राष्ट्रियसभा निर्वाचन : बागमतीमा कांग्रेस-माओवादीबाट मात्र १२५ जनाको नाम सिफारिस – Nepal Press

राष्ट्रियसभा निर्वाचन : बागमतीमा कांग्रेस-माओवादीबाट मात्र १२५ जनाको नाम सिफारिस

हेटौँडा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन घटक नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रबाट १ सय २५ जनाको नाम सिफारिस भएको छ ।

बागमती प्रदेशमा रिक्त रहेको ४ पदमा गठबन्धनका घटक दुई दलले मात्र १ सय २५ जना उम्मेदवारको सिफारिस गरेका हुन् ।

राष्ट्रियसभाको लागि सत्तारुढ कांग्रेसबाट ९१ र माओवादी केन्द्रबाट ३४ जनाको नाम केन्द्रमा सिफारिस भएको छ ।

गत पुस ११ गते बसेको कांग्रेस बागमती प्रदेशको बैठकले उम्मेदवार सिफारिसको जिम्मा प्रदेश सभापति इन्द्रबहादुर बानीयाँलाई दिएपछि बानीयाँले १३ जिल्लाका ९१ जना नेताहरूको नाम सिफारिस गरेका हुन् ।

बानीयाँले ४ जना केन्द्रीय सदस्य सहित ९१ जनाको नाम सिफारिस गरेका छन् । सिफारिस भएकाहरूमा गणेश लामा, जिप क्षिरिङ लामा, टेकबहादुर गुरुङ, राजु श्रेष्ठ, जीवन डंगोल, कलाकार निर शाह, पत्रकार तारानाथ दाहाल, मकवानपुर जिल्ला सभापति बुद्ध लामा, काठमाडौं जिल्ला सभापति सबुज बानीयाँ लगायतका रहेका छन् ।

माओवादी केन्द्रले पनि केन्द्रीय नेतादेखि जिल्ला तहको नेतासम्मलाई राष्ट्रियसभा सदस्यको लागि सिफारिस गरेको छ । माओवादी केन्द्रले देवि खड्का, हितमान शाक्य, हिमाल शर्मा, धावा लामा, प्रेम ढकाल, दिननाथ गौतम, प्रेमप्रसाद सापकोटा, सूर्य सुबेदी, दिलिप प्रजापति लगायतको नाम सिफारिस गरेको छ ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट बागमती प्रदेश अन्तर्गतमा रहेका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंहबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको सन्दर्भमा स्पष्ट बहुमत रहेको गठबन्धनको दलबाट उम्मेदवार बन्न लर्को लागेको हो ।

बागमती प्रदेशमा ११० प्रदेश सांसदको ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ ।

बागमती प्रदेशमा कांग्रेसको ४ हजार १३, एमालेको २ हजार ५७१, माओवादीको २ हजार १९६, नेकपा एसको ५४२, राप्रपाको ७०८, नेमकिपाको १९७, हाम्रो नेपाली पार्टीको १०६, र स्वतन्त्रको १९ मतभार रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर