रुसमा शुक्रबारदेखि राष्ट्रपतीय चुनाव: पुटिनको पाँचौं यात्राका पाँच प्रसंग – Nepal Press

रुसमा शुक्रबारदेखि राष्ट्रपतीय चुनाव: पुटिनको पाँचौं यात्राका पाँच प्रसंग

काठमाडौं । मार्च १५ शुक्रबारदेखि रुसमा राष्ट्रपतीय चुनाव हुँदैछ । चुनावमा वर्तमान राष्ट्रपति भ्लादिभिर पुटिन पाँचौं पटक उम्मेदवार बन्दैछन् ।

युनाइटेड रसिया पार्टीका नेता पुटिनको यो चुनावी यात्रा सहजै रहेको रुसी मिडियामात्रै होइन, उनका कट्टर विरोधी पश्चिमा मिडियाहरुले पनि भन्दै आएका छन् । रुसी चुनाव चिहाउन सकिने पाँच बुँदा हेरौं-

१) रुसी कब्जाका युक्रेनी भूमिमा पनि चुनाव

पूर्वी युक्रेनका भागहरु खासगरी डोनबास क्षेत्र र सेरोफेरो हाल रुसी कब्जामा छन् । सन् २०२२ फेब्रुअरी २४ मा सैन्य हमला गरेपछि रुसी भाषा बोल्नेहरुको यी क्षेत्र रुसमा गाभिएका छन् ।

रुससँग जोडिएका ती क्षेत्रका नेताले रुसलाई गुहार गरेर सैन्य हमला सुरु भएको थियो । पछि जनमतसंग्रह पनि भयो । सैन्य देखि जनमत संग्रह सबै मिसमास गरेर रुसमा गाभिएका क्षेत्रमा पनि चुनाव हुन लागेको छ । त्यसैले यो चुनाव महत्वपूर्ण छ ।

२) रुसी युद्ध ‘उत्साह’को चुनाव

युक्रेन युद्धमा लागेपछि अमेरिका तथा युरोपेली देशहरुले रुसमाथि आर्थिक तथा अन्य नाकाबन्दी लगाए । त्यति हुँदाहुँदै रुस पर्जेजिङ पावर प्यारिटी (पीपीपी) मोडेलमा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बनेको छ । रुसको युद्ध अर्थतन्त्र शक्तिशाली भएको छ ।

पश्चिमा विश्वले सोचे जस्तो उसको अर्थतन्त्र डाँवाडोल भएको छैन । यसलाई विज्ञापन गरेर रुसले उत्साहको चुनावको रुपमा व्याख्या गरेको छ । एकातर्फ युक्रेन युद्ध, अर्कोतर्फ अर्थतन्त्रमा पश्चिमा देश र तिनका समर्थकको नाकाबन्दी सबै झेलेको रुसले अहिले आफू थेग्रिएर चुनाव गर्न लागेकाले युद्ध उत्साहको चुनावको रुपमा यसलाई चित्रण गरिएको छ ।

३) पुटिनको स्वतन्त्र उम्मेदवारी

पुटिन युनाइटेड रसिया पार्टीका नेता हुन् । तर, आफू दलीय नभएर देशको भएको भन्दै पुटिन स्वतन्त्र उम्मेदवार हुने भएका छन् । रुसका नेता, कलाकार, व्यापारी तथा नागरिक अगुवाहरुको सल्लाह तथा दलकै साथमा पुटिनले यस्तो निर्णय गरेका हुन् ।

४) ग्लोबल साउथले मात्रै सफ्ट कर्नर राख्ने चुनाव

रुसको चुनाव धाँधलीयुक्त हुने पश्चिमा देश तथा तिनका मिडियाको आरोप छ । रुसले भने मतदाताको संख्या घटाउन अमेरिका तथा युरोपेली देशहरु गैरसरकारी संस्थाहरुको माध्यमबाट लागिपरेको आरोप लगाएको छ ।

तर, ग्लोबल साउथका शक्तिहरु भारत, चीन, ब्राजिललगायतका एसियाली तथा अफ्रिकी अनि ल्याटिन अमेरिकी देशहरुले भने रुसको आलोचना गरेका छैनन् । त्यसैले यो चुनावलाई ग्लोबल साउथको मात्रै सफ्ट कर्नर पाएको मान्न सकिन्छ ।

५) बलिया विपक्षीविहीन चुनाव

पुटिन चुनावी मैदानमा पाँचौं पटक उभिए पनि उनका बलिया विपक्षी छैनन् । सबै रुस-युक्रेन युद्धका पक्षपाती प्रतिस्पर्धीहरुमात्रै छन् । पुटिनका खरा विरोधीको रुपमा पश्चिमा विश्वले चिनाएका अनुहारहरु बोरिस नाजेददिन, येकातेरिना दोन्तसोभा जस्ता अनुहार छैनन् ।

एलेक्सी नाभाल्नीको त जेलमै हुँदा मृत्यु भइसक्यो । त्यसैले पुटिनलाई चुनावमा हाइसन्चो छ । फेरि पनि पुटिनको पक्षमा रुसी जनलहर बलियो छ । त्यसैले जनउत्साह र विपक्षी बलिया नभएकाले यो चुनाव पुटिनलाई फेरि राष्ट्रपतिमा अनुमोदन गर्ने औपचारिकतामात्रै हुने भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर