एकै वर्ष सातवटा लोकसेवा परीक्षा पास भइन् रोल्पाकी खुशी, सात दिदीभाइ सरकारी जागिरे – Nepal Press

एकै वर्ष सातवटा लोकसेवा परीक्षा पास भइन् रोल्पाकी खुशी, सात दिदीभाइ सरकारी जागिरे

खुशीको सफलतामा सिंगै जिल्लावासी खुशी

रुपन्देही । हरेक अवसरबाट पछाडि परेको जनयुद्धको केन्द्रमा रहेर थिलथिलो बनेको जिल्ला रोल्पा । यही रोल्पाको एउटा दुर्गम गाउँमा निम्न मध्यमवर्गीय परिवारमा सातौँ सन्तानको रूपमा जन्मेकी २१ वर्षीय खुसी बुढामगरले एकै वर्ष लोकसेवामा सात स्थानमा नाम निकालिन् ।

खुसीको यो प्रगतिमा उनको परिवार, आफन्त, जिल्लावासी सबै खुशी छन् । उनलाई बधाई थाप्न भ्याइनभ्याइ छ । अझै रोचक त कृषि पेशामा निर्भर रहेका खुसीका बुवाआमाका ६ दिदीबहिनी र १ छोरो स्थायी र करार गरी सबै सरकारी सेवामा आबद्ध छन् ।

परिवर्तन गाउँपालिका– ४ रोल्पा घर भएकी खुशी अहिले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा मत्स्य प्राविधिक पदमा कार्यरत छन् । उनले यसअघि नायव पशु स्वास्थ्य प्राविधिकको रूपमा कुशे गाउँपालिका जाजरकोटको कृषि विकास शाखामा काम गरेकी थिइन् ।

राप्ती टेक्निकल कलेज लालमतिया दाङबाट ३ वर्षे पशु विज्ञान पढेकी खुशीले सरकारी जागिर खाने निधो पहिल्यै गरिसकेकी थिइन् । त्यसैले नतिजा आउनुअघि नै उनले आफ्ना दिदीहरूले पढेका नोट अध्ययन गर्न सुरु गरिन् । उनले लोकसेवा आयोगको एउटा तयारी कक्षा पनि लिइन् ।

पास आउट हुने बित्तिकै अझ मेहनत गरेकी उनी पहिलो पटक जाजरकोटमा पदस्थापना भएर गइन् । त्यसपछि पनि उनले लोकसेवा पास गरेपछि हाल कार्यरत बर्दघाट नगरपालिका नवलपरासीमा काम गर्न पुगिन् । तर, उनले यहीँ आफ्नो यात्रा टुंगाइनन् । अझ मेहनत गर्दै गर्दा थप ५ ठाउँमा नाम निकाल्न सफल भइन् ।

वैशाखमा उनले कर्णाली प्रदेशले लिएको परीक्षाको पाँचौँ तह लिखितमा नाम निकालिन् । त्यसपछि जेठमा कर्णाली प्रदेशकै चौथो तहमा नाम निकालेर कुशे गाउँपालिका जाजरकोटमा सेवारत भइन् । त्यसपछि लुम्बिनी प्रदेशको पाँचौँ तहमा र लुम्बिनीकै स्थानीय तहको परीक्षामा पनि सफल भइन् ।

पाँचौंपटक उनले सुदूरपश्चिममा पाँचौँ तहमा नाम निकालेकी थिइन् । यस्तै छैठौंपटक कोशीको चौथो तह र सातौंपटक संघमा नाम निकाल्न सफल भएकी हुन् । संघीय लोकसेवाको आगामी ९ गते अन्तर्वार्ता छ । त्यसमा पनि नाम निस्कनेमा उनी ढुक्क छन् ।

जनता मावि परिवर्तन ३ बाट ०७४ मा एसईईमा प्रथम श्रेणीमा पास गरेपछि उनी पढ्न दाङ झरेकी हुन् । उनको गाउँ माओवादी युद्ध प्रभावित भए पनि परिवारका सदस्यहरू त्यसमा लागेनन् । बुवाआमा कृषि काममै लागेको र दिदीदाइहरु राजनीतिमा नजोडिएकोले त्यो विषय थाहै नभएको उनले बताइन् ।

अब सकेसम्म संघीय रोजेर सबै क्षेत्रको अनुभव संगाल्ने र अझै धेरै अध्ययन अनुसन्धानमा समय बिताउने खुशीको योजना छ । संघीय लोकसेवाको अन्तर्वार्तामा छनौट भए उनले संघीय सरकारअन्तर्गत नै रहेर काम गर्ने इच्छा उनले सुनाइन् ।

बुवाआमा खेती किसानी गर्ने र परिवार ठूलो भएकाले धेरै संघर्ष गरेर आफू यहाँसम्म पुगेको बताउँछिन् खुशी । बाबुआमाका ६ छोरी र एक छोरामध्ये उनी कान्छी हुन् । दाजु, दिदीहरू सरकारी जागिरे भएकाले पनि खुसीलाई प्रेरणा जागेको हो ।

६ दिदीबहिनीमध्ये ३ बहिनी र एक दाजु सरकारी स्थायी जागिरे छन् भने ३ बहिनी करारमा काम गरिरहेका छन् । ६ दिदीबहिनीमध्ये जेठी स्थायी शिक्षक, माइली र साइँली करार शिक्षक, त्यसपछिको दिदी प्रदेशको करार, दाइ र दिदी निजामतीतर्फको स्थानीय तहमा स्थायी जागिरे छन् । सानैदेखि मेहनती र जेहेन्दार विद्यार्थी खुशी एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएकी थिइन् ।

उनी राप्ती टेक्निकल कलेजमा पशु विज्ञान लिएर २०७९ मा पास भएकी थिइन् । त्यसअघि नै तयारी कक्षा लिएर दिदीहरूका नोट पढ्दै बसेको बताउँछिन् । आफूले पढ्ने विषयलाई विभिन्न तरिकाले अध्ययन गर्ने योजना बनाएर तयारी गरेको र सफलता पाएको उनको भनाइ छ । यो सफलतामा आफ्नो मिहेनत मात्रै नभएर आमाबुवा र दाजुदिदीको ठूलो योगदान रहेको खुसी बताउँछिन् ।

रोल्पा नेविसंघका अध्यक्ष अनुपम जिसीले हरेक क्षेत्रबाट पछाडि परेको जिल्लाबाट खुसीले एकै वर्ष ७ क्षेत्रमा लोकसेवा पास गरेर धेरै राम्रो उदाहरण पेश गरेको बताए ।

उनले भने, ‘विकटता, अशिक्षा र गरिबीको उपमा पाएको रोल्पाबाट २१ वर्षको उमेरमा एकै वर्ष ७ स्थानबाट लोकसेवा परीक्षामा सफलता प्राप्त गरेकोमा निकै खुसी लागेको छ, यो मेहनतले बिदेसिन मरिहत्ते गर्ने युवा साथीहरूको लागि पनि प्रेरणा दिएको छ ।’

लुम्बिनी प्रदेश सांसद निमा गिरीले खुशीको मेहनतको सम्मान गर्दै उनको सफलताले सिंगो क्षेत्रको पहिचान थपेको बताएकी छन् ।

‘मेहनत शान्तपूर्वक गर, सफलताले आफैँ हल्ला गर्दछ । एक वर्षमा ७ स्थानको सरकारी सेवामा नाम निकाल्न सफल रोल्पाकी खुसी बुढा बहिनीको जस्तै खबर अरूको पनि सुन्न पाइयोस्,’ उनले भनेकी छन् ।

रोल्पा स्थायी घर भएका नेपाली कांग्रेस लुम्बिनीका सभापति तथा पूर्वमन्त्री अमर सिंह पुनले खुसीलाई अहिले काम गरिरहेको पालिका नवलपरासीको बर्दघाट नै पुगेर बधाई दिएर फर्केका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *