केपी ओलीलाई राजेश हमालको प्रश्न- राजनीतिमा भावनाले बढी काम गर्छ कि बौद्धिकताले ? – Nepal Press

केपी ओलीलाई राजेश हमालको प्रश्न- राजनीतिमा भावनाले बढी काम गर्छ कि बौद्धिकताले ?

काठमाडौं । आज सुरु भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अभिनेता राजेश हमाल र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘सिनेमा संवाद’ भएको छ ।

संवादमा हमालले सवाल सोधेका थिए भने ओलीले जवाफ दिएका थिए । हमाल र ओलीबीच भएको सिनेमा संवादको सम्पादित अंश-

– कला, साहित्य, सिनेमाको कुरा गर्दैगर्दा राजनीतिक पक्ष आइहाल्छ । यो अभिव्यक्ति स्वतन्त्रतासँग पनि जोडिन्छ । कहिलेकाहीं कलाको कुरा गर्दा व्यक्तिको राजनीतिक पक्ष र अडान पनि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा झल्किहाल्दो रहेछ । यहाँले कलालाई कसरी लिनुभएको छ ?

वास्तवमा जीवन भनेकै कलासँग सम्बन्धित छ । मानव सभ्यताले प्रगति गर्नुमा पनि एक प्रकारको कला र तरिकाको भूमिका छ । जंगली युगबाट पशुपालन र कृषिमा जाँदा कृषि कसरी गर्ने, सञ्चित कसरी गर्ने भनेर मान्छेले सिक्यो, त्यो कला हो । जंगली जनावरलाई तालिम दिएर घरपालुवा बनाउन पनि कला चाहियो । जंगली जनावरसँग मित्रता चाहियो ।

सिक्नेदेखि बाँच्न गर्नुपर्ने कामसम्म कलासँगै सम्बन्धित छन् । जंगली युगमा पनि शिकार खेल्ने कला चाहिन्थ्यो । कला भनेको जीवनको सुरक्षाका लागि जीवहरुले जुन प्रयास गर्छन्, सुरक्षासम्बन्धी जुन चेत राख्छन्, त्यो पनि हो । यसरी बाँच्ने इच्छाबाटै कलाको महत्व सुरु हुन्छ । यो अत्यन्त महत्वपूर्ण छ जीवनका लागि ।

– योसँगै अन्य कला पनि छन् । जस्तैः हस्तकला, चित्रकला, साहित्य, सिनेमा आदि । यी कलाहरुलाई कसरी हेर्नुभएको छ ?

कुनै पनि वस्तुलाई सुन्दर ढंगले प्रस्तुत गर्नु कला हो । काठको झ्याल बनाउन सकियो । तर, कलात्मक तवरले कि सोझै ? टुँडाल बनाउन सकियो । तर, कलात्मक कि सोझै ? अनुहार देखाउन सकियो । तर, कलात्मक तरिकाले कि सोझै ? यही कारण मानिसले कला साहित्यको विकास गर्‍यो । त्यही कारण संस्कृतिको विकास भयो । कला, साहित्य र संस्कृति यही कारण जोडिएर आउँछ । जीवनलाई आवश्यक पर्ने चिजहरुको सुन्दर प्रस्तुति नै कला हो ।

– विद्वानहरु भन्छन्, जीवनको अर्थ पाउन गाह्रो छ । जीवनलाई यसो हेर्दा निरस जस्तो पनि लाग्छ । तर, यी विभिन्न कलाहरुले नै निरस जीवनमा कहीँ न कहीँ रङ भर्छ । जीवनको सत्यता तीतो छ । त्यही तीतोपनलाई झेल्न कला, साहित्य, सिनेमा, कविताहरुले सहज बनाएको छ । यहाँले यी सबै कलाहरुलाई अवलोकन गर्ने गर्नुभएको छ ? यहाँको जीवनमा विभिन्न कलाहरुले कसरी प्रभाव पारेको छ ?

भन्न त मान्छे अत्यन्त सक्रिय छ भन्छौं । तर, उसको अर्को पाटो पनि हुन्छ । ऊ अचेत भएर सुत्छ पनि । यो निष्क्रिय पाटो पनि छ नि ! मानव जीवनका विभिन्न पक्ष हुन्छन् । विभिन्न अवस्था र परिस्थिति हुन्छन् । प्रकृतिमा विभिन्न मौसम हुन्छन् । ती मौसमलाई कसरी झेल्ने ? दुःख आइरहन्छन् । संसार गतिशील छ । नहोस् भनेका कुरा भइरहन्छन् ।

जीवनलाई मैले दुःखपूर्ण त भन्दिनँ । किनभने यो जीवन नै यस्तै हो । जीवन मृत्यु सँगसँगै हिँडिरहेको हुन्छ । कठिनाइहरुसँगै हिँडिरहेको हुन्छ । आराम र व्यायाम सँगसँगै हिँडिरहेका हुन्छन् । जागरण र निद्रा सँगसँगै हिँडिरहेका हुन्छन् । चेतना, अचेतना, जानेको र नजानेको कुरा सँगसँगै हिँडिरहेका हुन्छन् । यद्यपि जानेको भन्दा नजानेका कुरा धेरै हुन्छन् । यसैले जीवनका विभिन्न पक्षमध्ये कला एउटा महत्वपूर्ण पक्ष हो ।

कलाका लागि आधारभूत कुरा त जीवन चाहियो । कला नबुझेकाहरु पनि बाँच्न त बाँचेका जीवहरु हुन्छन् । ती फिल्म हेर्दैनन्, नाटक हेर्दैनन्, कविता लेख्दैनन् । तर पनि बाँचेकै छन् । मानव जीवन चाहिँ बाँच्नुमात्रै होइन । जीवनलाई अर्थपूर्ण र खुसीयालीपूर्ण ढंगले बाँच्नु चाहिँ खास बँचाइ हो । यसकारण मान्छेहरुले बाँच्ने कुरालाई अरु जीवभन्दा पृथक राख्छ । यही कारण कलाको विविध पक्षको अर्थ हुन्छ र मानव जीवन बाँच्न कला चाहिन्छ ।

– अस्कर वाइल्ड भन्ने लेखकले भनेका थिए कि ‘आर्ट इज टोटल्ली अननिसेस्सरी !’ अर्थात् मानवीय जीवनका लागि कलाले खासै माने राख्दैन । व्यवहारिक पक्ष महत्वपूर्ण हो । अर्को के छ भने ‘कला इज एन अननिसेस्सरी निसेस्सिटी !’ अर्थात् यसो हेर्दा अनावश्यक लाग्छ । तर, गहिराइमा गएर हेर्दा भयंकर आवश्यकता पनि देखिन्छ । चाहे जीवनको भागदौडमा पारिवारिक पक्ष अंगाले तापनि यदि उसमा कलालाई बुझ्ने सुझबुझ छ भने व्यवहारिक जीवनलाई अंगालेर लाने कुरामा बढी क्षमता हुन्छ । तपाईं यसमा कतिको सहमत हुनुहुन्छ ?

मलाई कला अनावश्यक आवश्यकता जस्तो लाग्दैन । अनावश्यक भनेपछि अनावश्यक भइगयो । कला अवश्य आवश्यकता हो । हामी अरु जीव जस्तो भातलाई नै जिन्दगी ठान्दैनौं । गाईभैंसीले घाँसपानीलाई नै जिन्दगी ठान्छ । तर, मान्छे त्यस्तो होइन ।

– तर, मान्छेले व्यवहारिक पक्षमात्रै जिन्दगीमा लिएर हिँड्न सक्छ ? व्यापारीले व्यापारमात्रै, राजनीतिज्ञले राजनीतिमात्रै, विद्वानहरुले विद्वतामात्रै जिन्दगीमा लिएर हिँड्नसक्छ ?

यही कारण धेरै प्रश्न उठ्छ । एउटा युवा पुस्ताको मान्छेले दालभातमात्रै जिन्दगी ठान्दैन । त्यसमा प्रेम पनि जोड्छ । एउटी आमाले दालभातमात्रै जिन्दगी ठान्दैन । आफ्नो सन्तानप्रतिको स्नेह, माया, ममता र सन्तानको मुस्कानमा उसले जे पाउँछे, संसारकै किमती चिज पाउँछ । बजारमा त्यसको कुनै मूल्य हुँदैन । त्यहाँ आफ्नै मूल्य छ बच्चाको मुस्कान ।

यो कुरा जाडोमा लगाउने कपडा होइन । बच्चाको मुस्कानले जाडो छल्दैन । तर, त्यसको आनन्द बेग्लै छ । जाडो, गर्मी, भोक, प्यास बिर्सन्छ । तसर्थ सास फेर्नुलाई मात्रै जिउनु भन्ने त ? सास फेरेकोलाई जिन्दगी भन्ने जीवन पनि के जीवन र ? सास फेर्नुभन्दा अरु फरक पाटो पनि छ जिन्दगीमा । सास त वनस्पतिले पनि फेर्छ । खान त जराबाट उसले पनि खान्छ । एकै ठाउँम उभिएर जिन्दगी कटाउँछ । तर, मान्छे एक्लै एकै घरमा उभिएर जिन्दगी कटाउन चाहँदैन । मान्छेको जिन्दगी त प्रकृति जस्तै गतिशील छ । रमाइलो जिन्दगी बाँच्नलाई कला चाहिन्छ । बाँच्ने कला, जीवन चलाउने कला, समाज चलाउने कला सबै थोक आवश्यक पर्छ ।

कलाकारले कलाकारिता गर्ने, दर्शन नराख्ने, तर एक्लै नाचिरहने ! यो सिक्न त काम लाग्ला । तर, यसको अर्थ के त ? कोही दर्शक नराख्ने, गीत लगातार मस्तले गाइरहने ! कति दिन गाउँछ त्यो मान्छेले ? बाँसुरी कति दिन बजाउँछ ? गोपिनी नभए कृष्णले बाँसुरी बजाउँथे ?

– युवाको प्रेम र आमाको स्नेह सबै भावनासँग जोडिएका कुरा हुन् !

जिन्दगी भावना र यथार्थसँग जोडिएको हुन्छ । जिन्दगी यथार्थ र फिक्सनसँग जोडिएको हुन्छ ।

– राजनीतिमा बढ्ता भावनाले काम गर्छ कि सोकल्ड बौद्धिकताले काम गर्छ ? मान्छेसँग बौद्धिकताको कुरा आउँदा यसले राम्रा सोच र विचारलाई मात्रै प्रतिनिधित्व गर्दैन । बौद्धिक व्यक्तिले छलकपट, अन्यलाई भ्रममा राख्ने काम पनि गर्न सक्छन् । यहाँ राजनीति गर्नुहुन्छ । राजनीतिमा बढ्दा भावनाको कुरा आउँछ कि बौद्धिकताको ?

जीवन र समाज यथार्थ हो । अवस्था जे जस्तो छ, त्यही यथार्थ हो । कला भने परिकल्पना हो, कथा हो, अभिनय हो । जीवन भने अभिनय गरेर चल्दैन । फिल्ममा नखाए पनि खाएको, प्रेम नभए पनि भएको, घाइते नभए पनि भएको, नमरे पनि मरेको अभिनय हुन्छ । तर, जिन्दगीमा त्यस्तो हुँदैन । राजनीतिमा पनि त्यस्तै हुँदैन ।

– पिकासोले भनेका थिए, कला भनेको एउटा झूट हो । किनभने कला पस्कँदा सुरुबाटै झूटको खेतीबाटै हुन्छ । यो यस्तो झूट हो, अवलोकन गर्ने व्यक्तिले आफ्नो सत्यता पत्ता लगाउँछ । किनभने कलाको सृजना नै झूटको खेती हो । त्यो कलालाई जसले अवलोकन गर्छ, हेर्छ, पढ्छ, सुन्छ, त्यसपछि त्यो व्यक्तिले आफ्नो सत्यता पत्ता लगाउँछ या लगाउन सहयोग गर्छ । सिनेमा हेर्न जाँदा सबैलाई लाग्छ कि यो सबै झूट हो । तर, सिनेमाको शक्ति के हो भने राम्रोसँग अभिनय गरिएको छ भने हेर्ने व्यक्ति भावनामा बहन थाल्छ । त्यो झूटको खेती हो भन्ने जान्दाजान्दै सिनेमामा देखाइएका कुराहरुबाट प्रभावित भएर रुन सक्छ, हाँस्न सक्छ । भावनाको उतारचढाव आउँछ । सिनेमाको त्यो शक्तिलाई नकार्न मिल्दैन होला नि ?

मलाई के लाग्छ भने म सिनेमा, कलालाई झूट मान्दिनँ । झूट भनेर यसलाई होच्याइयो । महाभारत एक कथा हो । कथाभन्दा महाकाव्य हो । कथाको प्रभाव यस्तो हुन्छ, महाभारतको कथा युद्ध त अलिअलि भयो होला । तर, यसलाई कसरी रचना गरिएको छ कि मान्छेले युद्धमात्रै देख्छ । अहिले हिन्दी टेलिसिरियल र सिनेमाले महाभारतका पात्रहरुलाई चिन्ने बनाइसक्यो । तर, हिजो पनि मान्छेले कृष्णको कल्पना गर्थे । धृतराष्ट्र, द्रोणाचार्य, युधिष्ठिर, भीमसेनको कल्पना गर्थे ।

अहिले महाभारत सिरियलमा खेलेका कलाकार सडकमा निस्कँदा मान्छेले ढोग्छन् । आज भगवानको दर्शन पाएर कृतज्ञ भएँ भन्छन् । कलाकार हो, तर यो त कलाको सफलता हो नि ! यसकारण कला एकदमै यथार्थ वर्णन होइन । कला हो, कथा हो, तर झूट चाहिँ होइन । कथा भनेको इतिहास होइन, कथा भनेको कथा हो, यसलाई झूट होइन, परिकल्पना भन्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर