दुर्गा प्रसाईंको नजरबन्द र प्रहरी दमनको राप्रपाद्वारा भर्त्सना, अधिनायकवादी चरित्र देखाएको आरोप – Nepal Press

दुर्गा प्रसाईंको नजरबन्द र प्रहरी दमनको राप्रपाद्वारा भर्त्सना, अधिनायकवादी चरित्र देखाएको आरोप

काठमाडौं । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको र उनको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ । आफूलाई लोकतान्त्रिक दाबी गर्ने सरकारले अधिनायकवादी र सर्वसत्तावादी चरित्र देखाएको राप्रपाको आरोप छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले दुर्गा प्रसाईं नेतृत्वको महाअभियानमाथि प्रहरीले अनावश्यक दमन र धरपकड गरेको बताए । कुनै पनि विचार लिएर शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गर्ने अधिकारी संविधानले सुनिश्चित गरेको भन्दै उनले सरकारको कार्यशैलीको निन्दा गरेका छन् ।

‘अभियानको मुख्य नेतृत्वलाई घरमा नजरबन्द गर्ने तथा प्रदर्शनकारी पुग्नुअगावै कार्यक्रमस्थलमा सुरक्षाकर्मीले कब्जा गर्ने कार्यहरु आपत्तिजनक छन्, हामी यसको निन्दा र भर्त्सना गर्छौं,’ उनले भने, ‘गणतन्त्रले दिएको अधिकार सबै जनाले बराबरी उपभोग गर्न पाउँछन् ।’

श्रेष्ठले पक्राउ परेकाहरुलाई तुरुन्तै रिहा गर्न र पुर्वनिधारित कार्यक्रमहरु निर्वाध सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरे ।

‘हिजो त्यही ठाउँमा एउटा पार्टीको जनसंगठनले प्रदर्शन गर्दा त्यो स्वीकार्य हुने, अर्कोले गर्दा स्वीकार्य नहुने व्यवहार कहाँसम्म जायज हो ?’ उनले प्रश्न गरेका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको विरोध गरेका छन् । धरपकड र दमनले समस्याको समाधान नगर्ने भन्दै उनले सरकारले आफूलाई तत्काल सच्याउन माग गरेका छन् ।

‘शान्तिपूर्ण ढङ्गले हिंड्डुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हकविपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम हुन्’, उनले लेखेका छन् ।

राप्रपाले औपचारिक विज्ञप्ति जारी गरेर नै सरकारको कार्यशैलीप्रति विरोध जनाउने तयारी गरेको छ ।


प्रतिक्रिया

One thought on “दुर्गा प्रसाईंको नजरबन्द र प्रहरी दमनको राप्रपाद्वारा भर्त्सना, अधिनायकवादी चरित्र देखाएको आरोप

  1. क्रान्तिकारी नेपाली देशभक्त मोर्चा : आफ्नै देशको झण्डा समेत बोक्न नपाउने यो कस्तो लोक्तान्त्त्रिक गणतन्त्र हो हँ???
    एक जना व्यक्ति को लागि यतिका सुरक्ष्याकर्मी बडीगार्डको व्यवस्था गरेको, धन्य कायर सरकार?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर