असफल प्रेमले निम्त्याएको अपराधः कोशीमा एक महिनाभित्र मारिए तीन युवती – Nepal Press

असफल प्रेमले निम्त्याएको अपराधः कोशीमा एक महिनाभित्र मारिए तीन युवती

विराटनगर । कोशी प्रदेशमा एक महिनायता तीनजनाको हत्या भयो । तीनवटै घटनाको प्रमुख जड प्रेम देखिएको छ । ‘धोका’ दिएको भन्दै पथरी, विराटनगर र धरानमा प्रेमीले प्रेमिकाको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । एउटा घटनामा प्रेमीकाको हत्यापछि प्रेमीले समेत आत्महत्या गरे छन् । अन्य २ हत्यामा संलग्नहरू पक्राउ परिसकेका छन् ।

तीन दिनअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको डिपोट स्कुल नजिकै खोल्सीमा घाँटी काटिएको अवस्थामा सुमना श्रेष्ठको शव भेटियो । उनको हत्यामा संलग्न आशंकामा सविन भुजेलसहित ६ जना हिजो साँझ धनकुटा मुलघाटबाट पक्राउ परे । प्रेममा धोका खाएकोले सुमनाको हत्या गरेको सविनले प्रहरीसामु स्वीकारेका छन् ।

यता, सिरहाका शिवशंकर दासले गएको चैत २ गते नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या गरे । वैदेशिक रोजगारीमा मलेसिया गएका दासले प्रेमिका अर्कै व्यक्तिसँग प्रेममा परेको थाहा पाएर उतैबाट हत्याको योजना बनाएर नेपाल आएको पाइएको मोरङ प्ररहीले जनाएको छ ।

फागुन २७ गते काठमाडौं एयरपोर्ट उत्रिएका शिवशंकर २९ गते विराटनगर आएर नर्स चन्द्रिकाकुमारीकै डेरामा बसेका थिए । नोबेल अस्पतालनजिकै डेरामा रहेकी चन्द्रिकाको शौचालयमा धारिलो हतियारले हत्या गरिएको थियो । मोरङ प्रहरीका अनुसार घटनापछि शिवशंकरले चन्द्रिकाको दिदीको ह्वाट्सएपमा ‘बहिनीलाई मारेँ अब म पनि मर्न जाँदैछु’ भनेर मेसेज गरेका थिए ।

प्रेमिकाको हत्यापछि विराटनगरको फाइन होटलमा शिवशंकरले झुण्डिएर आत्महत्या गरे ।

गत फागुन २० गते मोरङको पथरीमा १५ वर्षीया ज्ञानमती थुलुङ्ग (सञ्जना) को हत्या भयो । यो हत्यामा पनि प्रेम सम्बन्ध जोडिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहाल बताउँछन् । मोरङ पथरीशनिश्चरे-७ लामाटोल बस्दै आएकी सञ्जनाको हत्या आरोपमा ग्रामथान गाउँपालिकाका धिरेनकुमार खाँ पक्राउ परेका छन् । बारा जितपुर सिमरामा बस्दै आएका धिरेनले पथरी आएर सञ्जनाको हत्या गरेका हुन् ।

धिरेन विवाहित हुन् । उनकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छिन् । उनले बयानमा पछिल्लो समय श्रीमतीसँग सम्बन्ध राम्रो नभएको बताएका छन् । फेसबुकबाट चिनजान भई उनीहरू नजिकिएको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन् । आफूसँग बिहे गर्न नमानेपछि सञ्जनाको हत्या गरेको धिरेनले बताएका छन् ।

प्रदेश प्रहरी कार्यालय कोशीको तथ्यांकअनुसार गत साउनयता १४३ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । त्यसमध्ये आफन्तको संलग्नतामा ५५ वटा घटनामा ५६ जना मारिएका छन् । प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ ८० प्रतिशत जघन्य अपराधनजिकको आफन्तबाट हुने गरेको पाइएको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *