विराटनगरमा स्टाफ नर्स मृत भेटिइन्, हत्याको आशंका – Nepal Press

विराटनगरमा स्टाफ नर्स मृत भेटिइन्, हत्याको आशंका

विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिएकी छन् । अस्पतालनजिकै डेराको बाथरुममा चन्द्रिकाकुमारी दासको शव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

शरीरका केही भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या भएको प्रारम्भिक अनुमान रहेको मोरङका एसपी नवराज कार्कीले नेपाल प्रेसलाई बताए ।

‘हामीले प्रहरी टोली घटनास्थल पठाइसकेका छौं । अनुसन्धान भइरहेको छ’, कार्कीले भने ।

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको हो ।

धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।

हत्यामा संलग्नको पहिचान खुल्न नसकिरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न हत्यापछि शौचालयमा शव छाडेर भागेको पाइएको डीएसपी दाहालले बताए ।

घटनास्थलमा पुगेर डीएसपी दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ । हत्यामा संलग्नको खोजी तीव्र पारिएको र पहिचानको प्रयास भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर