कर बढाएको भन्दै ट्यांकर व्यवसायी असन्तुष्ट, दसैँको मुखमा खानेपानी आपूर्ति बन्द गर्ने तयारी – Nepal Press

कर बढाएको भन्दै ट्यांकर व्यवसायी असन्तुष्ट, दसैँको मुखमा खानेपानी आपूर्ति बन्द गर्ने तयारी

काठमाडौं । ट्यांकर व्यवसायीहरूले स्थानीय र प्रदेश सरकारले धेरै कर लिएर दु:ख दिएको भन्दै आन्दोलनको तयारी गरेका छन् । उनीहरूले खानेपानी आपूर्ति बन्द गर्ने भन्दै आन्दोलनको तयारीमा लागेका हुन् ।

खानीपानी उद्यम तथा व्यवसायी संघका अध्यक्ष उज्ज्वल शाक्यले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने ९ सय वटा ट्यांकर एकैपटक बन्द गर्ने गरी आन्दोलनको गृहकार्य भइरहेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘राज्यले हामी पानी व्यवसायीहरूलाई पेल्दै गइरहेको छ । हामीले एउटा ट्यांकरबापत प्रतिवर्ष ८५ हजारभन्दा धेरै कर तिर्छौं । तर, पनि स्थानीय सरकार र प्रदेश सरकारले अझै कर थप गर्दै गइरहेको छ । २० वर्ष पुरानो ट्यांकर पनि चल्न नदिने भनेको छ । गाडी मर्मत गरेर २० वर्षभन्दा धेरै चलाउन सकिन्छ । तर, राज्यले नै व्यवसाय गर्न नदिने गरी कर बढाएको छ । उपत्यकाभर पानी बोक्न बन्द गरेर आन्दोलन गर्ने अवस्थाको सिर्जना भएको छ ।’

उनले कार्यालय समयमा पनि ट्यांकर सञ्चालन निषेध गरिएको, वडाले पानी उद्योगलाई नवीकरण नगरेकोजस्ता समस्या पनि सुनाए ।

स्थानीय तहले उद्योग दर्ता गर्दा ५ लाख र ट्यांकर दर्ता गर्दा २ लाख शुल्क लिने गरेका छन् । वडाले वार्षिक ५० हजार कर लिन्छ । त्यस्तै, प्रदेश सरकारले गाडी दर्ताको २० हजार, आय कर १० हजार ५ सय र रोड परमिट ४ महिनाको २ हजार ३५० लिन्छ ।

खानेपानी बोर्डले पनि ट्यांकरलाई प्रतिवर्ष २ हजार लिने गरेको छ । बोर्डले पिउने, घरायसी प्रयोजन र अन्य प्रयोजनको लागि भनेर प्रमाणित गर्ने गर्छ । नयाँ आर्थिक वर्षबाट ५ हजार रूपैयाँ कर वृद्धि भएको छ । आय कर ४ हजारले यही आर्थिक वर्षबाट थपिएको हो ।

अर्का ट्यांकर व्यवसायी भीमबहादुर कटुवालले पनि ट्यांकर निर्वाधरूपमा सञ्चालनमा राज्य कारक रहेको भन्दै असन्तुष्टि पोखे ।

उनले भने, ‘अब ट्यांकरबाट पानी बोक्नै नसक्ने अवस्था आएको छ । बुढो कर, आय कर र कर तिर्नु पर्छ । ४ महिनामा ट्यांकरको रुट परमिट नवीकरण गराइरहनु पर्ने अवस्था छ । ट्राफिक र प्रहरीले पनि सित्तैमा पानी झार्न लगाउँछन् । नत्र केही खोट देखाएर चिट काट्ने वा ३ घन्टा होल्ड गराउँछन् । राज्यका सबै निकायहरूले ट्यांकर व्यवसायीलाई पेल्दै गएको कारणले आन्दोलनको विकल्प छैन ।’

काठमाडौं उपत्यकामा चोभार, मातातीर्थ, गोदावारी, बालाजु र रामकोटलगायत ठाउँबाट ट्यांकरले पानी आपूर्ति गर्दै आएको छ । मेलम्चीको पानी खसालिए पनि जनसंख्याको चाप र बढ्दो मागले एक त पर्याप्त छैन भने अर्कोतिर बाढी, पहिरोलगायतका समस्याले त्यो पनि नियमित छैन ।

ठाउँठाउँमा बोरीङ गरेर खानेपानी योजना सञ्चालन गरेपनि ट्यांकरबाट ओसार्नुपर्ने बाध्यता छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *