विक्रम पाण्डेको प्रष्टीकरण : शौच गर्न निस्केको थिएँ, स्याल कराउनु र बाख्रा हराउनु एकैचोटि भयो – Nepal Press
राप्रपा बैठक

विक्रम पाण्डेको प्रष्टीकरण : शौच गर्न निस्केको थिएँ, स्याल कराउनु र बाख्रा हराउनु एकैचोटि भयो

कार्यालयको मुलगेट बन्द गरेर राप्रपा बैठक जारी, बाहिर प्रहरीको तैनाथी

काठमाडौं । केन्द्रीय कार्यालयभित्र नेता ठाकुरमोहन श्रेष्ठमाथि भएको आक्रमणका विषयमा पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीले छानबिन गर्ने भएको छ ।

घटनाको सीसीटीभी फुटेजसमेत हेरेपश्चात सुचारु गरिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एक जना उपाध्यक्षको नेतृत्वमा छानबिन समिति बनाउने समझदारी गरेको छ ।

आज बिहान बसेको बैठकमा महामन्त्री विक्रम पाण्डे र कार्यसम्पादन समिति सदस्य श्रेष्ठको चर्काचर्की परेको थियो ।

श्रेष्ठले पाण्डेलाई सिधै ‘भ्रष्टाचारी’ भनेपछि माहौल गर्माएको हो । खाना खानका लागि बैठक स्थगित गरेर नेताहरू बाहिरिने क्रममा श्रेष्ठ आक्रमणमा परेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिरै उनीमाथि एउटा समूहले हातपात गरे ।

पाण्डेकै योजनामा यो घटना भएको अनुमान गरिएको छ । तर खाना खाएपछि बसेको बैठकमा पाण्डेले घटनाको जिम्मेवारी लिएनन् । उनले घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

अध्यक्ष लिङ्देनले बैठकमा यो विषयलाई धेरै नउछालौं भनेर अध्यक्ष लिङदेनले औपचारिक छलफलमा ल्याउन चाहेका थिएनन् । तर, पाण्डेले बोल्नका लागि समय मागेपछि अनुमति दिइयो ।

‘मेरो नाम जोडेर समाचार आएको छ, यस्तो काम मैले कसरी गर्न सक्छु ? मेरो यसमा कुनै पनि हात छैन,’ पाण्डेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘स्याल कराउनु र बाख्रा हराउनुजस्तो भयो ।’

बिहान बैठक चल्दाचल्दै पाण्डे बाहिर निस्किएका थिए र एक छिनपछि फेरि पसेका थिए । त्यसको केहीबेरमा घटना भएको थियो । बाहिर निस्केर उनले ‘मान्छे बोलाएको’ आशंका छ ।

पाण्डेले भने प्रतिवाद गरेका छन् । उनले दिशा गर्न बाहिर गएको बताए ।

‘मलाई त्यति सन्चो पनि थिएन । फुड पोइजन भएर हो कि मलाई पेट दुखिरहेको थियो । दिशा गर्न निस्केको हुँ,’ उनले भने, ‘म निस्कँदै गर्दा फलानो भाइहरूले देखेका छन् । उनीहरूलाई सोध्दा पनि हुन्छ ।’

पाण्डेले बोलेपछि कुटाई खाने ठाकुरमोहनले पनि बोल्न समय मागे । तर, अध्यक्ष लिङदेन अनुमति दिएनन् ।

‘सबै कुरा थाहा भइहाल्यो, अब कसरी समाधान गर्ने भन्ने हो,’ उनले भने, ‘यसलाई नलम्ब्याऊँ ।’

राप्रपा बैठक बस्दै गर्दा प्रहरीले केन्द्रीय कार्यालयबाहिर सुरक्षा दिइरहेको छ । पार्टीले नै सुरक्षा संवेदनशीलताका कारण प्रहरी बोलाएको हो । मुलगेटलाई भित्रबाट बन्द गरेर बैठक चलिरहेको एक नेताले जानकारी दिए ।

राप्रपाका प्रमुख नेताहरूले यो विषयलाई आवश्यक परेमा कानूनी प्रक्रियामा लैजान सकिने तर, बैठकमा विवाद नगर्ने पहिल्यै समझदारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर