श्रीमान्‌सँग फोनमा कुरा गर्दै घर आएकी थिइन् श्रीदेवी, मेसेन्जरबाट कसले पठायो फोटो ? – Nepal Press
मुगु सामूहिक हत्या प्रकरण

श्रीमान्‌सँग फोनमा कुरा गर्दै घर आएकी थिइन् श्रीदेवी, मेसेन्जरबाट कसले पठायो फोटो ?

सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा बुधबार (कात्तिक ८ गते) एकै परिवारका चारजनाको सामूहिक हत्याको घटनाले सिंगो गाउँ त्रसित छ । प्रहरीले ४ दिनसम्म संलग्न व्यक्तिबारे केही क्लू फेला पार्न सकेको छैन ।

२८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर घरभित्र मृत भेटिएका थिए । धारिलो हतियार प्रहार गरी रातिको समयमा चारैजनाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

कात्तिक ७ गते टीका थाप्न माइती गाउँ कोटिला पुगेकी श्रीदेवी भोलिपल्ट ८ महिनाका छोरा रहरलाई काखी च्याप्दै दुई छोराछोरी डोर्‍याएर घर फर्केकी थिइन् । उनको घर र माइतीबीचको दूरी पैदल २ घण्टाजति पर्छ ।

माइतीबाट फर्कैकै दिन उनीहरूको हत्या भएको प्रहरीको आशंका छ । छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न गएको हुनसक्ने अनुमान लगाएका थिए । १० गते बिहान पनि घरको ढोका नखोलेपछि छिमेकीहरूले माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले ताला फोडेर भित्र हेर्दा चारैजनाको हत्या भएको देखेका थिए ।

कतारमा रहेका श्रीमान् दीपकसँग ७ गते साँझ भिडिओ कलमा कुरा गरेर माइतीबाट कोदो टिपेर घर जा भन्दै हुनुन्छ के गरूँ ? भनेर सोधेकी थिइन् । आफूले हुन्छ, तर साँझ समयमा नै घर फर्किनू भनेको हिजो घर आएका दीपकले भने ।

८ गते माइतमा कोदो टिपेर खाजा खाई सबैजना साँझ ४ बजे बारीबाटै श्रीदेवी छोराछोरी लिएर घर फर्किएकी थिइन् । श्रीमान्‌सँग डेढ घण्टासम्म भिडिओ कलमा कुराकानी भएको थियो ।

‘मसँग कुरा गर्दै आएकी थिई । घरको चावी छिमेकी मामाको घरमा राख्न दिएको रहेछ । ढोका खोल्दा हामी बोलिरहेकै थियौं । पछि अब म खाना पकाउँछु फोन राख्नू । आज छिट्टै सुतेर भोलि बिहान काम गर्न छ । हाम्रो मात्रै सिम‍ी टिप्न बाँकी छ भन्थी त्यति नै रहेछ भेट हुन जुरेको’, दीपकले नेपाल प्रेससँग भने ।

आफूहरूबीच जहिले मेसेन्जरमा भिडिओ कल हुने उनले सुनाए । ९ गते साँझ दीपकको मेसेन्जरमा आमा, छोरा र छोरीले दसैँको टीका लगाएको फोटो श्रीदेवीको आईडीबाट गएको थियो ।

मेसेन्जरमा फोटो आएसँगै अनलाइन देखेपछि कल गरेको तर नउठेको उनले बताए ।

‘२ पटक घण्टी गयो तर उठेन । तेस्रो पटक गरेँ लागेन । त्यसपछि मोवाइलमा फोन गरेँ । स्वीचअफ भन्यो । फोटो मेरो म्यासेन्जरमा आउदा नेपालको साँझ ७:५० जस्तो बजेको थियो भने कतारमा ५ बजेको थियो’, दीपक सुनाउँछन् ।

मोवाइलमा चार्ज नभएर अफ भएको होला भन्ने सोचेर त्यो दिन त्यत्तिकै बसेको तर १० गते पनि फोन गर्दा स्वीच अफ नै पाएको उनले सुनाए ।

त्यही १० गते बिहान अबेरसम्म ढोका नखुलेपछि छिमेकीले ताला फोडेर हेर्दा घरका चारैजना मृत अवस्थामा भेटिएका थिए । त्यसपछि छिमेकीले प्रहरीलाई फोन गरेर घटनाको सूचना दिए ।

कतारमा रहेका दीपक पनि शुक्रबार साँझ नै कतारबाट हिँडेका थिए । उनी काठमाडौं ओर्लिएर नेपालगञ्ज हुँदै जहाजबाट मुगु शनिबार (हिजो बिहान) ११ बजे घर पुगे ।

पत्नी श्रीदेवीको अनुहार नै नचिनिने गरी धारिलो हतियार प्रहार गरिएको र कानको तीन तोलाको रिङ चुँडाएर लगेको दीपकले बताए ।

उनले भने, ‘घरमा भएको अरु सामान पनि खोजेका रहेछन् । नदेख्ने ठाउँमा ३/४ तोला सुन थियो त्यो भेटाएन छन् । हिजो हामीले भेटायौं ।

घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरी टोली पुगेको छ । चारैजनाको शव परीक्षणका लागि सदरमुकाम गमगढी ल्याएको छ । सबै कोणबाट अनुसन्धान सुरू गरेको भन्दै मुगुका डीएसपी वीरेन्द्र थापाले छिट्टै अपराधी पत्ता लाग्ने बताए ।

छाँयानाथ रारा नगरपालिका-६, का वडाध्यक्ष खेमबहादुर रावल र मृतकका आफन्तले अपराधी नभेटेसम्म शव नबुझ्ने अडानमा छन् ।

यता, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल थप अनुसन्धानका लागि टीमसहित मुगु पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *