भरतपुरमा हाइप्राेफाइल भिड जुटाएर रेनुले देखाएकाे पावर र ओली आगमनकाे अन्तर्य – Nepal Press

भरतपुरमा हाइप्राेफाइल भिड जुटाएर रेनुले देखाएकाे पावर र ओली आगमनकाे अन्तर्य

चितवन । देशका प्रधानमन्त्री र ५ पूर्वप्रधानमन्त्रीलाई उतारेर मेयर भरतपुर भ्रमण वर्षको भव्य उद्घाटन गराइन् । धेरैले यसलाई प्रधानमन्त्री पिताको आडमा रेनुले गरेको शक्तिप्रदर्शनका रूपमा अर्थ्याइरहेका छन् । कतिले चाहीँ राजनीतिक रंग पनि दिन खोजेकाे बताएका छन् ।

मन्त्रिपरिषद् हेरफेर र राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारीबारेको विवादले सत्तारूढ गठवन्धनभित्र चिसोपना बढिरहँदा रेनुले सत्तादेखि प्रतिपक्षका शीर्ष नेतालाई एउटै मञ्चमा उभ्याएकी हुन् ।

रेनुलाई बारम्बार परिवारवादमा जोडेर उपहास गरिरहने प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उनको निम्तो मान्न तयार भए । यो विशेष अर्थपुर्ण छ । भलै ओलीले कार्यक्रममा आफ्नै नेतृत्वको सरकारले चितवनमा गरेका कामको बखान गरेर फर्केका किन नहुन् ।

मञ्चमा ओलीको १५ मिनेट उपस्थितिले प्रधानमन्त्री प्रचण्ड र मेयर दाहालको अनुहारमा खुशी छाउनु स्वभाविक नै भयो । साथसाथै यसले एउटा सकारात्मक सन्देश पनि दिएको छ कि राजनीतिक रूपमा ध्रुविकृत नेताहरू व्यक्तिगत इगोलाई थाँती राखेर एउटा असल प्रयोजनका निम्ति एकै ठाउँ उभिए । यो जमघटले आगामी दिनमा नेताहरूको आपसी तिक्तता कम गर्न थोरै भए पनि योगदान गर्ने आशा गर्न सकिन्छ ।

कार्यक्रममा वक्ताहरूले राजनीतिक भाषणवाजी गरेनन् । खासगरि ओलीबाट रोचक राजनीतिक टिप्पणी र कटाक्षको प्रतिक्षा गरिरहेका दर्शकले खल्लो पनि माने । लम्बेतान भाषणका लागि कहलिएका ओेली छोटो गैरराजनीतिक मन्तव्य दिएर हिँडे । व्यस्तताको कारण देखाउँदै उनले अगाडि नै बोल्ने समय मागेका थिए ।

उनले ७ मिनेटको मन्तव्यमा आफू प्रधानमन्त्री हुँदा भरतपुर लगायत चितवनको विकास थालेको चर्चा गरे। आफ्नो कार्यकालमा थालिएको ६ लेनको सडक, भरतपुर सिटी हल, नारायणी तटबन्धन लगायत केही आयोजनाको नामै लिएर क्रेडिट लिन खोजे । एक वर्षभित्र भरतपुरको पारिवारिक भ्रमण गर्ने भन्दै अरुलाई पनि भरतपुर घुम्न सार्वजनिक आह्वान गरे । भरतपुरमा रेनुले गरेका कामबारे कुनै टिप्पणी गरेनन् ।

खासमा ओली रेनुको निम्तो मान्न भन्दा पनि प्रचण्डसँग सम्बन्ध सुधार्ने आकांक्षाले भरतपुर आएको बुझ्न सकिन्छ । रेनुले फोन र पत्रमार्फत निम्तो दिएपनि प्रधानमन्त्रीबाटै विशेष अनुरोध भएपछि टार्न नसकेर ओली चितवन आएको एमाले निकटहरुले बताएका छन् । जे भए पनि ओलीको उपस्थितिले भरतपुर भ्रमण वर्षको मञ्च एकपाखे हुनबाट बच्यो ।

कार्यक्रममा समाजवादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनालले पनि राजनीतिक कुरा गरेनन् । उनीहरु दुबै जनाले पर्यटन विकासलाई जोड दिएका थिए । माधव नेपालले थप मेयर दाहाललाई अर्थतन्त्रको विकाससँगै मातृ मृत्युदर घटाउने, विद्यालय शिक्षामा सबैको पहुँच, न्यायको प्रत्याभूती लगायतका विकासका सामाजिक सूचकहरुमा सचेत रहन पनि भनेका थिए ।

प्रधानमन्त्री प्रचण्डले चितवन आएर हिजो काँग्रेससँग सम्बन्ध बिग्रिएको छनक आउने मन्तव्य दिएका थिए । सायद त्यसको आधारमा नागरिकमा संशय नआओस् भनेर होला आफ्नो लिखित मन्तव्यमा नै काँग्रेस सभापति शेरबहादुर देउवाले यो गठबन्धन निरन्तर अघि बढ्ने र आर्थिक समृद्धिको काम पनि यही सरकारको काम भएकोले सरकार बनाउने गठबन्धनको मूल व्यक्तिका तर्फबाट समर्थकलाई ढाढस दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का सांसद रवि लामिछानेले पनि हेभि वेटको मञ्च पाए । उनले देशको विकास र आगामी पुस्ताको लागि एक ठाउँमा उभिन आग्रह गरेका थिए । उनले मञ्चबाट रेनु दाहालले भरतपुरमा गरेको विकासको प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा सबैभन्दा खुसी देखिन्थे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । मञ्चको बीचमा थियो प्रचण्डको आसन । दायाँतर्फ केपी ओली र बाँयातर्फ शेरबहादुर देउवाको बस्ने व्यवस्था थियो । केही ढिलोगरी मञ्मा आएका ओलीलाई माधव नेपालले नजरअन्दाज गर्न खोजे । उनले ओलीको नमस्कार पनि फर्काएनन् । प्रमुख अतिथि प्रचण्डले भने आयोजक नै जसरी आफैं उठेर ओलीको स्वागत गरेका थिए ।

मञ्चबाटै प्रचण्डले भने-चितवनबाट हामीले राष्ट्रिय एकताको सन्देश दिएका छौँ । उनले भाषणमा आफ्नी छोरी रेनुको खुलेर प्रशंसा समेत गरेका थिए ।

प्रचण्डले एकताको सन्देश भने पनि ओलीलाई नजिक ल्याएर उनले कांग्रेसलाई साइजमा राख्ने रणनीति अपनाउदै आएका छन् । अर्कोतिर ओली पनि गठवन्धनमा फाटो आउने र मौकामा चौका हान्ने दाउ हेरेर बसेका छन् ।

जसको जे जे स्वार्थ भएपनि हिजोको कार्यक्रमबाट सबैभन्दा ठूलो फाइदा मेयर रेनुलाई नै भएको छ । उनले आफ्नो पावर त देखाइन् नै भरतपुर भ्रमण वर्षको ठूलो ‘हाइप’ बनाउन पनि सफल भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर