४ वर्षदेखि रोकिएको इनर्जी ड्रिंक्सको आयात खुलाउने प्रक्रिया अघि बढ्यो – Nepal Press

४ वर्षदेखि रोकिएको इनर्जी ड्रिंक्सको आयात खुलाउने प्रक्रिया अघि बढ्यो

उद्योगमन्त्री रिजाल भन्छन्- प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद् लान्छु, चोरी भएर विदेशबाट ल्याइँदा राजस्व पनि गुम्यो

काठमाडौं । ४ वर्ष अघिदेखि रोकिएको इनर्जी ड्रिंक्सको आयात प्रतिवन्ध खुलाउने प्रक्रिया अघि बढेको छ । इनर्जी ड्रिंक्सको आयात खुलाउन उद्योग मन्त्रालयका सचिव, मन्त्री हुँदै प्रधानमन्त्रीसम्म लबिङ भइरहेको छ ।

सचिव मुकुन्द निरौलाले इनर्जी ड्रिंक्सको आयात खुलाउने तयारी भएको नेपाल प्रेससँग बताए । उनले भने, ‘इनर्जी ड्रिंक्सको आयात खुलाउने तयारी छ । मन्त्रालयले काम गरिरहेको छ । फाइल उठाउने काम सुरु भएको छ ।’

उद्योगमन्त्री रमेश रिजालले पनि इनर्जी ड्रिंक्सको आयात खुलाउन लागिएको नेपाल प्रेससँग बताए ।

उनले भने, ‘चोरी भएर इनर्जी ड्रिंक्स नेपालमा आइरहेकै छ । किन इनर्जी ड्रिंक्स आयात नखुलाउने ? नेपालमा इनर्जी ड्रिंक्स उत्पादन गर्ने उद्योग खुले पनि विदेशबाट चोरी भएर नेपाल आइरहेको छ । पहिले मन्त्रिपरिषद्बाट इनर्जी ड्रिंक्स आयात रोकिएको थियो । अब मैले मन्त्रिपरिषद्मा प्रस्ताव लगोर इनर्जी ड्रिंक्स आयात खुलाउने छु । विश्व व्यापार संगठनको नियमअनुसार पनि विनाकारण वस्तु आयात रोक्न पाइँदैन । चोरी भएर आएका रेडबुल बजारमा छ्यापछ्याप्ती पाइन्छ ।’

रेडबुल नेपालमा आयात प्रतिबन्धित इनर्जी ड्रिंक्स हो । केही व्यापारीको नाउँमा बिचौलियाहरुले रेडबुललगायतका इनर्जी ड्रिंक्स आयात खुलाउन लागिपरेको आरोपसमेत छ ।

इनर्जी ड्रिंक्स विदेशबाट नेपाल ल्याएर बिक्री गर्दा धेरै नाफा हुने व्यवसायीहरु बताउँछन् । जबकि इनर्जी ड्रिंक्सको उत्पादन नेपालमै भइसकेको छ ।

उद्योग मन्त्रालयका एक कर्मचारीले भने, ‘मन्त्री र सचिव नै इनर्जी ड्रिंक्स आयात खुलाउने पक्षमा छन् । केही कर्मचारीले भने नेपालमा नै इनर्जी ड्रिंक्सको उद्योग स्थापना भएर बजारमा मागअनुसारको वितरण भएकाले आयात खुलाउन नहुने पक्षमा छन् । तर, सचिव र मन्त्रीको नै दबाब छ ।’

किन रोकिएको थियो इनर्जी ड्रिंक्स आयात ?

नेपालमा २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशन गरी इनर्जी ड्रिंक्सको आयात बन्द गरिएको थियो । सो समयभन्दा अघि खेतान समूहले नेपालमा रेडबुलको आयात गर्दै आएको थियो । अहिले पनि खेतान समूह नै इनर्जी ड्रिंक्सको आयात खुलाउन लागिरहेको छ ।

खेतान समूहको जीबी मार्केटिङले नेपालमा रेडबुल आयात गर्दै आएको थियो । जीबी मार्केटिङ गोरखा ब्रुअरीको सहायक कम्पनी हो ।

इनर्जी ड्रिंक्स उद्योगमा कति छ लगानी ?

विदेशबाट आयात रोकिएपछि नेपालमै इनर्जी ड्रिंक्स उद्योग स्थापना भए । उद्योग विभागको तथ्यांकअनुसार जुस र इनर्जी ड्रिंक्सका ७ वटा उद्योग छन् ।

१ अर्ब ५० करोड रुपैयाँ लगानीमा तेजसु प्रालि, ३० करोडको लगानीमा सुन्दर वेभरेज, २७ करोडको लगानीमा क्रिस्टल वेभरेज प्रालि, २४ करोडको लगानीमा सीजी फुड्स् नेपाल प्रालि, २१ करोडको लगानीमा सूर्य फुड एन्ड वेभरेज प्रालि, १ अर्ब रुपैयाँ लगानीमा साउथ एसियन वेभरेज प्रालि र २ अर्ब लगानीमा सरस वेभरेज प्रालि सञ्चालनमा रहेको विभागले जनाएको छ ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले इनर्जी ड्रिंक्सको आयातमा रोक लगाएका थिए । व्यापार घाटा न्यूनीकरण राष्ट्रिय कार्ययोजनाअनुसार सरकारले २०७६ मा राजपत्रमा सूचना जारी गर्दै इनर्जी ड्रिंक्सको आयातमा प्रतिबन्ध लगाएको थियो ।

आयात बन्द भएपछि स्वदेशमा उद्योग खोल्ने र क्षमता अभिवृद्धि बढेको तथ्यांकले देखाउँछ । वर्षमा २ अर्बभन्दा बढीको जुस तथा इनर्जी ड्रिंक्स आयात भइरहेको बेला तत्कालीन सरकारले रोकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *