कांग्रेस बैठक- गृहमन्त्रीको राजीनामाको पक्षमा उभिन दबाब, सभामुखको आलोचनादेखि सिरोहियाको बचाउसम्म – Nepal Press

कांग्रेस बैठक- गृहमन्त्रीको राजीनामाको पक्षमा उभिन दबाब, सभामुखको आलोचनादेखि सिरोहियाको बचाउसम्म

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र सभामुख देवराज घिमिरेको चर्को आलोचना भएको छ । पार्टी मुख्यालय सानेपामा बसेको संयुक्त बैठकमा नेताहरुले गृहमन्त्री लामिछाने र सभामुख घिमिरेविरुद्ध खनिएका हुन् ।

त्यस्तै, बैठकले गृहमन्त्री रवि लामिछाने र सहकारी प्रकरणविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । जेठ १३ गते काठमाडाैंकाे प्रदर्शनी मार्गमा विराेध प्रदर्शन गरिने महतले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको नाम आएको बताउँदै संसदीय छानबिनको अडान कायमै रहेको बताए ।

त्यस्तै, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोध जनाउँदै प्रदर्शन गर्ने बैठकले निर्णय गरेको बताए ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले निरन्तर संसदीय छानविन समितिको माग गर्दै आइरहेको छ । सरकार पनि समिति बनाउन सहमत भएपनि टिओआरमा कुरा मिल्न सकेको छैन ।

कांग्रेसले टिओआरमा रवि लामिछानेको नाम नै उल्लेख गर्नुपर्ने अडान राख्दै आइरहेको छ । तर, सत्तापक्ष सबै सहकारीको समस्या समाधान गर्नेगरी अगाडि बढ्नुपर्ने पक्षमा छ ।

सहकारी प्रकरण पेचिलो हुँदैजाँदा सत्तापक्षकै आडमा सभामुख घिमिरेले बहुमतको आधारमा पेलेरै सदन चलाएपछि थप रणनीति बनाउन आज संयुक्त बैठक राखेको हो । कांग्रेसले सहकारी पीडितको रकम फिर्ता गराउनको लागि सदन मात्रै नभइ अब सडक पनि तताउने भएको छ ।

सहकारी पीडितको रकम फिर्ता गराउन कांग्रेसले शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा पनि केन्द्रीय प्रतिनिधि खटाइने बताए । काठमाडौं केन्द्रितमात्रै नभइ पार्टीले स्थानीय तहसम्म आन्दोलन गर्ने तयारी गरिरहेको सुनाए ।

उनले भने, ‘७५ हजार सहकारी पीडितको बचत फिर्ता गराउन कांग्रेसले सदन र सडक दुवै ठाउँबाट आवाज उठाउँछ । संघमा मात्रै होइन प्रदेशमा पनि कांग्रेसले यो विषयलाई सशक्त रुपमा उठाउँछ । सहकारी पालिकास्तरमा पनि दर्ता भएको अवस्था छ । यो तीनै ठाउँबाट नियमन हुने अवस्था भएकाले तीनै तहमा पार्टींका संरचनामात्रै नभइ सहकारीमा आबद्ध आमनागरिकको बचतको सुरक्षा गर्न कांग्रेस लाग्छ ।’

उनले गृहमन्त्री नैतिकताको आधारमा अब पदमा बस्न नमिल्ने तर्क गरे । उनले गृहमन्त्रीसहित प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत चर्को आलोचना गरे ।

उनले थपे, ‘यो केसमा गृहमन्त्री आफैं संलग्न भएको कुरा आइरहेका छन्। यस्ता अवस्थामा कुन नैतिकताको आधारमा कारबाही प्रक्रिया अगाडि बढाउनसक्छ। नैतिक रुपमा स्खलित भएका छन्। अहिले सहकारीको विषय आएपछि डरको साम्राज्य खडा गरेर मिडिया व्यवस्थापनमा लागेका छन् ।’

अर्का केन्द्रीय सदस्य नैनसिंह महरले गृहमन्त्री लामिछानेले अब राजीनामा दिनुपर्ने माग गरे । उनले भने, ‘उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि त अब छानबिन गर्ने मात्रै होइन, उनको राजीनामा ढिला भइसकेको छ ।’

कांग्रेस बैठकमा गृहमन्त्री लामिछानेले प्रतिशोध राखेरै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको दाबी गरेका छन् । नागरिकता किर्ते प्रकरणमा पक्राउ परेको सिरोहियाको बचाउमा कांग्रेसले खुलेरै लागेको छ ।

नेता महरले सरकारले प्रतिसोध साँधेर सिरोहियामाथि धरपकड गरेको भन्दै आपत्ति जनाए । उनले सदनमा भूमिका शशक्त बढाउँदै सडकमा निस्किन कांग्रेसले ढिला गर्न नहुने बताए । उनले गृहमन्त्रीले कांग्रेसका नेताहरूमाथि प्रश्न उठाएपछि बैठकबाट सबै आरोपको छानविनको लागि खुला रहेको निर्णय गर्न सक्नुपर्ने बताए ।

कांग्रेस सांसद सांसद चन्दा चौधरीले सिरोहिया पक्राउ घटनालाई निन्दनीय र प्रतिशोधपूर्ण भएको दाबी गरिन्। उनले भनिन्, गृहमन्त्रीले एक दिनको लागि भएपनि उहाँलाई थुन्छु भन्नुभएको थियो । नागरिकताको विषयमा गल्तीभन्दा पनि प्रतिशोध धेरै देखियो । त्यो स्वीकार्य छैन ।’

सांसद चौधरीले सदन सञ्चालनको बिषयमा सभामुख घिमिरेको भूमिका पनि सन्तोषजनक नभएकोबारे छलफल भएको बताइन् । उनले अब गृहमन्त्रीमाथि छानविन गर्नको लागि समिति नभइ राजीनामाकै बटमलाइन बनाएर जाने भन्नेबारे छलफल भइरहेको बताइन् ।

कांग्रेसकी नेतृ डिला संग्रौलाले गृहमन्त्री लामिछानेले आइतबार सदनमा दिएको अभिव्यक्तिप्रति आक्रोश पोखिन् ।

उनले भनिन्, ‘गृहमन्त्रीको जुन अभिव्यक्ति आयो त्यसको हामीले निन्दा गरेका छौं । हिंस्रक भनेपछि संसदभित्र अमर्यादित शब्द बोल्न पाइँदैन । दशी प्रमाण आयो भनेमात्रै यथार्थ कुरा बोल्न पाइन्छ । सत्ता सरकारको हुन्छ सदन प्रतिपक्षको हुन्छ ।

कांग्रेसले सहकारी प्रकरण मात्रै नभएर अब गिरिबन्धुको जग्गा प्रकरणको विषयलाई पनि कडारुपमा उठाउने जिकिर गरिन् ।

नेतृत्वको आलोचना

बैठकमा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासहित सिंगो नेतृत्वको चर्को आलोचना गरेको छ । केन्द्रीय सदस्य महरले पार्टी नेतृत्वले पछिल्लो समय राम्रोसँग काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘केपी ओलीले संसद विघटन गरेदेखि नै आजसम्म कांग्रेसको नेतृत्वको ५÷६ जना पदाधिकारीहरूले नेतृत्व गर्नुभएको छ। उहाँहरूको ड्राइभले कांग्रेसलाई ठीक ठाउँमा पुर्याउन सकेको छैन। यो विषयमा समीक्षा हुनुपर्छ। जुन गतिमा कांग्रेसले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो भन्दा नाजुक हुँदैछ ।’

पार्टी सभापति शेरबहादुर देउवा मात्रै नभइ पार्टीका सबै पदाधिकारी जिम्मेवारीबाट चुकेको आरोप लगाए ।

उनले थपे, ‘सभापति मात्रै होइन, सबै नेतृत्व चुक्नुभएको छ । अहिले पनि उहाँहरूले माथिमाबाट प्रस्ताव ल्याउनुभएको छ । गठबन्धन गर्ने बेलामा पनि त्यसरी नै प्रस्ताव आएको थियो । हामीले ताली बजाएका हौं । सहभागीतामूलक निर्णय प्रक्रियामा जानुपर्यो संसदमा पनि भूमिका बढाउनुपर्यो ।’

बैठकपछि बोल्दै अर्का कांग्रेस केन्द्रीय सदस्य कुन्दन काफ्लेले पनि पार्टीले अवसर पाउँदा पार्टीका ठुला ५ नेता बसेर निर्णय गर्ने तर अफ्ठेरो पर्दा सबैलाई किन बोलाउने भन्ने आक्रोश पोखे ।

उनले भने, ‘पार्टीका भ्रातृ सङ्गठनमा खल्तीका मान्छे हाल्दा सङ्गठन कहाँ छ ? भनेर सोध्नुपर्ने अवस्था आएको छ । यसमा गल्ती भयो भनेर सम्बन्धित नेताहरूले माफी माग्नुपर्छ ।’


प्रतिक्रिया

One thought on “कांग्रेस बैठक- गृहमन्त्रीको राजीनामाको पक्षमा उभिन दबाब, सभामुखको आलोचनादेखि सिरोहियाको बचाउसम्म

  1. काँग्रेस अब भ्रष्टाचारी र लुटेराहरूको क्लवमा रूपान्तरण भैसक्यो । यसलाई अब ८४ पछि निमिट्यान्न पारौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर