आदिललाई टीममा फर्काउने विषयमा क्यानले आईसीसीलाई सोधेर मात्र निर्णय लिने – Nepal Press

आदिललाई टीममा फर्काउने विषयमा क्यानले आईसीसीलाई सोधेर मात्र निर्णय लिने

क्यान अध्यक्ष चन्द भन्छन्, ‘फैसलाको आधिकारिक जानकारी आइसकेपछि आइसीसीसँग परामर्श गर्छौं’

काठमाडौं । अलराउन्डर आदिल आलम अन्सारीसहित ५ जना क्रिकेटरले फिक्सिङको आरोपबाट उन्मुक्ति पाए । अदालतले सफाइ दिएपछि उनीहरू तत्काल क्रिकेटमा फर्किन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उब्जेको छ ।

गत वर्ष काठमाडौंमा भएको टी-२० लिगमा फिक्सरसँग रकम लिएर जानाजान नो बल फ्याकेको आरोप आदिलमाथि लागेको थियो । स्पट फिक्सिङमा संलग्न रहेको भन्दै उनीसहित महबुब आलम, नितेश गुप्ता, नवीन कँडेल र रवि माझीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो ।

मुद्दा लाग्नु अघिसम्म आदिलले अलराउन्डरको भूमिकामा राष्ट्रिय टीमबाट खेलिरहेका थिए । उनी मध्यम गतिको बलरका साथसाथै हार्ड हिटिङ ब्याट्सम्यान हुन् । उनको ब्याटिङ शैली टी-२० का लागि सुहाउँदो छ ।

फिक्सिङमा मुद्दापछि सीआईबीले महबुब, आदिल र नितेशलाई पक्राउ गरेको थियो । अन्य दुईजना फरार भएका थिए । पछि अदालतले तीनैजनालाई धरौटीमा छोडिदियो ।

हिरासतबाहिर भए पनि मुद्दा चलिरहेकाले आदिलले क्रिकेट खेल्न पाएका थिएनन् । उनी सबैखालको क्रिकेटबाट टाढा बस्नु परेको थियो । फैसला आएपछि भने उनी क्रिकेटमा फर्किनलाई बाटो खुलेको छ । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले न्याय पाएको बताएका छन् ।

अहिले क्रिकेट फ्यानहरूलाई उत्सुकता छ कि आदिल राष्ट्रिय टीममा फेरि कहिले र कसरी फर्किनेछन् ? कसैले उनी तत्कालै टीममा फर्किन सक्ने पनि बताइरहेका छन् । यद्यपि, नेपाल क्रिकेट संघ (क्यान) हतारमा निर्णय लिने पक्षमा छैन ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को एन्टिकरप्सन कमिटीसँग आदिलको विषयमा समितिसँग समन्वय गरिने बताए ।

उनले भने, ‘सबैभन्दा पहिले त हामीलाई अदालतको फैसलाबारे औपचारिक जानकारी आउनुपर्‍यो । मिडियामा आएको भरमा मात्रै हुँदैन । आदिलले लिखितरूपमा आफूले सफाइ पाएको भनेर निवेदन दिएपछि प्रक्रिया अगाडि बढाउने हो ।’

नेपालको अदालतले सफाइ दिए पनि यो विषय आईसीसीसम्म पुगेको हुँदा क्यानले आफूखुशी निर्णय गर्न नमिल्ने चन्द बताउँछन् ।

‘उनले सफाइ पाएकोमा खुशी छौं । नेपालमा त उनले क्लीन चिट पाए । तर, अब यसलाई आईसीसीले पनि स्वीकार्नुपर्ने हुन्छ । त्यसबेला आईसीसीको टोली आएर अनुसन्धान गरेको हो । एन्टिकरप्सन युनिटले आइसीसीमा रिपोर्ट पठाएको छ । त्यसैले हामीले आदिललाई टिममा फर्काउनका लागि आईसीसीको अनुमति लिनुपर्ने हुन्छ,’ चन्दले व्याख्या गर्दै भने ।

क्यानलाई पनि अप्ठ्यारो नपर्ने र आदिलले पनि न्याय पाउने गरी निर्णय लिइने पनि उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर