राजेन्द्र लिङदेनको घोषणा- संसदको यो कार्यकालमा फेरि मन्त्री बन्दिनँ – Nepal Press

राजेन्द्र लिङदेनको घोषणा- संसदको यो कार्यकालमा फेरि मन्त्री बन्दिनँ

‘कोशी प्रदेशका विषयमा डा. लोहनीले दिएको निर्देशन अनधिकृत हो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान संसदको बाँकी चार वर्षे कार्यकालमा आफू सरकारमा सहभागी नहुने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

राप्रपाभित्र सरकारमा जाने र नजाने विषयमा दुई धार छ । चुनाव जितेर सांसद बनेकाहरू अवसर पाएसम्म सरकारमा जानुपर्ने पक्षमा छन् भने चुनाव हारेका र सांसद नरहेकाहरू प्रतिपक्षमा बस्नुपर्ने अडानमा । यी दुई टकरावको चुपुवामा पर्दै आएका छन् अध्यक्ष लिङ्देन ।

केही दिनअघि बसेको कार्यसम्पादन समिति वैठकमा पनि सरकारमा सहभागीताको प्रसंग उठ्यो । स्रोतकाअनुसार सधैँ झैं बैठकमा दुई धार देखिए । अन्ततः लिङदेनले दुवै पक्षको मुख बुझो लगाउँदै घोषणा गरे, ‘संसदको बाँकी चार वर्षे कार्यकालमा म सरकारमा जान्न ।’

लिङ्देनले आफू व्यक्तिगतरुपमा सरकारमा नगए तापनि राप्रपा सरकारमा जाने सम्भावनाको ढोका भने बन्द गरेका छैनन् । यस विषयमा राप्रपा प्रवक्ता मोहन श्रेष्ठसँग प्रश्न गर्दा उनले आवश्यकता अनुसार राप्रपा सरकारमा जान सक्ने बताए ।

उनले भने, ‘अध्यक्षज्यूले आफू सरकारमा नजाने भन्नुभएको छ । यद्यपि, पार्टी नै चार वर्ष बाहिर बस्ने भनेर निर्णय भएको छैन । आवश्यकताअनुसार अरु कसैको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुन सक्छ ।’
यदि अध्यक्ष लिङदेनलाई प्रधानमन्त्रीकै अफर आयो भने पनि यो चार वर्ष तयार नहुने हो ? भन्ने प्रश्नमा श्रेष्ठले जवाफ दिए, ‘प्रधानमन्त्री पाए त नबन्ने कुरा हुँदैन । सरकारमा नजाने नभन्नुभएको हो, आफ्नै नेतृत्वमा सरकार बनाउने अवसर आयो भने त्यो अर्को प्रश्न हुन्छ ।’

राप्रपाले अध्यक्षको घोषणालाई सार्वजनिकरूपमा चर्चामा ल्याएको थिएन । तर, हिजो लिङदेन आफैंले एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै आफू सरकारमा नजाने भनेर कार्यसम्पादनमा भनिसकेको बताए ।

उनले भने, ‘मैले अब यो कार्यकाल कुनै पनि प्रकारको सरकारमा सहभागी नहुने कुरा सार्वजनिकरुपमा भन्छु । मेरो कुनै चाहना छैन अब । तर, भोलि मेरो पार्टीले उपयोग गर्ने ठान्यो भने अर्को मान्छेलाई पठाउन सक्छ ।’

हालै कोशी सरकारमा सभामुख पद लिएपछि राप्रपा सत्ता गठवन्धनसँग नजिकिन खोजेको आँकलन गरिएको छ । राप्रपाले राष्ट्रिय सभा चुनावमा गठवन्धनसँग तालमेल गर्ने औपचारिक निर्णय नै गरेको थियो । तर गठवन्धनले वास्ता गरेन । यद्यपि, अहिले पनि गठवन्धनभित्र फुट ल्याएर कोशीमा एक राष्ट्रिय सभा सदस्य जित्ने राप्रपाको प्रयास जारी छ ।

जिवराम भण्डारीसितको अन्तर्वार्तामा लिङदेनले कोशीमा सभामुख लिएको विषयलाई लिएर पार्टीभित्र उत्पन्न असन्तुष्टिका सन्दर्भमा कडा अभिव्यक्ति दिए । निर्देशन समितिका अध्यक्षको हैसियतले डा. प्रकाशचन्द्र लोहनीले सभामुखबाट पछि हट्न दिएको निर्देशनलाई उनले अनधिकृत बताए ।

‘डा. लोहनीलाई महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय समितिलाई निर्देशन गर्ने अधिकार छैन । त्यो कुरा विल्कुल मानिन्न ।’

त्यो समितिमा डा. धवलशम्शेर राणा पनि हुनुहुन्छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘जो जो शम्शेर हुन्, त्यो समितिलाई कुनै अधिकार छैन । यो त कु गर्न खोजिएजस्तो भयो । राप्रपाको अध्यक्षले त्यस प्रकारका अनधिकृत कुरा मान्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live