सुपर लिगले फर्काउला त नेपाली फुटबलको क्रेज ? – Nepal Press

सुपर लिगले फर्काउला त नेपाली फुटबलको क्रेज ?

हेटौँडा । तपाई आजकाल काठमाडौंको मुटु मानिने सुन्धारासँगै रहेको काठमाडौं मल परिसरबाट ठिक अगाडीको खुल्ला चौर (टुँडिखेल) तिर नियाल्नुहुन्छ भने अहिले करिब आधा दर्जन जति समुहमा ‘टिनएजर्स’हरू बल ब्याट समाएर खेलिरहेको देख्नुहुन्छ । केहि समूह ठाउँ अभावमा पालो कुरिरहेको भेटिन्छन् । एक दुई समूह फुटबल पनि खेलिरहेको देखिन्छन्।

तर तपाईँले सोही ठाउँबाट केहि वर्ष पहिले टुँडिखेलमा हेर्नुभएको थियो भने अहिलेको ठिक उल्टो दृश्य देख्नुहुन्थ्यो । क्रिकेटरहरू सानो संख्यामा मैदानको कुनामा खुम्चिएर खेलेका हुन्थे भने फुटबलका दर्जन बढी समूह सक्रिय हुन्थ्यो । टुँडिखेलको जस्तै आजकल देशभरका गाउँ गाउँमा समेत फुटबलको पछि भन्दा क्रिकेट बलको पछि कुद्नेको संख्या बढेको देखिन्छ ।

अहिलेको ‘जेनेरेसन’ले फुटबल भन्दा क्रिकेटलाई फलो गर्ने गरेको पाइन्छ । यो हुनुको एउटै कारण ‘फुटबलले निरन्तर दिएको निराशाको नतिजा र क्रिकेटले दिएको सफलताको परिणाम’ हो । पछिल्लो समय नेपाल सरकार तथा प्रदेश सरकारहरूले पनि क्रिकेटले दिएको सुखद नतिजा बमोजिम फुटबल भन्दा क्रिकेट तर्फ भौतिक पूर्वाधारमा लगानीलाई बढाएको पाइन्छ ।

फुटबल भन्दा निकै पछि विकास भएको नेपाली क्रिकेटले आफूलाई विश्वव्यापी रूपमा उतारिसकेको अवस्थामा फुटबलमा भने नेपाल दक्षिण एसियामा पनि थप कमजोर बन्दै गएको छ । तर पनि नेपालीमाझ फुटबल पनि उत्तिकै प्यारो खेलकुद भने हो । नेपाली दर्शकले नेपाली सहित अन्तर्राष्ट्रिय फुटबल, क्लब फुटबललाई ठुलो संख्यामा फलो गर्ने गरेका छन् ।

विश्वका चर्चित खेलाडीहरूको फ्यान क्लब निर्माण गर्ने, सामाजिक सञ्जाल मार्फत आफू समर्थित क्लबको चर्चा परिचर्चा गर्ने चलन अहिले पनि छन् । तर नेपाली फुटबलको नियमित ‘क्यालेन्डर’ अभाव, नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले गर्ने गरेको सहिद स्मारक ए डिभिजन लिग र राष्ट्रिय लिग नियमित नहुँदा नेपाली फुटबलमा फ्यानको संख्यामा ठुलै गिरावट आएको देखिन्छ ।

‘ए डिभिजन लिग’मा हुने गरेको मिलेमतोको प्रसङ्गहरूले पनि नेपाली फुटबल क्रेजमा गिरावट आएको फुटबल विश्लेषकहरूले दाबी गर्ने गरेका छन् ।

फुटबल क्रेज निरन्तर ओरालो लागेको समयमा आगामी मंसिर ८ गते नेपालमा ‘नेपाल सुपर लिग’ को दोश्रो संस्करण सुरु हुँदैछ । यसपालि सुपर लिगमा ९ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । सुपर लिगमा यो पटक केहि यस्ता खेलाडी आउने निश्चित भएको छ जसको कारण नेपाली फुटबल फ्यानहरू उत्साहित छन् ।

युरोपमा ‘ए क्याटेगोरी’ क्लबबाट फुटबल खेलिसकेका र अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरेका खेलाडीको आगमनले मंसिर ८ बाट नेपाली फुटबलमा पुनः पुरानै क्रेज फर्कनेमा एनएसएल विश्वस्त छ । नेपाली फुटबलमा चासो दिने र अन्तर्राष्ट्रिय क्लब फुटबल नियमित हेर्ने फ्यानहरूको लागि एनएसएलमा आउने विश्व स्तरीय खेलाडी सुखद समाचार हुन् ।

स्पेनिस ला लिगा अन्तरगत बार्सिलोना एफसीका फ्यान जितेन्द्र दाहालले यो पटक एनएसएलमा आउने खेलाडीको कारण नेपाली फुटबलले राम्रो उपलब्धि गर्ने बताउँछन् । विश्व स्तरीय खेलाडी नेपालमा नै आएर खेल्दा पक्कै पनि खेल पनि स्तरीय हुने उनको विश्वास छ ।

‘क’ श्रेणी का खेलाडीको आगमन

यो पटक नेपाल सुपर लिग खेल्न स्पेनको स्पेनिस ला लिगा, फ्रान्सको लिग वन, जर्मनको बुण्डेस लिगाको साथै भारतीय सुपर लिग खेलेका अन्तर्राष्ट्रिय खेलाडी नेपाल आउनेछन् ।

फुटबलमा विश्वकप खेलिसकेका केहि देशका खेलाडीहरूको पनि आगमन हुने छ । सुपर लिगको उद्घाटन गर्न विश्व स्तरीय खेलाडी आईभरी कोष्टका ड्रिडियर ड्रोग्वा पनि नेपाल आउने आयोजकले जनाइसकेको छ ।

सुपर लिगको लागि फ्रान्सेली लिग वान खेलेका फालौ डियाना, इटलीको सिरि ‘ए’ खेलिसकेका घानाका अफ्रि अव्का, स्पेनको स्पेनिस ला लिगा खेलेका इमोह इजिकल नेपाल आउने निश्चित भैसकेको छ ।

यस बाहेक यस अघि ए डिभिजन लिगमा देखा पर्ने गरेका नाईजेरिया, इथोपिया लगायत देशका खेलाडी साथै भारतको सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका अफ्रिकन मुलुकका खेलाडीहरू पनि हुनेछन् ।

लिगको लागि भनेर केहि समय अघि अष्ट्रेलिया उडेका नेपाली चर्चित खेलाडी विमल घर्तिमगर पनि नेपाल आउने भएका छन् ।

विदेशको चर्चित लिगमा अनुभव बटुलिसकेका खेलाडीहरूसँग खेलेर यो पटक नेपाली खेलाडीहरूले पनि अन्तर्राष्ट्रिय फुटबललाई थोर बहुत बुझ्न सक्नेमा आयोजक विश्वस्त देखिएको छ भने ला लिगा, सिरि ए, लिग वानमा देखेका खेलाडी नेपाली लिगमा खेल्दा नेपाली फुटबल फ्यानको आकर्षण बढ्ने देखिएको छ ।

फुटबलमा गुमेको क्रेजलाई फिर्ता गर्नु मात्र नभएर सुपर लिगले ओरालो लाग्दै गएको नेपाली फुटबल विकासमा सहयोग गर्नेमा एन्फा पनि विश्वस्त छ । हेटौँडामा सम्पन्न एन्फा विशेष साधारण सभापछि अध्यक्ष पङ्कजविक्रम नेम्वाङले अब नेपाली फुटबलको रफ्तार नरोकिने, एन्फा तथा नीजि क्षेत्रबाट हुने लिग, सुपरलिगले ओरालो लागेको फुटबल क्रेज फिर्ता हुने प्रतिक्रिया दिएका थिए ।

नीजि क्षेत्रको लगानी रहेको नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने प्रतियोगितामा देशभरका ९ वटा क्लबले सहभागिता जनाउने छन् ।

एनएसएलको पहिलो संस्करणमा ७ टिम सहभागिता रहेकोमा यो पटक ९ वटा क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन् भने खेल काठमाडौँ र पोखरामा हुने आयोजकले जनाएको छ ।

एनएसएलको पहिलो सिजनको प्रतियोगिताको फाइनलमा धनगढीलाई हराउँदै काठमाडौं रेजर्स च्याम्पियन बनेको थियो भने यो पटकको डिफेन्डीङ च्याम्पियन काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम द मेचिबीचको खेलसँगै एनएसएलको दोस्रो संस्करण सुरु हुनेछ।

प्रतियोगिताको यस संस्करणमा काठमाडौं रेजर्स, धनगढी एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, झापा एफसी, स्पोर्टिङ इलाम दी मेची एफसी र विरगन्ज युनाइटेड एफसी गरी नौ टिम सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *