बाबुरामलाई महेन्द्र पक्षको काउन्टर- बहुमत जुटाउन हस्ताक्षर अभियान थालियो


काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठकले अर्का अध्यक्ष महेन्द्रराय यादव पक्षका नेताहरुलाई निष्काशन गरेपछि काउन्टर तयारी थालेको छ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकले यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवलगायत नेताहरुलाई हटाएपछि आज आकस्मिक बैठक राखेका छन्।
महासचिव यादवले नेताहरु आउने क्रम जारी रहेकाले दिउँसो १ बजे बैठक बस्ने तयारी रहेको बताए। उनले भने, साथीहरु आउनेक्रम जारी छ। अब बस्ने बैठकले हामी पार्टीको आधिकारिक निर्णय लिन्छौं। उनले आफूहरुसँग पार्टीको बहुमत रहेको दाबी गरे।
उनले भने, हामीसँग पार्टीमा स्पष्ट बहुमत छ। त्यो पुष्टि गरेर देखाउनको लागि हामीले अहिले हस्ताक्षर अभियान चलाइरहेका छौं। हामीलाई कारवाही गरेर निष्काशनसम्म उहाँहरुले गरेपछि हामी पनि प्रतिवाद गर्छौँ। त्यो स्वभाविक हो।
तर, बाबुराम निकट नेता रोशन पोखरेलले सोमबार सम्पन्न भएको बैठकमा पार्टीका दुईतिहाइ भन्दा बढी केन्द्रीय सदस्यको उत्साहपुर्वक उपस्थितिमा भएको दाबी गरे। उनले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका नेताहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएको समेत बताए।
बैठकले आगामी माघ महिनाभित्र महाधिवेशन गर्ने गरी डा. बाबुराम भट्टराईको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन, सबै प्रदेश र स्थानीय समितिहरु अधिवेशन आयोजक समितिमा रूपान्तरण, आगामी असोजमा विधान अधिवेशन गर्ने, पार्टी नियमावली पारित गर्नु र समसामयिक राजनीतिक प्रस्तावहरु पारित समेत गरेको बताए।