मानव बेचबिखनविरुद्ध सरकारलाई जिम्मेवार बनाउन मिडियाको भूमिका महत्वपूर्ण – Nepal Press

मानव बेचबिखनविरुद्ध सरकारलाई जिम्मेवार बनाउन मिडियाको भूमिका महत्वपूर्ण

काठमाडौं । मानव बेचबिखनः शैली र स्वरुप परिवर्तन भएपनि अवस्था उस्तै रहेको सरोकारवालाहरुले बताएका छन् ।
शक्ति समूहको आयोजना र मुक्ति साउथ एसिया तथा एक्प्याक्ट लक्जेम्बर्गको सहयोगमा काठमाडौंमा भएको मानव बेचबिखन न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यशालामा सरोकारवालाहरूले सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शक्ति समूहकी संस्थापक सदस्य तथा मानव बेचबिखनविरुद्धकी अन्तर्राष्ट्रिय अभियन्ता चरिमाया तामाङले मानव बेचविखन सभ्यताकै कलंक भएको बताइन् ।

तामाङले स्वरूपमा परिवर्तन भएर मानव बेचबिखन भइरहेको बताइन् । अहिलेको परिवर्तित सन्दर्भमा पनि मानव बेचबिखन भइरहेको भन्दै पहिले अशिक्षाको कारण बालिका र महिलाहरू बेचबिखनमा पर्ने गरेको भए पनि अहिले भने पढेलेखेका महिलासँगै पुरुषहरूसमेत बेचबिखनको शिकार हुन थालेको उनले बताइन् ।

शिक्षा, रोजगारी र विवाहको प्रलोभनमा बेचबिखन बढेको भन्दै उनले पहिले अशिक्षित महिला तथा बालबालिका बेचिने गरेकोमा अहिले शिक्षित नै परेको बताइन् । आधुनिक दासताको जड गरिबी भन्दै उनले दासता उन्मुलन र गरिबी उन्मुलनलाई सँगसँगै लानुपर्ने बताइन् ।

मानव बेचबिखन आधुनिक दासताको एउटा पाटो अर्थात सभ्यताकै कलंक रहेको भन्दै तामाङले सामुदायिक परिचालन समुदायले नै गर्नेपर्ने र गरिबीविरुद्ध पनि लड्नुपर्नेमा जोड दिइन् ।

विकसित समाजसँगै मानव बेचबिखनका शैली र गन्तव्य फेरिएको उनको भनाइ थियो । तामाङले अहिले पनि रोजगारी लगायतका नाममा मानव बेचबिखन भइरहेको र पहिलेको भन्दा यसको स्वरूपमा परिवर्तन आएको भन्दै सामाजिक संजालको बढ्दो प्रयोगले पनि बेचबिखन रोकथाममा चुनौती थपेको बताईन् ।

बेचिएका सय जनाको उद्धार हुँदा १० जना मात्र नेपाल फर्काउन सफल हुने गरेको उदाहरण पेश गर्दै तामाङले सहयोग केन्द्रमा होल्ड गरिएकाहरु आत्महत्या गर्ने, अर्को ठाउँमा पुनः बेचबिखनको शिकारमा पर्ने गरेको भन्दै यस सम्बन्धमा आमसञ्चार मानव अधिकार र गैरसरकारी संघ संस्थाहरुको जतिको सहयोग सरकारको नभएको भन्दै सोचे जति उद्धार र पुनःस्थापनामा समस्या भएको तामाङले बताइन् ।

नेपाल सरकारको नीतिगत अस्पष्टताका कारण मानव बेचबिखन र न्यूनीकरणमा समस्या भएको भन्दै आफूहरु बेचबिखनमा परेर स्वदेश फर्किँदाको अवस्था र यो बीचको करिब ३ दशकको अवधिमा नेपाली समाजमा केही परिवर्तन देखिएपनि मानव बेचबिखनलाई निर्मूल गर्न अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।

उनले एकाध घटनाबाहेक बेचबिखन प्रभावितलाई पुनः स्थापित गर्न नेपाली मिडियाले खेलेको भूमिका प्रशंसायोग्य रहेको भन्दै आम संचार क्षेत्रमा पनि पिडितको गोपनियता र सुरक्षाको सबाललाई ध्यान दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले नेपालमा मानव बेचिबिखनको पछिल्लो अवस्थाबारे जानकारी गराइन् । अहिले पनि गरीबी र पारिवारिक विखण्डनका कारण बेचबिखन हुनेका संख्या आधा भन्दा बढी रहेको तथ्यांक प्रस्तुत गर्दै उनले मानव बेचबिखनलाई निर्मूल गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताईन् ।

उनले २०६४ मा दर्ता भएका मानव बेचविखनविरुद्धको मुद्दा २०७२ सालमा फैसला भएको भन्दै यस्ता मुद्दा अहिलेसम्म १ सय वटा अदालतमा दर्ता भएकोमा १४ वटाको मात्र फैसला भएको तथ्यांक पेश गरिन् ।

यस्ता ८६ मुद्दा अझै अदालतमा विचाराधीन रहेको उनको तथ्याङकमा उल्लेख छ । ‘बल्ल-बल्ल अपराधिलाई सजायको दायरामा ल्याइन्छ तर नाटकीय पाराको कानूनी कार्यान्वयन छ । कहिले कहाँ छोडिन्छ’, उनले भनिन् ।

पीडितहरुले सामाजिक लाञ्छना तथा वहिष्कार खेप्नुपर्ने र उक्त व्यवहारले मनोबल गिराउने काम भएको छ । परिवारले नै बोझको रूपमा लिने गरेको छ भने रोजगारको अवसर नपाउने अवस्था रहेको उनको भनाई छ ।

कार्यक्रममा नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलले मानव बेचखिनविरुद्धको अभियानमा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बेचबिखनमा महिला र बालबालिका मात्र नभएर पुरुषहरू पनि पर्ने गरेको बताए ।

‘मानवबेचबिखनको शैली र गन्तव्य फेरिएको छ, तर बेचबिखन भने उस्तै छ । युक्रेन–रूसी युद्धका कारण अहिले नेपाली दाजुभाईहरुको ज्यान गएको छ । पैसाको प्रलोभनमा लगेर उनिहरुको ज्यान जानु पनि अहिलेको फेरिएको नयाँ तरिकाको फरक मानववेचविखन हो’, उनले भने ।

मुक्ति साउथ एशियाले शक्ति समूहसहित नेपाल भारत र बंगलादेश मानव बेचबिखनको स्रोत देश गन्तव्यको रुपमा रहेको भन्दै यी तीनैवटा देशमा संयुक्त अभियान सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *