नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने – Nepal Press

नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने

काठमाडौं । सामाजिक सञ्जालको प्रयोगबाट विकृति बढेको भन्दै सरकार अहिले नियमनमा लागेको छ । यसैक्रममा टिकटक ब्याण्ड गरिएको छ भने फेसबुक, युटुव र ट्वीटरलाई कानूनी दायरामा ल्याउन कानून बनाइसकिएको छ । मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका राजपत्रमा प्रकाशित भइसकेको छ ।

निर्देशिका जारी भएको मितिले ३ महिनाभित्र सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गर्न सरकारले समय सीमा तोकेको छ । दर्ता नगरे सरकारले रोक्न वा बन्द गर्न सक्ने कानूनी व्यवस्था छ । निर्देशिकापश्चात टिकटकले दर्ताको लागि आवेदन दिएको छ । अन्य सामाजिक सञ्जाल पनि दर्ताको प्रक्रियामा आउने तयारीमा रहेको सञ्चार मन्त्रालयका अधिकारी बताउँछन् ।

सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरणका लागि सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा दर्ताका लागि प्रक्रियामा आउनुपर्नेछ ।

सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० को दफा ३ को (२) उपदफा (१) बमोजिम सूचीकरण गर्ने प्रयोजनको लागि मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गर्नेछ । मन्त्रालयले सूचना प्रकाशन गरेपछि त्यही सूचनाको आधारमा सामाजिक सञ्जालहरु दर्ता हुने छन् ।

निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म यो निर्देशिका प्रारम्भ भएको मितिले ३ महिनाभित्र मन्त्रालयमा सूचीकृत हुनु पर्नेछ । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति कम्पनी वा संस्थाले सूचीकरणका लागि मन्त्रालयमा अनुसूची १ बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनु पर्नेछ ।

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले आफैं उपस्थित भई वा आफ्नो प्रतिनिधि मार्फत नेपालमा सामाजि सञ्जाल दर्ता गर्न सक्नेछ । अनलाइनबाट समेत दर्ता गर्न सकिन्छ । निर्देशिका अनुसार सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्नेछ ।

तर, नागरिक शिक्षा तथा सामाजिक सशक्तीकरणमा मात्र केन्द्रित भई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता आवश्यक छैन । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गराउनु पर्नेछ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न वा गराउन नहुने कार्यहरु पनि निर्देशिकाम उल्लेख छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले बेनामी वा छद्मवेशी पहिचान ( फेक आइडी,
पेज, गु्रप) सिर्जना गर्ने, बेनामी वा छद्मवेशी पहिचान ( फेक आइडी, पेज, गु्रप) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) गर्ने वा कललगायत गर्न पाइने छैन ।

नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म मध्ये १ लाखभन्दा कम प्रयोगकर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई साना सामाजिक सञ्जाल प्लेटफर्म रहने व्यवस्था छ । भने, एक लाखभन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई ठूला सामाजिक सञ्जाल प्लेटफर्मको रुपमा दर्ता हुनेछ ।

सामाजिक सञ्जाल प्लेटफर्मले आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्नेछ । सम्पर्क व्यक्ति वा सम्पर्क बिन्दु परिवर्तन भएमा सोको जानकार सामाजिक सञ्जाल व्यवस्थापन इकाइलाई दिनु पर्नेछ ।

नेपालमा कार्यालय नभएका सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले तीन महिनाभित्र कार्यालय स्थापना गर्न वा सम्पर्क व्यक्ति तोक्नु पर्नेछ । सञ्चार मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने छ ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले निर्देशिका अनुसार नेपालमा सामाजिक सञ्जालहरुले दर्ता प्रक्रियामा नआए नेपाल सरकारले बन्द गर्ने सक्ने व्यवस्था रहेको बताए ।

उनले भने, ‘अहिलेसम्म मन्त्रालयमा दर्ता भएर कुनै पनि सामाजिक सञ्जाल सञ्चालन भएको छैन । तर, आन्तरिक राजस्व कार्यालयमा १० वटा सामाजिक सञ्जाल दर्ता भएको भन्ने छ । निर्देशिका आइसकेको छ । अब त्यही निर्देशिकाअनुसार नै सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुने छन् । अहिले जहाँ दर्ता भएपनि अब निर्देशिका अनुसार दर्ता हुनुपर्ने छ ।’

नेपालमा कुन कुन सामाजिक सञ्जाल दर्ता भएका छन् ?

नेपालमा केही सामाजिक सञ्जालहरूले उद्योग विभागमा ट्रेडमार्क दर्ता गराएका छन् । नेपालमा अहिले बन्द रहेको टिकटकले सन् २०१८ मा आवेदन दिएर २०२१ मा ट्रेडमार्क दर्ता गराएको थियो । इफोमिसन टेक्नोलोजी यूकेको नाममा ट्रेडमार्क दर्ता गराएको छ ।

फेसबुकले उद्योग विभागमा सन २००८ मा ट्रेडमार्क दर्ता गरेको छ । फेसबुकइंक यूएस नामक कम्पनीले नेपालमा ट्रेडमार्क दर्ता गराएर सुरक्षित गरेको हो ।

तत्कालीन ट्वीटर अर्थात एक्स पनि नेपालमा दर्ता भएको देखिन्छ एक्सले सन् २०१५ मा दर्ता गरेको उद्योग विभागले बतायो । ट्वीटरइंक नामक कम्पनीले ट्रेडमार्क दर्ता गराएको हो । भने, युट्युबलाई सन् २००७ मा नै नेपालमा ट्रेडमार्क दर्ता गराइएको छ । नेपालमा युट्युव, फेसबुक, एक्स र टिकटकको ट्रेडमार्क दर्ता गरेको कम्पनी बाहेकको ट्रेडमार्क अधिकार रहने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर