एसियन हाइवेस्तरकाे बन्दै काँकडभिट्टा-लौकही सडक खण्ड – Nepal Press

एसियन हाइवेस्तरकाे बन्दै काँकडभिट्टा-लौकही सडक खण्ड

विराटनगर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको राम धुनीसम्म सडक खण्ड एसियन हाइवे मापदण्डमा स्तरोन्नति गरिने भएको छ । ९६ किलोमिटर सडक निर्माणका ३ वटा खण्डमा ठेक्का लागेको छ । सडक खण्डमा पर्ने पुल निर्माणको पनि ठेक्का लागेको छ ।

काँकडभिट्टा-लौकही सडक आयोजनाका इटहरी प्रमुख जगत प्रजापतिका अनुसार काँकडभिट्टादेखि ४५ किलोमिटर पश्चिम खण्ड, ४५ देखि ८५ किलोमिटर पूर्वी खण्ड र ८५ देखि ९७ किलोमिटरसम्म इटहरी खण्ड भनेर ठेक्का लागेको छ । ३ वर्षमा काम गरिसक्नु पर्नेगरी सडकको तीन खण्ड र ३०० मिटरभन्दा लामा पुल बनाउन अर्को ठेक्का लागेको प्रजापतिले जानकारी दिए ।

काँकडभिट्टाबाट लौकीसम्मको १२० किलोमिटर सडक निर्माण गर्नुपर्ने भए पनि बजेट अभावका कारण पूरै सडक र पुलको ठेक्का लाग्न सकेको छैन । एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने सडकको ठेक्का लागे पनि ठेकेदार कम्पनीलाई मोबिलाइजेसन खर्च भने उपलब्ध गराइ नसकेकाले समय सीमाको काउन्ट डाउन सुरु भइ नसकेको प्रजापतिले जानकारी दिए ।

पूर्वी खण्डको ठेक्का अजरबैजानको कम्पनी युरो एशियसन कन्स्ट्रक्सन कर्पोरेटले पाएको छ । उसलाई १० अर्ब रुपैयाँमा ४५ किलोमिटर सडक निर्माणको काम गर्नेगरी ठेक्का दिइएको एडीबी आयोजना निर्देशनालयका सूचना अधिकारी विजयकुमार महतोले जानकारी दिए ।

अजरबैजानको कम्पनीसँग कालिका कन्स्ट्रक्सन ज्वाइन्ट भेन्चर रहेको छ । यस्तै पूर्वी खण्डका लागि भने चाइना रेलवे फर्स्ट ग्रुपले ठेक्का पाएको छ । जसको लागत ९ अर्ब १३ करोड रुपैयाँ रहेको छ । चिनियाँ कम्पनी फर्स्ट ग्रुपसँग नेपाली कम्पनी तोदी कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चर रहेको छ ।

यस्तै ८५ देखि ९७ किलोमिटरसम्मको इटहरी खण्डका लागि भने चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेडले ठेक्का पाएको छ । सो कम्पनीसँगको ज्वाइन्ट भेन्चर पनि तोदी कन्स्ट्रक्सन रहेको सूचना अधिकारी महताेले जानकारी दिए । १२ किलोमिटर सडक र ३०० मिटरभन्दा छोटा पुल निर्माणका लागि ४ अर्ब ७ करोड रुपैयाँमा ठेक्का लागेको हो ।

आयोजनाका अनुसार पूर्वी र इटहरी खण्डमा पर्ने खोलाहरूको पुल निर्माण सम्झौता भएका कम्पनीहरूले गर्नुपर्नेछ । ३ सय मिटरभन्दा लामा पुल निर्माणका लागि चाइना रेल्वे ग्रुप २ र युरो एसियन कन्स्ट्रक्सन कर्पोरेसनले ठेक्का पाएको छ । जसअनुसार यी कम्पनीले निन्दा, विरिङ, कनकाई, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको ठेक्का पाएका छन् । यी ६ वटा पुलको लागत ६ अर्ब रुपैयाँ रहेको छ ।

ठेक्का सम्झौता भएका कम्पनीले ३ वर्षभित्र काम सम्पन्न गरिसक्नु पर्नेछ । सडक आयोजनाका प्रमुख प्रजापतिले भने, ‘कन्सल्टेन्टले रिर्पोट दिइ नसकेकाले काम गर्ने कन्भिन्स लेटर दिइएको छैन । लेटर दिएपछि काम सम्पन्न गर्ने समय सुरु हुन्छ ।’

के हो एसियन मापदण्ड ?

काँकड्भिट्टादेखि लौकहीसम्मको सडक एसियन हाइवे मापदण्डको हुनेछ । एसियाली राष्ट्रबीच व्यापार प्रवर्द्धन, आयात निर्यात बढाउन र पर्यटक चलायमान गराउने उद्देश्यसहित यो सडक निर्माण अघि बढेको हो ।

राष्ट्रसंघको एसियन हाइवे नेटवर्क कार्यक्रममा नेपाल सहभागी भएपछि यो सडक निर्माण सुरु भएको हो । तीन वटा मापदण्डमा बन्ने सडकमा शहरी क्षेत्रमा बीच सडकको ५० मिटरबाहेक दायाँबायाँ २ लेनको सर्भिस रोड बन्नेछ । बीचको ४ लेन द्रुत मार्गको हुने र यसको मापदण्ड न्यूनतम १०० किलोमिटर पर आवरको हुनेछ ।

बीचको सडक द्रुत मार्ग भएका कारण शहरी क्षेत्रमा दायाँबायाँ २ लेन सर्भिस रोड निर्माण हुनेछ । योबाहेक फुटपाथ र ड्रेनसमेत हुने सडक एडीबी आयोजना निर्देशनालयले जनाएको छ ।

ग्रामीण शहरी क्षेत्रमा बीच सडकबाट दायाँबायाँ ५० मिटरबाहेक दुवैतिर साढे ३ मिटरको सडक बन्नेछ । सडकको दायाँबायाँ, फुटपाथ, साइकल लेन र ड्रेन बन्नेछ ।

जङ्गल क्षेत्रमा भने ४ लेनको सडक बन्नेछ । यहाँ जङ्गली जनवारहरूलाई आवतजावतमा सजिलो हुने गरी सडक बनाइने आयोजनाले जनाएको छ ।

११ हजार ५१३ वटा रुख काटिने

९७ किलोमिटर सडक निर्माण गर्न सडकको राइट अफ वेमा पर्ने ११ हजार ५१३ वटा रुख काटिने भएको छ । वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार सडक क्षेत्रबाट ३५ मिटर क्षेत्रभित्र पर्ने रुख कटान हुनेछ ।

डिभिजन वन कार्यालय मोरङका अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६ किलोमिटर क्षेत्रमा पाँच हजार ५५६ वटा रुख पर्छन् । मोरङ खण्डका मङ्गलबारे, पथरी, कानेपोखरी, बेलबारी र सलकपुर सव-डिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुखको धमाधम छपान गरिरहेको यादवले बताए ।

पाँचवटै सब-डिभिजन वन कार्यालयबाट चारपाँच जना जनशक्ति परिचालन गरी रुख छपान गर्ने काम भइरहेको छ । सडक क्षेत्रमा रहेका ४०४ वटा अस्थायी संरचना हटाउनु पर्नेछ । संरचना हटाउने प्रक्रिया सुरु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर