देउवाको उत्तराधिकारीमा शशांकलाई सिग्नल, कोइरालाको नासो बीपीकै परिवारलाई हस्तान्तरण ! – Nepal Press

देउवाको उत्तराधिकारीमा शशांकलाई सिग्नल, कोइरालाको नासो बीपीकै परिवारलाई हस्तान्तरण !

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महामन्त्री छँदा पार्टी सभापति शेरबहादुर देउवाको सहयोगी भएको आरोप खेप्नुपर्‍यो । उनी महामन्त्रीको कार्यकालभर निष्क्रिय जस्तै भए । जसका कारणले शशांकले पार्टीको मूल नेतृत्वमा आउने इच्छा त्यागेका हुन् कि भन्ने आशंका गर्न थालिएको छ ।

तर, उनी गोदावरीमा सम्पन्न महासमिति बैठकपछि भने जिल्ला दौडाहामा निस्किएका छन् । उनले महासमिति बैठक सकिएलगत्तै महासमिति सदस्यहरुको लागि चियापान कार्यक्रम नै आयोजना गरे ।

चियापानमा पार्टी सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, कृष्ण सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो जमघट भयो । सो जमघटमा सभापति देउवाले सबैलाई मिलाएर पार्टीलाई एक बनाउन सकिने भन्दै शशांकको प्रशंसा गरे । देउवाको धाप पाएपछि शशांकले जिल्ला दौडलाई तीव्र बनाएका छन् ।

जिल्ला दौडमा उनले सभापति देउवा निकटहरूकै बढी साथ पाएका छन् । यसलाई १५औं महाधिवेशनमा सभापति उम्मेदवार बन्न शशांकले देउवाबाट ‘सिग्नल’ पाएको अर्थमा कांग्रेसजनमा विश्लेषण भएको छ ।

पार्टीमा शक्तिशाली रहेका सभापति देउवा विधानतः अब सभापति बन्न पाउँदैनन् । यसकारण आफू नेतृत्वमा नरहे पनि उनी पार्टी शक्ति आफैंमा निहित राख्न चाहिरहेका छन् । यस्तो अवस्थामा देउवा विश्वासिलो पात्रको खोजीमा छन् । जुन पात्र शशांक रहेको अहिले कांग्रेसभित्र व्याख्या र विश्लेषण भइरहेको छ ।

देउवा निकटहरूसँगको सहकार्य

शशांक कोइराला चैत १० गते पाँचथरको प्रदेशसभा ‘क’ क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि भएर सहभागी भए । पाँचथर देउवा निकट सहमहामन्त्री भीष्मराज आङदम्बेको गृह जिल्ला हो । अहिले पार्टीको मयार्दाक्रममा शशांकभन्दा आङदम्बे अगाडि छन् । तर, उनै आङदम्बेले शशांकलाई प्रमुख अतिथि बनाएर आफ्नै गृह जिल्लामा लगे । बृहत अन्तरक्रिया र भेटघाट नाम दिइएको उक्त कार्यक्रममा सहमहामन्त्री आङदम्बे विशेष अतिथिमात्रै बने ।

त्यतिमात्र होइन, डा. शेखर कोइरालाको गृहजिल्ला मोरङको ४ नम्बर क्षेत्रीय कार्यसमितिले आयोजना गरेको ‘नेपाली कांग्रेस र अबको बाटो’ विषयक अन्तरक्रियामा पनि शशांकलाई प्रमुख अतिथि बनाइयो । शिवरात्रिको अघिल्लो दिन फागुन २५ मा उक्त कार्यक्रम भएको थियो । त्यस्तै चैत ४ गते स्वास्थ्य शिविर उद्घाटन गर्न शशांक रामेछाप पुगे । रामेछापमा कांग्रेसका जिल्ला सभापति देउवा निकट पूर्णबहादुर तामाङ ‘कान्छाराम’ छन् । रामेछाप पुगेका उनले पार्टी कार्यकर्ताहरूलाई आफू पार्टी सभापति बनेर फरक शैलीले पार्टी सञ्चालन गर्ने बताए ।

त्यस्तै गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा शशांक निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरूले प्रवक्ता डा प्रकाशशरण महतलाई प्रमुख अतिथि बनाएर रत्नपार्कको शान्ति वाटिकामा दीप प्रज्ज्वलन गरे । ‘हाम्रो नेविसंघ, संगठित र प्रशिक्षित नेविसंघ’को ब्यानरमा गरिएको सो कार्यक्रममा महतका साथमा कोइराला निकट मानिने केन्द्रीय सदस्य उर्मिला थपलिया सहभागी थिइन् ।

महासमितिमा सन्तुलन

पूर्वमहामन्त्री शशांकले गोदावरीमा सम्पन्न महासमिति बैठकमा पार्टीको आन्तरिक सन्तुलनलाई अत्यन्तै संयम ढंगले कायम गरेको उनी निकट नेताहरूको भनाइ छ । महासमितिको बैठकमा शशांक धेरै समय सभापति देउवासँगै देखिएका थिए । महासमितिको मञ्चबाहेक अन्य स्थानमा देउवा र शशांक प्रायः साथै थिए । महासमिति समापनको दिन सभापति देउवा र शशांक बसेर करिब २ घण्टा छलफल गरेको उनी निकट नेताहरु बताउँछन् ।

त्यसो त १४औं महाधिवेशनमा शशांकले देउवालाई नै सघाएका थिए । १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका उनले आगामी महाधिवेशनमा सभापतिको आकांक्षा राख्दै आएका छन् । सोही आकांक्षाअनुसार जिल्ला दौडाहामा आफ्नो भनाइ पनि राख्दै आएका छन् ।

गोदावरी महासमिति बैठकमै देउवाले शशांक आफ्नो उत्तराधिकारी हुने संकेत दिएको उनी निकटहरु बताउँछन् । महामन्त्री भएका बेला र १४औं महाधिवेशनपछि पनि आफूलाई निरन्तर सहयोग गर्दै आएकाले देउवाले शशांकलाई नै अगाडि सार्ने सम्भावना बढेर गएको छ ।

शशांकले सभापति देउवालाई मात्र होइन, गोदावरी महासमिति बैठकमा महामन्त्री गगन थापालाई समेत सहयोग गरे । महासमिति अवधिभर चर्चा र विवादमा रहेका गगन थापाको चुनाव अगाडि गठबन्धन गर्न नहुने प्रस्तावको पक्षमा शशांक सशक्त उभिएका थिए । जुन कुरा महासमिति बैठक समापनमा सम्बोधन गर्ने क्रममै शशांकले गगनका मुद्दा ‘क्यारी’ गरेर देखाए । चुनावपूर्व गठबन्धन गर्नु दुर्भाग्यपूर्ण भएको र कांग्रेस कमजोर नभएकाले गठबन्धन आवश्यक नभएको उनको जोड थियो ।

शशांकले कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको अभियानले उठाउँदै आएको हिन्दू राज्यका विषयमा समेत हस्ताक्षर गरेर समर्थन जनाएका छन् ।

देउवाका लागि सजिला र सर्वस्वीकार्य

सभापति देउवाले आफ्नो उत्तराधिकारीका रुपमा शशांकलाई अगाडि बढाउँदा सबैभन्दा बढी सहज हुने र बीपी कोइरालाको लिगेसी पनि हुने विश्लेषण देउवाका विश्वासपात्रहरूको छ । बीपी कोइरालाका पुत्रलाई पार्टीको विरासत सुम्पँदा शशांक सभापतिमात्रै हुने छैनन्, पार्टी सञ्चालनमा देउवाकै हालिमुहाली चल्ने उनका विश्वासपात्रहरूको विश्वास छ । मुख्यतः अरुभन्दा शशांक नै देउवा समूहमा सबैका लागि सर्वस्वीकार्य पात्र रहेको बताइन्छ ।

देउवाले शेखरलाई कोइराला परिवारबाट उत्तराधिकारी बनाउँदा पनि उनको गुटका सबै नेताहरूले मान्ने अवस्था छैन । शेखरभन्दा शशांकलाई देउवा गुटका पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतले सहजै स्वीकार गर्ने देउवाकाे कोर टीमभित्र चर्चा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर