‘पूर्ण खोप सुनिश्चित’ नगर घोषणातर्फ चाँगुनारायण नपा, साढे ४ हजार बालबालिकालाई दिइँदै पोलियोविरुद्ध खोप – Nepal Press

‘पूर्ण खोप सुनिश्चित’ नगर घोषणातर्फ चाँगुनारायण नपा, साढे ४ हजार बालबालिकालाई दिइँदै पोलियोविरुद्ध खोप

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफूलाई ‘पूर्ण खोप सुनिश्चित’ नगर घोषणा गर्ने तयारी गरेको छ ।

चाँगुनारायणका मेयर जीवन खत्रीले नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न वडा-वडामा तयारी तीव्र पारिएको बताए । उनले नगरका कुनै पनि बालबालिका पाउनुपर्ने सम्पूर्ण खोपबाट वञ्चित नभएको भए पनि त्यो सुनिश्चित गर्ने कार्य भइरहेको बताए ।

पोलियोविरुद्ध नगरपालिकामा यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने आईभीपी खोप अभियानको बुधबार भएको नगरस्तरीय खोप समन्वय समितिको बैठकमा मेयर खत्रीले सुरुमा नगरका ९ वटै वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिने बताए ।

‘सबै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि सिंगो नगरलाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्छौं’, उनले भने, ‘खोपसँगै नगर क्षेत्रका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नभएको सुनिश्चित गर्ने नपाको उद्देश्य रहेको छ ।’

उनले नगरको स्वास्थ्य र शिक्षा शाखालाई समन्वय गरी घरघरमा खोप तथा शिक्षा अभियान पुर्‍याउन आग्रह गरे ।

बैठकमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख अस्मिता ओझाले दादुरा रुबेला खोप अभियानमा चाँगुनारायण जिल्ला उत्कृष्ट हुँदा भक्तपुर बागमतीमा पहिलो भएको बताइन् ।

उनले पोलियोविरुद्धको खोप अभियानमा पनि उत्कृष्ट नतिजा निकाल्न आग्रह गरिन् ।

उनका अनुसार भक्तपुरका २५ हजार ५७२ बालबालिकालाई पोलियोविरुद्ध खोप दिने लक्ष्य रहेको छ । जसमा चाँगुनारायण नपामा ४ हजार ५८२ बालबालिकालाई खोप दिइनेछ ।

चाँगुनारायण नपाको स्वास्थ्य शाखाका प्रमुख सत्यकुमार दुवालले पोलियोविरुद्धको आईभीपी खोप अभियानमा नगरभर ६९ जना खोप लगाउने र १३८ जना स्वास्थ्यसेविका परिचालन हुने जानकारी दिए ।

उनले वडाका सम्पूर्ण विद्यालयमा स्वास्थ्यकर्मीहरु खटिएर खोप लगाइदिने बताए । विद्यालयका छुटेका बालबालिकालाई भने स्वास्थ्य संस्थामार्फत दिइने स्वास्थ्य शाखा प्रमुख दुवालले बताए ।

पोलियोविरुद्ध दुई किसिमको खोप

उनका अनुसार बालबालिकालाई ओपीभी र आईपीभी गरी २ किसिमको पोलियोविरुद्धको खोप दिइन्छ । ओपीभी खोप मुखबाट खुवाइन्छ भने आईपीभी खोप सुईद्वारा दिइन्छ ।

शिशुलाई ओपीभी खोपका तीन मात्रामध्ये पहिलो ६, दोस्रो १० र तेस्रो १४ हप्तामा दिइन्छ । ओपीभी तेस्रो मात्रा दिएकै समयमा आईपीभीको पहिलो र ९ महिनाको उमेरमा दोस्रो मात्रा दिनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत शान्तिराम खतिवडाले बताए ।

उनका अनुसार खोप दोहोरिएर केही हुँदैन, तर खोप नपाउँदा पोलियो संक्रमण हुने सम्भावना रहन्छ । दक्षिण एसियाको पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो रोग देखापरेकोले नेपाल पोलियोको जोखिममा रहेको उनको भनाइ छ ।

‘पोलियो भाइरसले जुनसुकै उमेरका मानिसलाई संक्रमण गर्न सक्छ, तर ५ वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन्’, उनले भने, ‘पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ । कसैको मृत्युसमेत हुनसक्छ ।’

पोलियोबाट पक्षघात भइसकेपछि यसको निश्चित उपचार नभएकाले निको नहुने हुँदा यसविरुद्धको खोप लगाउनु पोलियोबाट बच्ने उत्तम उपाय भएको खोप अधिकृत खतिवडाको भनाइ छ ।

उनका अनुसार यो खोप २०७१ सालदेखि नियमित खोप सेवाबाट प्रदान गरिएको हो । नेपालमा आईपीभी खोप सेवा २०७१ असोजदेखि सुरु गरिएको थियो, तर २०७३ जेठदेखि २०७५ भदौसम्म आईपीभी खोप अभाव भएको थियो ।

सोही अवधिमा आईपीभी खोप लगाउन छुटेका बालबालिकामा लक्षित गरेर सरकारले देशभर १० दिने आईपीभी खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

अभियानमा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई मात्र ओपीभी खोप १ मात्रा दिइने अधिकृत खतिवडाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *