एमाले झापाको एघारौं अधिवेशन : नेतृत्वका लागि गिरी र ढुंगेल भिड्दै – Nepal Press

एमाले झापाको एघारौं अधिवेशन : नेतृत्वका लागि गिरी र ढुंगेल भिड्दै

काठमाडाैं । झापा र नेकपा एमाले जिल्ला कमिटी झापाको एघारौं जिल्ला अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्नेछन् । यस्तै, बन्दसत्रमा राजनीति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने समय तालिका रहेको छ ।

एमाले झापाको नेतृत्व अध्यक्षका लागि दुई नेताहरु आकांक्षी देखिएका छन् । झापाको नेतृत्व चयनका लागि पहिलो प्राथमिकतामा सहमति गर्ने नभए चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी रहेको एमाले झापाले जनाएको छ । गृह जिल्ला भएका कारणले पनि ओलीले सर्वसम्मत गराउन प्रयत्न गर्ने केही थरी नेताको दाबी छ ।

एमाले वृत्तमा अध्यक्षका लागि दुई जनाको नाम चर्चामा छ । हालका कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिवकुमार ढुङगेलले अध्यक्ष बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् । दुवै जना पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र मानिन्छन् ।

झापाको पार्टी नेतृत्व निर्माणमा केन्द्रीय अध्यक्षको समेत निर्देशन कुरेर बसेका एमाले नेताहरु सार्वजनिक रुपमा उम्मेदवार घोषणा गर्न भने सकिरहेका छैनन् । अध्यक्षका उम्मेदवार आन्तरिक रुपमा लविङमा रहे पनि ओलीको सूझाव नेताहरुले पर्खिरहेको बुझिन्छ ।

अध्यक्षका दुवै आकांक्षीले ओलीलाई रुष्ट नबनाउने रणनीति अवलम्बन गरिरहेको बुझिन्छ । उनीहरु ओलीले आफैलाई सर्वसम्मत गरिदिने भन्नेमा ढुक्क छन् । सर्वसम्मत नभए निर्वाचनमा जान दुवै पक्ष तयार रहेको दाबी गरेका छन् ।

अध्यक्ष रहेका संविधान सभा सदस्य दिपक कार्की केन्द्रीय सदस्यमा मनोनीत भएसँगै एमाले वृत्तमा नेताहरु पनि विभाजित देखिएका छन् ।

संविधानसभा सदस्य एवम् पार्टीको उपाध्यक्ष भइसकेकोले अध्यक्षमा स्वभाविक रुपमा गिरीले आकांक्षा व्यक्त गरिरहेको कतिपयको बुझाइ छ । यता, संसदीय मोर्चामा अहिलेसम्म अवसर नलिएको, पार्टी निर्माणमा वर्षौ देखि निरन्तर योगदान गरिरहेका ढुङगेललाई नेतृत्व प्रदान गर्नुपर्ने धेरैको तर्क छ ।

जसले पार्टी निर्माणमा योगदान गरिरहेको छ, उसैले नेतृत्व पाउनुपर्ने तर्क बलियो ढंगबाट उठिरहेको छ । संगठनको जिम्मेवारीका निरन्तर काम गरिरहेका ढुगेंललाई अध्यक्ष बनाउनुपर्ने पक्ति पनि छ ।

गिरी र ढुङगेल दुवै जना अध्यक्षको उम्मेदवार बन्ने लगभग निश्चित भएपछि प्रतिनिधिहरु कसको समर्थनमा लाग्ने भन्ने अन्यौलमा छन् ।

एक नेता भन्छन्, ‘उहाँहरु एकै टीमबाट हुनुहुन्छ । एकतिर लाग्दा अर्कातिर समस्या होस् भन्ने चहाना पनि छैन । पार्टीमा थप एकता र सहकार्यका लागि उम्मेदवारका पक्ष विपक्षमा देखिनु हुदैन ।’ ओलीको सुझाव पर्खिरहेको झापा एमालेले सर्वसम्मत गरोस् भन्ने चाहना अधिकांश नेताहरुले व्यक्त गर्दै आएका छन् ।

यस्तै उपाध्यक्षमा बद्री भट्टराई, लक्ष्मण पाठक, सचिवमा तुलसी कार्की, असारु राजवंशी, टिकाराम मंग्राती, बोधप्रसाद घिमिरे, उपसचिवमा छविलाल विश्वकर्मा, छविलाल चुडाल, पवित्रा पाठक, लिला दाहालको चर्चा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर