वरिष्ठतम डीएसपी क्षेत्री बढुवामा छुटे, प्रचण्ड र ओलीका पूर्वपीएसओलाई घुसाइयो – Nepal Press

वरिष्ठतम डीएसपी क्षेत्री बढुवामा छुटे, प्रचण्ड र ओलीका पूर्वपीएसओलाई घुसाइयो

काठमाडौं । रवि लामिछाने गृहमन्त्री बनेयता अधिकृत स्तरमा नेपाल प्रहरीमा पहिलो बढुवा सिफारिस भएको छ।

गृह मन्त्रालयले बुधवार साँझ प्रहरी उपरीक्षक (एसपी)मा रिक्त ८ दरबन्दीका लागि डीएसपीको बढुवा सिफारिस गरेको हो। तर हाल डीएसपीमा वरिष्ठतम रहेका प्रदीपकुमार क्षेत्रीलाई छुटाइएको छ।

२०७२ साउनमा डीएसपीमा बढुवा भएकाहरू यस पटक एसपी बन्ने दौडमा थिए। उक्त टोलीका १२ जना मात्र एसपी बन्न बाँकी थिए। तर पहिलो नम्बरमै रहेका क्षेत्रीलाई छुटाइएको हो।

वसन्तबहादुर कुँवर प्रहरी प्रमुख बनेयता प्राय वरीयताभन्दा बाहिर नगई प्रहरीको बढुवा हुँदै आएको थियो। यसरी बढुवा गर्दा कार्य सम्पादन मूल्याङ्कनको कुनै अर्थ नभएको भन्दै आईजीपी कुँवरको आलोचना हुने गरेको थियो।

तर एसपीमा दरबन्दी रिक्त हुन थालेको झन्डै ९ महिनापछि भएको बढुवा सिफारिसमा पहिलो नम्बरमै रहेका क्षेत्री छुटेका हुन्। छैटौँ नम्बरमा रहेका नारायण रन्जितकार पनि छुटेका छन्। सन्तोष तामाङ र विनोद घिमिरेले शीर्ष ८ भित्र उक्लिएर एसपीका लागि सिफारिस भएका छन्।

घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहालका पूर्व पीएसओ हुन्। यस्तै तामाङ पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व पीएसओ हुन्। यस पटक बढुवा सिफारिस भएका राजन लिम्बु पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व पीएसओ रहेका छन्।

२०६१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएको टोलीबाट तेस्रो पटक एसपीका लागि बढुवा सिफारिस भएको हो । पछिल्लो पटक २२ जना डीएसपीको बढुवा हुँदा गृहमन्त्रालयले वरियता नमिची पदाेन्नती गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *