काठमाडौं र पश्चिमी भेगमा कहिलेदेखि पर्छ पानी ? यस्तो छ मौसमविद्को अनुमान – Nepal Press

काठमाडौं र पश्चिमी भेगमा कहिलेदेखि पर्छ पानी ? यस्तो छ मौसमविद्को अनुमान

काठमाडौं । मनसुन भित्रिएसँगै राहतको आशमा रहेका नागरिक उखरमाउलो गर्मीले झन् आजित बनेका छन् ।

आज सबैभन्दा बढी नेपालगञ्जमा ४३.२ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो धनगढीमा ४२.७, दिपायलमा ४१.६, वीरेन्द्रनगरमा ४०.९, भैरहवामा ३८.९ र घोराहीमा ३८.२ अधिकतम तापक्रम थियो । काठमाडौंको तापक्रम ३३.४ डिग्री मापन गरिएको छ । सबैभन्दा कम ताप्लेजुङमा २३.३ डिग्री सेल्सियस तापक्रम थियो ।

आज सबैभन्दा बढी धरानमा २७.१ मिलिमिटर वर्षात् भएको छ । विराटनगर, ओखलढुंगा, ताप्लेजुङलगायतका क्षेत्रमा पानी परेकाले झापा, मोरङलगायत आसपासको क्षेत्रमा केही राहत महसुस भएको स्थानीयले बताएका छन् ।

देशको पूर्वी क्षेत्रमा मनसुन प्रणालीको प्रभाव रहेपनि अन्य भेगमा स्थानीय र पश्चिमी वायु सँगै भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको कमजोर प्रभावका कारण मनसुन सक्रिय हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सरोज पुडासैनीका अनुसार हावाको बहाव क्रमशः पश्चिमतिर बढ्न थालेसँगै काठमाडौंलगायत अन्य भागमा मनसुनी प्रभाव पर्नेछ ।

’अहिलेसम्मको अवस्थामा भोलि बेलुका नै काठमाडौंमा पानी पर्ने त देखिन्छ । तर, पर्सि (आइतबार) बिहानबाट भने यता वर्षात्को सम्भावना धेरै छ’, पुडासैनीले नेपाल प्रेससँग भने ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यो वर्ष ३ दिन छिटो गरी जेठ २८ गते कोशी प्रदेशको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर