गठबन्धनको कोपभाजनमा परेकी उर्मिला अर्यालको माओवादी संसदीय दलको नेतामा दाबी – Nepal Press

गठबन्धनको कोपभाजनमा परेकी उर्मिला अर्यालको माओवादी संसदीय दलको नेतामा दाबी

अर्याल भन्छिन्- राष्ट्रियसभा अध्यक्ष बनाउने आश्वासन थियो, तर मलाई नसोधी निर्णय भयो

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षबाट आज राजीनामा दिएकी उर्मिला अर्यालको भनाइमा उनी यो पदका लागि इच्छुक नै थिइनन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले मौका आएपछि अध्यक्ष नै बनाउने आश्वासन दिएर उनलाई उपाध्यक्षमा उठ्न मनाएका थिए ।

सत्तारुढ गठबन्धन फेरिएसँगै राष्ट्रियसभाको अध्यक्ष माओवादीको भागमा पर्‍यो पनि । तर, माओवादी अध्यक्ष तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्याललाई पन्छाएर आफ्नो भाइ नारायणप्रसाद दाहाललाई रोजे । नयाँ गठबन्धनमा भएको सहमति अनुसार उपाध्यक्ष अर्को दलको भागमा परेको छ । यसर्थ आज अर्यालले उपाध्यक्षबाट राजीनामा दिइन् ।

नयाँ गठबन्धनबीच अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने सहमति प्रारम्भिकरूपमा भएको थियो । तर, नेकपा एस पनि गठबन्धनमा मिसिएपछि उपाध्यक्षमा दाबी गर्‍यो । फलतः गठबन्धनको संशोधित सम्झौतामा उपाध्यक्ष एमालेलाई दिने वाक्यांश गायब भएको छ । यद्यपि, माओवादीले अध्यक्ष पाइसकेकाले उर्मिलाले उपाध्यक्षबाट राजीनामा दिनैपर्ने परिस्थिति बनेको थियो ।

मैले कुरा राखेकी छु । उहाँहरूले पनि सोच्ने विषय हो । अहिले संसदीय दलको नेता रहनुभएका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुनुहुन्छ । उहाँ सरकारमा गइसकेपछि वरीयताले पनि संसदीय दलको नेताको दाबेदार त मै हुँ । पार्टी अध्यक्षले सोच्नुहोला ।

नेपाल प्रेससँग कुरा गर्दै अर्यालले आफूले व्यक्तिगत र राजनीतिक परिस्थितिका कारण राजीनामा दिएको बताइन् ।

‘राजनीतिक कुरा तपाईंले बुझ्नुभएकै छ । व्यक्तिगत कुरा गर्दा अध्यक्षमा नारायण दाहालज्यू आउनुभएपछि मलाई उपाध्यक्षमा बसिरहन मन भएन । पार्टीमा उहाँ र म एउटै स्टेटसका नेता हौं । खासमा त राजनीतिमा उहाँभन्दा मै पुरानो हुँ,’ अर्यालले भनिन् ।

उनले गठबन्धनमा भागबण्डाको कुरा पनि भएकाले आफूले राजीनामा गर्नुको विकल्प नरहेको बताइन् ।

‘नेताहरूले केही भन्नुभएको त थिएन, तर आशय त बुझ्नुपर्‍यो नि ! मैले पनि पार्टीलाई अप्ठेरो पारिदिनु भएन,’ उनले भनिन्, ‘एउटालाई अध्यक्ष बनाएपछि अर्कोले उपाध्यक्षबाट छोड्नै पर्‍यो, उपाध्यक्ष अर्को पार्टीलाई दिने भनिसक्या छ ।’

आफूलाई अध्यक्ष बनाउने आश्वासन दिएका प्रचण्डले अहिले त्यो मौका आएपछि अर्को व्यक्ति रोजेकोमा विस्मित छिन् उर्मिला ।

उनी भन्छिन्, ‘खासमा उपाध्यक्ष बन्न मलाई मन थिएन, पार्टीले निर्णय गरेपछि स्वीकार गरेकी हुँ । त्यसबेला मलाई पार्टी अध्यक्षले पछि अध्यक्ष बन्ने परिस्थिति निर्माण हुन सक्छ भनेर कन्भिन्स्ड गर्नुभएको थियो । पार्टीले अध्यक्ष पाउने अवसर आएपछि मलाई नै बनाउँछ भनेर आशावादी थिएँ । तर, मसित कुनै सरसल्लाह नगरकिन निर्णय भयो । बाहिर सञ्चारमाध्यमबाट थाहा पाएँ । मेरो अध्यक्षमा दाबी थियो भन्ने त इतिहासमा रहन्छ । तर, पार्टीले निर्णय गरेको कुरा स्वीकार्नैपर्‍यो ।’

राष्ट्रियसभा अध्यक्षमा निर्वाचित नारायण दाहालसँग आफ्नो कुनै व्यक्तिगत इगो नभएको तर अध्यक्ष प्रचण्डसँग गुनासो रहेको उनले बताइन् ।

उपाध्यक्षबाट राजीनामा दिँदा आफूले कुनै बार्गेनिङ नगरेको उनको भनाइ छ ।

‘मन्त्री त अहिले म जान्न नै भनेको छु । फेरि सबै मन्त्रिमण्डलको निधो भएपछि बल्ल अध्यक्षको टुंगो भएको हो । कसलाई हटाउने कसलाई फाल्ने त्यो गर्नु हुँदैन । त्यसैले म जान्न नै भनेको छु,’ उनले भनिन् ।

अर्यालको रुचि राष्ट्रियसभामा पार्टी संसदीय दलको नेता बन्ने छ । यसबारे उनले प्रचण्डसँग आफ्नो कुरा राखिसकेकी छन् ।

‘मैले कुरा राखेकी छु । उहाँहरूले पनि सोच्ने विषय हो । अहिले संसदीय दलको नेता रहनुभएका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुनुहुन्छ । उहाँ सरकारमा गइसकेपछि वरीयताले पनि संसदीय दलको नेताको दाबेदार त मै हुँ । पार्टी अध्यक्षले सोच्नुहोला । राष्ट्रियसभा अध्यक्षको चयन भएको भोलिपल्टै पार्टी अध्यक्षलाई भेटेर भनेको थिएँ । उहाँ पोजिटिभ नै हुनुहुन्छ, तर के गर्नुहुन्छ थाहा छैन,’ अर्यालले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर