मुख्यमन्त्री कार्कीविरुद्ध कांग्रेसको महासमिति बैठकमा मोर्चाबन्दीको तयारी – Nepal Press

मुख्यमन्त्री कार्कीविरुद्ध कांग्रेसको महासमिति बैठकमा मोर्चाबन्दीको तयारी

कांग्रेस संसदीय दलका नेता उद्धव थापा भन्छन्- प्राइभेट कम्पनीले सरकार चलाउन सक्दैन

विराटनगर । कोशी प्रदेश सरकार परिवर्तनको विषयमा नेपाली कांग्रेसको महासमिति बैठकमा मोर्चाबन्दी गर्ने तयारी भएको छ । नेपाली कांग्रेसकै नेतृत्वमा कोशी प्रदेश सरकार भए पनि यो जनताको सरकार नभएको भन्दै महासमिति बैठकमै सरकारविरुद्ध मोर्चाबन्दीको तयारी भएको हो ।

सरकारको नेतृत्व गरेका मुख्यमन्त्री केदार कार्कीले पार्टी र संसदीय दलसँग कुनै छलफल नगरेको भन्दै सरकार परिवर्तन गर्न महासमिति बैठकमै कुरा उठाउने तयारी भएको काेशी प्रदेशका एक कांग्रेसका सांसदले बताए ।

कोशीका मुख्यमन्त्री कार्की कांग्रेसको संस्थागत निर्णयविरुद्ध विद्रोह गर्दै असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमालेका ३९ जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए । एमालेको समर्थनमा संविधानको धारा १६५ (५) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई पछि कांग्रेसले समेत विश्वासको मत दिएको थियो ।

विश्वासको मत दिएपछि कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले ८ भाइले विद्रोह गरी युद्ध जितेकाले आफूहरूले स्वागत गरेको टिप्पणी गरेका थिए ।

तर, सरकार विस्तारलगायतका विषयमा कार्कीले एकलौटी ढङ्गले काम गरेको भन्दै संस्थापन पक्ष कार्कीसँग क्रुद्ध बनेको छ । केही दिनअघि भएको सरकार विस्तारमा कार्कीले आफूलाई साथ दिएकाहरूलाई मात्रै मन्त्री बनाएपछि कांग्रेसभित्रै सरकार फेर्न चरम दबाब परेकाे छ ।

यही दबाबका कारण महासमिति बैठकमै यो विषय प्रवेश पाउने संसदीय दलका नेता उद्धव थापाले बताए ।

उनले भने, ‘यो सरकार जनताको भएन, प्राइभेट कम्पनी जस्तो भयो । यो गठबन्धनको सरकार पनि होइन । यो सरकार कांग्रेसको पनि रहेन । प्राइभेट कम्पनीले सरकार चलाउन सक्दैन ।’

उनले प्राइभेट कम्पनीको सरकार धेरै दिन नटिक्ने बताए । प्राइभेट कम्पनीको सरकार परिवर्तनका विषयमा महासमिति बैठकमा कुरा उठ्ने र बैठकपछि सिन फेरिने थापाको दाबी छ ।

उनले भने, ‘सरकार परिवर्तन आवश्यक छ । यसका लागि महासमिति बैठक सकियोस् ।’

मुख्यमन्त्री नियुक्त भएसँगै कार्कीले आफूलाई साथ दिएका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए । लामो समय विनाविभागीय मन्त्री बनाएका राईलाई पछि उनले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिए ।

यस्तै पछिल्लो समय विस्तार भएको सरकारमा पनि आफू निकटकालाई मात्रै मन्त्री नियुक्त गरे । उनले राम खत्रीलाई उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिए । इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गरे ।

यसै गरी कार्कीलाई साथ दिएकी सुनिताकुमारी गुरुङ आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त भइन्रे । मुख्यमन्त्री कार्कीले संस्थापन पक्षका भनिएका प्रदीप सुनुवारलाई स्वास्थ्यमन्त्री नियुक्त गरे पनि उनी पनि कार्कीसँग मिलेको असन्तुष्ट पक्षको दाबी छ ।

‘उहाँले विद्रोह गर्दा हस्ताक्षर गर्नुभएन’, एक प्रदेशसभा सदस्यले भने, ‘बहुमत सङ्ख्या पुर्‍याउन अपुग भए सुनुवार मन्त्री बन्न हस्ताक्षर गर्न तयार हुनुहुन्थ्यो  ।’

संसदीय दलका नेता तथा कोशी प्रदेशका सभापति थापाले मुख्यमन्त्रीसँग आफ्नो कुरा नभएको बताए । उनले भने, ‘उहाँसँग के कुरा गर्ने ? दलसँग कुरा गर्नुपर्ने होइन ? उहाँले अहिले प्राइभेट कम्पनी चलाउनु भएको छ । हामीले केही कुरा गरेका छैनौं । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर