कांग्रेसले शिक्षा विधेयकको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने – Nepal Press

कांग्रेसले शिक्षा विधेयकको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा सरोकारवालाको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने भएको छ ।

मंगलबार र बुधबार संसद भवन नयाँ बानेश्वरमा विद्यालय शिक्षासम्बन्धी विधेयकमा बारेमा सरोकारवालासँग छलफल गर्दै कांग्रेसले विधेयकलाई आवश्यकताअनुसार परिमार्जन गर्न पहलकदमी लिने जनाएको हो । शैक्षिक पेशलाई मर्यादित, सुरक्षित र शिक्षकहरुको हक अधिकारलाई कानूनमार्फत प्रत्याभूत गर्न गम्भीर हुनुपर्ने छलफल कांग्रेस सांसद अर्जुन नरसिंह केसीले बताए ।

उनले कानून बनाउँदा सरोकारवालाहरूसँग वृहत छलफल गर्नुपर्ने र प्राप्त सुझावका आधारमा अन्तिम रूप दिन सरकार गम्भीर हुनुपर्ने औंल्याए । शैक्षिक समस्याप्रति गम्भीर भएर कांग्रेसले सरोकारवालालगायत विज्ञसँग छलफल गरेको भन्दै प्राप्त सुझावप्रति कांग्रेसको ध्यानाकर्षण भएको केसीको भनाइ छ ।

छलफलपछि कांग्रेस उपसभापति समेत रहेका कानूनमन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय, शिक्षालगायत धेरै विधेयकहरु छलफलका क्रममा रहेको भन्दै महत्वपूर्ण विधेयकहरुलाई टुङ्गो लगाएर मात्रै अधिवेशन अन्त्य गर्न चाहेको सुनाए ।

मुख्य सचेतक रमेश लेखकले छलफलमा आएका विचारहरुमाथि छलफल गरेर विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने बताए ।

विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौं केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो । तर आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरू भने अहिले पनि आन्दोलनमै छन् । विधेयकमाथि शिक्षकहरुको आपत्ती रहेपछि कांग्रेसले सरोकारवालासंग छलफल गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर