कालापत्थरमा नृत्य गर्दै सुरेन्द्र र सुसनद्वारा गिनिज बुकमा दावेदारी – Nepal Press

कालापत्थरमा नृत्य गर्दै सुरेन्द्र र सुसनद्वारा गिनिज बुकमा दावेदारी

काठमाडौं । कोरियोग्राफरद्वय सुरेन्द्र राई र सुसन तामाङले सोलुखुम्बुको कालापत्थरमा हालैमात्र सर्वाधिक उचाईमा कोरियोग्राफी(नृत्य) गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि उनीहरुले गत आइतबार ५ हजार ४ सय ३८ मिटरको उचाईमा जोडी नृत्य गरेका हुन् ।

उनीहरुले जेठ महिनाको ६ गते आइतबार ५ हजार ४३८ मिटरको उचाइमा दीपक बज्राचार्यको गीत ‘मन मगन’मा २ मिनेट ३० सेकेन्डसम्म नृत्य गरेका थिए । उनीहरुको टोलीमा फोटोग्राफर सौगात कार्की र भिडियोग्राफरद्वय उमेश सापकोटा तथा सोनम केसी थिए ।

आठ हजार मिटरका पाँच हिमाल दुई पटक आरोहरण गरेर गिनिज वल्र्ड रेकर्डर बनेका सानु शेर्पा विशेष अतिथीका रुपमा सुरेन्द्र र सुसनको नृत्यको साक्षी बनेका थिए ।

खराब मौसमको बाबजुद पनि २०–२५ जना दर्शकको उपस्थितिमा उनीहरुले आधिकारिक गिनिज वल्र्ड रेकर्डको लागि नृत्य गरेका थिए ।

सुरेन्द्र र सुसनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा कार्यक्रम गरेका हुन् । गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा उनीहरुले कार्यक्रम गरेका थिए ।

सुरेन्द्र र सुसनका अनुसार कार्यक्रमको छायांकनका प्रमाण र अन्य प्रमाणहरु गिनिजको लण्डन मुख्यालयमा पठाइनेछ । त्यो प्रमाण स्वीकृत भएपछि गिनिज हेडक्वार्टरले रेकर्डको आधिकारिक घोषणा गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *