१४ केजी सुन ल्याउने घलेलाई ‘रेकी’ गर्न दुबईमै पुगेको थियो भन्सारको टोली – Nepal Press

१४ केजी सुन ल्याउने घलेलाई ‘रेकी’ गर्न दुबईमै पुगेको थियो भन्सारको टोली

काठमाडौं । १४ केजी सुनसहित गएराति एयरपोर्टबाट पक्राउ परेका गोरखाका चन्द्र घले दुबईबाटै निगरानीमा रहेको खुलेको छ । भन्सार विभागमा सूचना आएपछि उनको रेकीका लागि एउटा टोली नै दुबई पठाइएको थियो ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सुन तस्करीको विशेष सूचना केही दिनअघि नै आएको बताए ।

उनले भने, ‘हामीलाई नेपालमा सुन तस्करी भएर आउन लागको विशेष सूचना आएको थियो । ५ दिनअघि नै इन्टेलिजेन्ट प्रयोग गरेर घलेलाई दुबईमा नै रेकी गरेका थियौं ।’

बुधबार नै नेपाल फर्किने टिकट काटेपनि घलेले त्यो जहाजमा उच्च पदस्थ कर्मचारी आउने चाल पाएपछि क्यान्सिल गरेर बसेको पौडेलले बताए ।

‘उनले सुन अरु कसैलाई देलान् भनेर नै विमानबाट नै पक्राउ गरिएको हो । भन्सारले यति ठूलो परिणाममा सुन समाएको पहिलो पटक हो’, उनले भने ।

घलेबाट बरामद सुन ।

जहाजभित्रै पनि अरुलाई सुन दिन्छन् कि भनेर आफ्नो टीमले निगरानी गरेको उनले बताए । विभागको टोलीले फोटो तथा भिडिओ खिचेर उनको हरेक गतिविधिको रेकर्डसमेत राखेको छ ।

५५ वर्षीय घले विहीबार राति फ्लाइ दुबई नेपाल आएका थिए । उनले स्टकोटजस्तो विशेष कपडा नै सिलाएर गोजी बनाइ लुकाएर ल्याएको २ केजीका दरको ७ वटा विस्कुट आकारको सुन बरामद भएको थियो ।

हेर्नुस् भिडिओ

उनी डेढ हप्ताअघि मात्र दुबई गएका थिए । एक वर्षमा ३ पटकसम्म दुबई गएको उनको ट्राभल हिस्ट्री देखिएको छ ।

त्रिभुवन भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले चन्द्र घलेले मीनबहादुर घलेका लागि सुन ल्याइदिएको बताएपछि मीनबहादुरलाई पनि विमानस्थल नजिकैबाट पक्राउ गरिएको बताए ।

उनले भने, ‘उडान नम्बर एफ जेड ५७३ बाट हिजो राति ११ बजेर ४० मिनेटमा घलेलाई पक्राउ गरिएको थियो । घले यात्रु आगमन कक्षको मेटल फ्रि मेसिनमा पस्ने बित्तिकै मेसिनले जनाउ दिएको थियो । जनाउ दिएपछि उनको साथबाट १४ किलो सुन बरामद गरियो ।’

दुबईबाट आएका घलेको साथबाट १४ केजी सुन बरामद भएको विषयमा छानबिनका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *