सात प्रदेश: कुन कति धनी ? – Nepal Press

सात प्रदेश: कुन कति धनी ?

काठमाडौं । नेपालका सात प्रदेशमा सबैभन्दा धनी बागमती देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रदेशगत कुल गार्हस्थ उत्पादन (जीडीपी)को आकार यही प्रदेशको बढी देखिन्छ ।

बागमतीको अर्थतन्त्रको आकार चालू वर्ष २० खर्ब ७५ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । गत वर्षभन्दा झण्डै २ खर्बले अर्थतन्त्रको आकार बढ्ने प्रक्षेपण तथ्यांक कार्यालयले गरेको हो ।

सबैभन्दा सानो अर्थतन्त्रको भएको प्रदेश भने कर्णाली रहेको छ । कर्णालीको अर्थतन्त्रको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ हुने अनुमान तथ्यांक कार्यालयले गरेको छ ।

अर्थतन्त्रको आकारमा मात्र होइन प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनमा पनि बागमती पहिलो स्थानमा छ । मधेश भने पुछारमा पर्ने प्रारम्भिक अनुमान छ ।

चालू आव २०८०/८१ मा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलरमा बागमतीको २४८४, गण्डकीको १५५७, कोशीको १३३६, लुम्बिनीको ११५९, सुदूरपश्चिमको ११११, कर्णालीको १०६६ र मधेश प्रदेशको ८९२ हुने प्रारम्भिक अनुमान गरिएको छ ।

राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन अमेरिकी डलरमा १४३४ हुने प्रारम्भिक अनुमान गरिएको छ । यस हिसाबले बागमती र गण्डकीबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन राष्ट्रिय औसतभन्दा तल रहेको देखिन्छ ।

कुन प्रदेशको अर्थतन्त्र कत्रो ?

बागमती

सबैभन्दा ठूलो अर्थतन्त्र भएको बागमतीको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब २० खर्ब ७५ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान छ । गत वर्ष करिब १९ खर्ब ३८ अर्ब रहने संशोधित अनुमान गरिएको थियो ।चालू आवमा बागमतीले राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा ३६.३६ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान छ ।

यसैगरी बागमतीको कुल गार्हस्थ उत्पादनको वृद्धिदर चालू आवमा ३.९६ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

कोशी

कोशीको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा चालू आवका लागि करिब ९ खर्ब ३ अर्ब हुने प्रारम्भिक अनुमान छ । गत आवमा करिब ८ खर्ब ४९ अर्ब रहने संशोधित अनुमान थियो । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा १५.८४ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान गरिएको छ ।

यस प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदर चालू आवमा ३.५१ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

मधेश

मधेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा चालू आवका लागि करिब ७ खर्ब ४८ अर्ब हुने प्रारम्भिक अनुमान छ । गत आवमा करिब ७ खर्ब ३ अर्ब रुपैयाँ रहने संशोधितअनुमान गरिएको थियो ।

चालू आवमा मधेशले राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा १३.१२ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी मधेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदर चालू आवमा ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

गण्डकी

गण्डकीको अर्थतन्त्रको आकार चालू आवका लागि करिब ५ खर्ब १७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आवमा करिब ४ खर्ब ८४ अर्ब रहने संशोधित अनुमान छ । चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा ९.०६ प्रतिशत योगदान पुर्‍याउने अनुमान छ ।

गण्डकीको कुल गार्हस्थ उत्पादनको वृद्धिदर चालू आवमा ४.५५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

लुम्बिनी

लुम्बिनीको अर्थतन्त्रको आकार चालू आवका लागि करिब ८ खर्ब १४ अर्ब रुपैयाँ हुने अनुमान छ । गत आवमा करिब ७ खर्ब ६४ अर्ब रहने संशोधित अनुमान छ ।

चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा १४.२६ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान छ । गत आवमा यस प्रदेशले १४.२९ प्रतिशत योगदान पुर्‍याउने संशोधित अनुमान थियो ।

त्यसैगरी लुम्बिनीको कुल गार्हस्थ उत्पादनको वृद्धिदर चालू आवमा ४.०५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

कर्णाली

कर्णाली प्रदेशको कुल गार्हस्थ उत्पादन चालू आर्थिक वर्षका लागि करिब २ खर्ब ४४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आवमा करिब २ खर्ब २९ अर्ब रहने संशोधित अनुमान छ ।

चालू आवमा कर्णालीले राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा ४.२८ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान छ । गत आवमा पनि यस प्रदेशले ४.२८ प्रतिशत नै योगदान पुर्‍याउने संशोधित अनुमान रहेको छ ।

त्यसैगरी यस प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदर चालू आवमा ३.३९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन ४ खर्ब ४ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान छ । गत आवमा भने करिब ३ खर्ब ८१ अर्ब रहने संशोधित अनुमान छ ।

चालू आवमा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा ७.०९ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान छ । गत आवमा सुदूरपश्चिमले ७.१३ प्रतिशत योगदान पुर्‍याउने संशोधित अनुमान थियो ।

त्यसैगरी सुदूरपश्चिमको कुल गार्हस्थ उत्पादनको वृद्धिदर चालू आवमा ३.४१ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *