मैदानमा विष्फोटक कुशल पत्रकारसँग लजालु : ‘फिनिस’ गर्न नसकेकोमा आफैँसँग असन्तोष – Nepal Press

मैदानमा विष्फोटक कुशल पत्रकारसँग लजालु : ‘फिनिस’ गर्न नसकेकोमा आफैँसँग असन्तोष

दीपेन्द्रको विषयमा सन्दीपले भने– चोट अलि गम्भीर भएकाले एक डेढ महिना आराम चाहिन सक्छ

काठमाडौं । फेरि एक पटक विष्फोटक ङनिङ खेल्दै कुशल मल्ले नेपाललाई टी-२० विश्वकपको क्वालिफायरमा पुर्‍याउन मद्दत गरे । मलेसियाविरुद्धको खेलमा ३४ बलमा ७ छक्कासहित ६५ रन हान्दै उनी दिमाग खराब म्यान अफ द म्याचसमेत बने ।

कुशल नेपालका यस्ता ब्याट्सम्यान हुन्, जो क्रिजमा आएपछि हरेक नेपाली दर्शकको मुटुको धड्कन बढ्ने गर्छ । कारण उनी पहिलो बलबाटै हिटिङ सुरु गर्न हिचकिचाउँदैनन् । क्रिजमा अलिबेर टिके भने विपक्षी टिमको हातबाट म्याच फुत्किइसकेको हुन्छ । आज ठिक त्यही भयो । आफूले सामना गरेको तेस्रो बलमा चौका र चौथो बलमा छक्का हानेका कुशल त्यसपछि रोकिएनन् । रोकिने मुडमै थिएनन् । हरेक बलमा ठूलो सट खेल्ने प्रयास गर्दा उनी पटक–पटक बिट पनि भए । यद्यपि, कुशलको यो इनिङले नै नेपाललाई सहज जित दिलायो ।

मध्य क्रममा दीपेन्द्रसिंह ऐरीको अनुपस्थितिका कारण नेपालको ब्याटिङमा रिक्तता महसुस भइरहेको थियो । तर, कुशलको विष्फोटक इनिङले दीपेन्द्रको अभाव खट्किन पाएन । अर्का कुशल (भुर्तेल) ले दिलाएको आक्रामक सुरुवातलाई उनी आउट भएपछि मल्लले अघि बढाएका थिए । मलेसियाले कुशल मल्लको विकेट लिँदासम्म खेलको नतिजा नेपालको पोल्टामा लगभग आइसकेको थियो ।

मैदानमा सधैँ विष्फोटक अवतारमा प्रस्तुत हुने कुशल मैदानबाहिर भने साह्रै नरम र लजालु छन् । उनी निकै कम बोल्छन् । पत्रकारलाई उनको मुखबाट लामो जवाफ निकाल्न हम्मे पर्छ ।

आजको पोस्ट म्याचमा पत्रकारको सामना गर्न बसेका थिए सन्दीप लामिछाने र कुशल । उत्कृष्ट ब्याटिङ गरेकाले पत्रकारको धेरै सवाल कुशलप्रति थिए । तर, उनीबाट जवाफ निकाल्न सहज थिएन । पत्रकारको प्रश्नभन्दा छोटा जवाफ दिएर उम्किए कुशल ।

पत्रकारले सुरु गरे– बधाई छ, कुशल । आजको खेलको बारेमा बताइदिनुस् न । कुशलले सानो स्वरमा केही फुस्फुसाए । पत्रकारले केही पनि बुझेनन् । ‘ला… सुन्दै सुनिएन, अलि ठूलो स्वरमा बोल्नुपर्‍यो’ एक पत्रकारले भनिन् । छेउमा बसेका सन्दीपले पनि अलि लाउड बोल्न सल्लाह दिए ।

त्यसपछि कुशलले स्वरको भल्युम ह्वात्तै बढाएर भने, ‘फिनिस गर्नपर्ने फिनिस गरेन…’ । आफ्नो ठूलो आवाजले उनी आफैँ हाँसे । फेरि भ्वाइस एडजस्ट गर्दै भने, ‘आज चैँ अलि चाँडो ब्याटिङ चान्स आयो । जे होस, फिनिस गर्नुपर्ने, त्यो चाहिँ भएन । अरू ठिकै भयो भनम् ।’

(कुशलको आशय अन्त्यसम्म आफू टिक्नुपर्थ्यो भन्ने थियो)

पत्रकारको दोस्रो प्रश्न– सुरुमै लेफ्ट आर्म स्पिनरलाई अट्याक गर्नुभयो । आफ्नो पर्फमेन्सका बारेमा कत्तिको कन्फिडेन्स हुनुहुन्थ्यो एसियन गेम्स पछाडि ?

कुशल– सानो इन्डमा थ्यो लेफ्ट आर्मले बल फालिराको, त्यही भएर मैले टार्गेट गरेको ।

पत्रकार: आज पावर प्लेमा बलिङ गर्ने पनि जिम्मेवारी आएको थियो तपाईँलाई । ललित र दीपेन्द्रको अनुपस्थितिले अलिकति प्रेसर पनि थियो । कस्तो महसुस गर्नुभयो ?

कुशल: त्यही नै हो, बलिङ ठाउँमा फाल्ने हो, राम्रो भए हुन्छ, नभए हुँदैन (हाँस्दै) ।

पत्रकार: टी–२० वर्ल्ड कप खेलिरहेका छौँ । यो नेपालका लागि कत्तिको महत्त्वपूर्ण छ जस्तो लाग्छ ?

कुशल: हामी २०१४ को वर्ल्डकप हेरेर नै स्टार्ट गरेको खेल्न । मेरो लागि त एकदमै इपोर्टेन्ट छ ।

पत्रकार– हामी अब विश्वकपबाट एक खेल मात्र टाढा छौँ । विश्वकपमा पुगेको क्षण कस्तो महसुस होला ?

कुशल: त्यो त (सेमिफाइनल) जितेपछि थाहा होला (हाँसो) ।

पत्रकार: तपाईँले जब छक्का हान्नुहुन्छ, संसारको कुनै पनि ग्राउन्ड तपाईँको लागि ठूलो हुँदैन । त्यो पावर कहाँबाट जेनरेट हुन्छ ? ह्वेर डज द्याट पावर कम फ्रम ?

कुशल: अब रन लाग्यो भने जुनसुकै ग्राउन्ड सानो हुन्छ, रन लागेन भने जति सानो ग्राउन्ड पनि ठूलो हुन्छ ।

पत्रकारले कुशलसँगको संवादलाई यहाँभन्दा बढी तन्काउन सकेनन् । त्यसपछि उनीहरू मोडिए सन्दीपतिर । सन्दीपले आज किफायती बलिङ गर्दै महत्त्वपूर्ण एक विकेट लिएका थिए । मिडियाको सामना गर्न अभ्यस्त उनले पत्रकारले चाहेजस्तो विवरणात्मक जवाफ दिए ।

प्लेइङ ११ मा आफू एक जना मात्र विशेषज्ञ स्पिनर भएकाले अलिकति प्रेसर फिल भएको सन्दीपले खुलाए ।

‘अहिले मेन स्पिनर म मात्रै छु, स्पिनर । त्यसैले डिफेन्सीभ पनि हुनुपर्छ र सँगसँगै अट्याक पनि गर्नुपर्ने हुन्छ । विकेटका लागि आफैँले वातावरण बनाउनु पर्छ । स्पिनरका लागि विकेट हेल्पफुल छैन । म परिस्थितिअनुसार बल फ्याँक्ने प्रयास गर्छु,’ उनले भने ।

उनले सेमिफाइनलमा जितेर नेपालले विश्वकपमा स्थान बनाउने विश्वास व्यक्त गरे ।

अहिले हामीसँग जुन टिम छ, मलाई लाग्छ कि कुनै पनि अपोनेन्टलाई सजिलो हुँदैन हामीलाई हराउन । सबैजना राम्रो टचमा छौँ । पहिलेदेखि ब्याटिङमा समस्या थियो, त्यो अहिले छैन । हाम्रो ब्याटिङ डिप छ । सबैले चाहिएको बेला पर्फम गरिरहेका छन् । आजको गेममा हामी कहिल्यै पछाडि थिएनौँ,’ उनले बयान गरे ।

सन्दीपलाई दीपेन्द्रको अवस्थाको विषयमा पनि सोधिएको थियो । उनले दीपेन्द्रको अनुपस्थिति खेलमा महसुस हुने बताए ।

लामो समयदेखि हाम्रो टी–२० को महत्त्वपूर्ण खेलाडी हो । उसको कमी महसुस हुने छ । तर, हामी भरपुर प्रयास गर्नेछौँ । ले वर्ल्डकपसम्म पुग्यौँ भने दिप्पीलाई पनि त्यो एउटा गिफ्ट हुनेछ । उसलाई अलिकति गम्भीर चोट लागेको छ । मैले सुनेसम्म एक–डेढ महिना उसलाई रिकभरि गर्न लाग्छ । हामीले कामना गरिरहेका छौँ कि उ चाँडै मैदानमा फर्कियोस्,’ सन्दीपले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *