भर्खर माओवादी छोडेका कट्टर पहिचानवादी मिलन लिम्बूलाई टिकट दिने रास्वपाको कसरत – Nepal Press
इलाम-२

भर्खर माओवादी छोडेका कट्टर पहिचानवादी मिलन लिम्बूलाई टिकट दिने रास्वपाको कसरत

फोनिजका महासचिवसमेत रहेका लिम्बू रास्वपा सभापति रवि लामिछानेका पूर्वसहकर्मी हुन्

काठमाडौं । माओवादीनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको सचिवबाट केही दिनअघि मात्रै राजीनामा दिएका पत्रकार मिलन लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ बाट उम्मेदवार बनाउने तयारी गरेको छ । कट्टर पहिचानवादीका रूपमा चिनिएका उनी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिवसमेत हुन् ।

लिम्बूले इलाम २ बाट स्वतन्त्र चुनाव लड्ने औपचारिक घोषणा गरिसकेका छन् । उनी पहिचानवादीका साझा उम्मेदवार बन्न चाहन्थे । कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत समूहहरूले साझा उम्मेदवार उभ्याउने भनेपछि त्यसका लागि प्रयास गरे पनि उनी असफल भए । कोशी पुनः नामांकन संयुक्त संघर्ष समितिले डकेन्द्रसिंह थेगिम लिम्बूलाई उम्मेदवार घोषणा गरिसकेको छ ।

पहिचानवादीका तर्फबाट टिकट नपाएपछि लिम्बूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवार घोषणा गर्नुभन्दा अगाडि उनले माओवादीबाट राजीनामा दिएका थिए ।

धरानका मेयर हर्क साम्पाङले स्वतन्त्र लडेमा आफूले सहयोग गर्ने मिलनलाई आश्वासन दिएका थिए । तर, पहिचानवादीको पनि भोट नपाउने र आफ्नो संगठन पनि नभएपछि साम्पाङको आश्वासनले मात्रै उनको उम्मेदवारी बलियो बन्न सकेको थिएन ।

रास्वपाले इलाम २ मा स्थानीयस्तरमा पपुलिष्ट अनुहार खोजिरहेको छ । पार्टीको तर्फबाट इलामको उपचुनावमा संयोजन गर्न खटाइएका कविन्द्र बुर्लाकोटीले पार्टी बाहिरका व्यक्तिहरूलाई तान्न प्रयास गर्ने क्रममा मिलनसँग संवाद सुरू भएको हो ।

मिलन लिम्बूले बोकिरहेको बिचार र रास्वपाको एजेन्डाबीच कुनै तालमेल भने मिल्दैन । रास्वपाले कोशी नामाकरणको विरोध गरेको छैन भने संघीयताको विषयमा पार्टी ‘क्रिटिकल’ छ । लिम्बू भने कोशी नामाकरणको विरुद्धमा संघर्षरत छन् । जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने वकालत गर्ने व्यक्तिलाई एजेन्डा नमिले पनि चुनाव जित्नकै लागि उम्मेदवार बनाउन बुर्लाकोटीले जोड गरिरहेका छन् । यसमा सभापति लामिछाने पनि सकारात्मक रहेको बुझिएको छ । लिम्बूसँग लामिछाने आफैंले पनि संवाद गरिसकेका छन् ।

रास्पपा स्रोतले इलाम २ मा उम्मेदवार टुंगो नलागिसकेको तर, मिलनको नाम सम्भावित पहिलो नम्बरमा रहेको बतायो । रास्वपामा प्राइमरी इलेक्सनबाट उम्मेदवारको छनोट गर्ने प्रावधान रहेको छ । मिलनले सुरूमा प्राइमरीमा आफ्नो दावी पेश गर्नुपर्छ । साथसाथै, रास्वपामा प्रवेश पनि गर्नुपर्ने हुन्छ । यसका लागि उनी तयार भएको बुझिएको छ ।

रास्वपा स्रोत भन्छ, ‘प्राइमरी इलेक्सनबाट छनोट गर्ने भनिए पनि यो देखाउनका लागि मात्रै हो । जसजसले प्राइमरी इलेक्सनमा भाग लिए पनि कसलाई टिकट दिने भनेर पहिल्यै तय हुन्छ । सभापतिले मन लागेको व्यक्तिलाई आशिर्वाद दिने हुन् ।’

लिम्बूसँग रास्वपा सभापति लामिछानेको व्यक्तिगत सम्बन्ध पनि छ । न्यूज २४ टेलिभिजनमा लामिछाने कार्यरत छँदा लिम्बू सहकर्मी थिए । आफ्नो पुरानो व्यक्तिगत सम्बन्धले गर्दा पनि उनलाई टिकट दिन लामिछाने लालायित भएको हुन सक्ने आँकलन छ ।

लिम्बू रास्वपाको विचार/नीति स्वीकार गरेर पार्टी प्रवेश गर्न लागेका भने होइनन् ।

‘यो केवल चुनाव जित्ने प्रयोजनका लागि हो, पछि के गर्छन् भन्न सकिन्न,’ उनीनिकट स्रोतले भन्यो, ‘रास्वपा प्रवेश गर्दैमा उनले आफ्नो पहिचानवादी धार त्याग्नेवाला छैनन् ।’

इलाम २ बाट महेन्द्र थापाको नाम पनि छलफलमा छ । फोकफोकथुमका पुराना बासिन्दा थापा पेशाले आर्किटेक्ट इन्जिनियर हुन् । उनी रास्वपामा पहिल्यै आवद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर