मधेस कृषि विश्वविद्यालय शिलान्यास विवाद- उपेन्द्रलाई रोक्न सीके राउतका कार्यकर्ताले लगाए ताला – Nepal Press

मधेस कृषि विश्वविद्यालय शिलान्यास विवाद- उपेन्द्रलाई रोक्न सीके राउतका कार्यकर्ताले लगाए ताला

जनकपुरधाम । मधेस सरकारले सप्तरीको राजविराजमा स्थापना गरेको ‘मधेस कृषि विश्वविद्यालय’ को भवन शिलान्यास कार्यक्रममा विवाद उत्पन्न भएको छ । यहाँ भेला भएका जनमत पार्टीका नेता कार्यकर्ताहरूले कृषि विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गरेका छन् ।

राजविराज नगरपालिका-१३ विषहरियामा विश्वविद्यालय भवनको शिलान्यास जसपा अध्यक्ष उपेन्द्र यादवबाट गराउने तयारी छ । उपेन्द्र प्रमुख अतिथि डाकिएपछि जनमतका नेता कार्यकर्ता आक्रोशित बनेका हुन् ।

केही दिनअघि जनमतका अध्यक्ष सीके राउतले आफूहरूको जोडबलले विश्वविद्यालयको योजना परेको भन्दै यादवलाई प्रमुख अतिथि बोलाइएकोमा ‘काम गर्ने कालु, मकै खाने भालु !’ भनी विरोध गरेका थिए । जसपा कार्यकर्ताले पनि यादवबाटै शिलान्यास गराउनुपर्ने भन्दै फेसबुकमा स्टाटस लेखिरहेका छन् ।

सहकूलपतिलाई जानकारी नै नदिई कामकाज अगाडि बढाएको भन्दै तालाबन्दी गरेको जनमतका कार्यकर्ताको भनाइ छ । विश्वविद्यालयको सहकूलपति प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री महेश यादव हुन् । यादव जनमत पार्टीबाट मन्त्री बनेका हुन् ।

प्रदर्शनकारीले दलीय क्रुरता बन्द गर, अवैधानिक कार्य बन्द गरजस्ता नारा लगाएर टायरसमेत बालेका छन् ।

विश्वविद्यालयका रजिष्टार भगवान् ठाकुर भन्छन्, ‘शिलान्यास कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री सरोजकुमार यादवलाई बनाएका छौं । तर, शिलान्यास मुख्यमन्त्री र शिक्षामन्त्रीले संयुक्त रूपमा गर्ने तय कार्यक्रम छ ।’

शिलान्यास कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष डा. सीके राउत, प्रदेशका मन्त्रीहरु र जिल्लाका सबै सांसदलाई आमन्त्रणा गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर