ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी, एक हप्ताभित्र पूर्णता दिइने (भिडिओ) – Nepal Press

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारी, एक हप्ताभित्र पूर्णता दिइने (भिडिओ)

काठमाडौं । सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका हुन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी थालेको छ । ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ । सोमवार सम्बन्धित निकाय र व्यवसायीहरुसँगको छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैं घण्टा खुलाउने तयारी रहेको बताए ।

उनले सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने बताए । उनले व्यापार व्यवसाय सञ्चालनको लागि व्यवसायी र स्थानीय बासीहरु सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिइने बताए ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायीहरुले वस्तु तथा सेवामा दिँउसो र रातिको मूल्य फरक बनाउन नपाउने बताए । उनले यस्ता हरेक कुराहरुलाई व्यवसायीहरुले ख्याल गरेर जानुपर्ने अवस्था रहेको बताए ।

उनले २४ सै घण्टा बजार खुला गरेपछि ग्राहक सेवाग्राही वृद्धि हुने बताए । साथै अहिलेको भन्दा अपराधीक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोही अनुसारको सुरक्षा प्रणाली विकास गरिने बताए । उनले व्यवसायीहरुले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुनेगरी ध्वनि प्रदुषण गर्न नपाउने पनि बताए ।

‘सरकारले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीमा छौं । व्यवसायीहरुले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन पाइँदैन । यस्ता हरेक कुराहरुलाई व्यवसायीहरुले ख्याल गरेर जानुपर्ने हुन्छ । सुरक्षाको हिसावमा हामीले पहिलो जिम्मेवारी व्यवसाय सञ्चालकको हुनेछ । आन्तरिक सुरक्षा प्रणाली व्यवसायी आफैँले गर्नुपर्छ । दुवै क्षेत्रमा व्यवसाय व्यवस्थापन समिति बनाउने छौं । अहिले भइरहेका समितिले व्यवस्थापन गर्नसक्छ भने त्यसैलाई निरन्तरता दिन्छौं’, उनले भने, ‘अन्य सुरक्षाको लागि नेपाल प्रहरी र महानगर प्रहरीले हेरिरहेको छ । सबै २४ सै घण्टा खुला गरेपछि ग्राहक सेवाग्राही बढ्छन् । अपराध पनि बढ्छ भन्ने अनुमान गरिरहेका छौं । सुरक्षाको लागि थप परिचालन बढ्छ । त्यही अनुसारको एकीकृत सुरक्षा योजना बनाउँछौं । आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुनेगरी ध्वानी प्रदुषण गर्न पाइँदैन । व्यवसायी आफैँले अरुलाई असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्छ । त्यसको लागि अन्य रेगुलेसन गर्नुपर्ने अवस्था नआओस् ।’

बैठकपछि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले उक्त मागलाई सुरक्षा परिषद् र जिल्ला प्रशासन कार्यालयले परिमार्जन गरी ठमेल र दरबार मार्गलाई सुरक्षित र व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको बताए ।

उनले व्यवसायी र अन्य क्षेत्रले दिएका सुझावहरुको आधारमा आगामी तीन दिनभित्र टुङ्गो लगाउने विषयमा पनि छलफल भएको बताए । उनले अबको एक हप्ताभित्र पूर्णता पाउने विश्वास रहेको बताए ।

दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ घण्टा खुला गर्न हरेक हिसावले उपयुक्त रहेको बताए । उनले ७० मिटरको क्षेत्रफलमा सबै संरचनाहरु तयारी अवस्थामा रहेकाले सरकारले तत्काल २४ सै घण्टा खुला गर्दा कुनै समस्या नपर्ने बताए ।

उनले दरबार मार्गलाई २४ सै घण्टा खुला गरी नाइट वाक क्षेत्र बनाउन आवश्यक रहेको पनि बताए । उनले सरकारले दरबार मार्गलाई २४ सै घण्टा खुला गर्नेकुरा स्वागतयोग्य रहेको जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर