्यसपछि उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरे । उनले आफूलाई ‘अकबरे उम्मेदवार’ भन्दै चुनाव चिन्हको रुपमा ‘डल्ले खुर्सानी’ को प्रचार गरिरहेका थिए ।

स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुअघि २३ फागुनमा लिम्बूले एउटा ‘प्रेस विज्ञप्ति’ सामाजिक सञ्जालमा राखेका छन् । त्यसमा उनले आफूले सबै राजनीतिक आवद्धता त्याग गरेको उल्लेख गरेका थिए ।

‘आम नेपालीजनको विकास, समृद्धि र परिवर्तनको चाहना तथा अपेक्षालाई नेपालका राजनीतिक दलहरुले गरेको उपेक्षालाई मध्यनजर गर्दै आजैका मितिबाट राजनीतिक आवद्धताबाट पूर्णरूपमा अलग भएको सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा जानकारी गराउन चाहन्छु,’ उनले लेखेका थिए । उनले सीधै माओवादी नभनेर अमूर्तरूप भाषा प्रयोग गर्दै ‘राजनीतिक आवद्धता’ छाडेको भनेका छन् । तर, त्यतिबेला उनको रास्वपासँग कुराकानी सुरू भइसकेको थियो ।

रास्वपा सभापति रवि लामिछानेसँग मिलनले न्यू २४ टेलिभिजनमा सँगै काम गरेका हुन् । रास्वपाले इलाममा स्थानीय जनजाति अनुहार खोजिरहेको थियो । स्वतन्त्र उम्मेदवारी दिए पनि जित्ने सम्भावना नदेखेपछि लिम्बूले पार्टीकै छहारी खोज्न थाले । दुवैको ‘चुनावी स्वार्थ’ मिलेपछि नीतिगत विषय ‘सेकेन्डरी’ भयो र कथित ‘प्राइमरि इलेक्सन’ अगाडि नै मिलनलाई उठाउने रास्वपाले पक्का गरेको थियो ।

रास्वपासँग मिलनले बोकिरहेको व्यक्तिगत विचारधारा मेल खाँदैन । मिलन संघीयताका कडा पक्षपाति मात्र नभएर जातीयताका हिमायती हुन् । कोशी प्रदेशको नामकरण पहिचानका आधारमा हुनुपर्ने भन्दै उनी संघर्षरत छन् । रास्वपा संघीयताको आलोचक हो, जसले प्रदेश सभा चुनावमा पनि भाग लिने गरेको छैन । रास्वपा कोशी प्रदेश नामकरणको विरोधमा पनि छैन । तर, मिलनले उम्मेदवारी घोषणापछि एक भिडिओ सन्देश जारी गर्दै रास्वपाले आफूसँग संघीयता र पहिचानको पक्षमा प्रतिवद्धता जनाएको दाबी गरेका छन् ।

मिलनलाई हटाइएको जानकारीसहित सेन्टरको विज्ञप्ति-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर