राप्रपा प्रवक्ता श्रेष्ठको टिप्पणी- विष वृक्ष रोपेर अमृत फल्दैन, ‘कोर्स करेक्सन’ गरौं – Nepal Press

राप्रपा प्रवक्ता श्रेष्ठको टिप्पणी- विष वृक्ष रोपेर अमृत फल्दैन, ‘कोर्स करेक्सन’ गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले संविधानलाई आलोचनात्मक समर्थन गरेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानका मूलभूत मान्यता परिवर्तन गर्ने पक्षमा रहेको बताउँदै संघर्षरत रहेको बताए ।

उनले भनेका छन्, ‘आफ्नो मान्यताका पक्षमा जनमत बटुल्न प्रयासरत छौं । यो संविधान जारी भएपछि देशमा सुशासन, स्थिरता, दिगो शान्ति, अर्थतन्त्रमा सुधार, रोजगारीको सिर्जना, युवालाइ स्वदेशमै गरिखाने वातावरणको निर्माण, जनताको जीवनस्तरमा आमूल सुधार, भोलिको सुन्दर नेपालको आशालाग्दो खाका एवं राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सबल नेपालका पक्षमा संविघानका पक्षधर र संवाहक शक्तिहरूले कार्य गरेका भए हाम्रा मान्यताहरु स्वतः कमजोर र असान्दर्भिक हुँदै जाने निश्चित थियो। नेपालीमा एउटा उखान छ- ‘उचालेको कुकुरले मृग मार्दैन ।’

गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता मुद्दाहरु नेपाली जनताका मुद्दा नभएको उनले दाबी गरे ।

उनले भने, ‘सुन्दा अप्रिय लाग्न सक्छ, यी मुद्दा सही थियो भनेर प्रमाणित गर्न कथित बुद्धिजीवी र यसका भरियाहरु निर्रथक प्रयास गरिरहेका छन् । विष वृक्ष रोपेर अमृत फल फल्ने सम्भावना थिएन, अन्ततः फलेन, फल्दैन ।’

देशले अवलम्बन गरेको मार्गचित्रको समिक्षा गर्ने र ‘कोर्स करेक्सन’ गर्ने बेला आइसकेको बताए ।

उनले भनेका छन्, ‘जहाँबाट गल्ती शुरू भएको छ, त्यही बिन्दुबाट ‘कोर्स करेक्सन’ शुरु गरिनुपर्छ। देशले थप बर्बादी थेग्न सक्ने अवस्था छैन । पचासौं लाख युवालाइ स्वदेश फर्काउने, स्वदेश फर्केका र स्वदेशमै भएका युवालाइ काम र सम्मान दिने, यो देश सबैका लागि बस्नलायक बनाउने काममा लाग्न ढिला भइसकेको छ ।’

राजसंस्था लगायत कुनै पनि शक्तिलाई निषेध नगर्ने गरी नयाँखाले समझदारीको आवश्यकता रहेको उल्लेख गर्दै देशभित्रका परिवर्तनकारी शक्ति र परम्परागत शक्तिबीचको आपसी एकता, सहकार्य र अस्तित्वको स्विकारोक्तिको जगमा आमूल सुधारको नयाँ यात्रा प्रारम्भ गर्न प्रस्ताव गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर