महिलाहरूको क्षमता कमजोर बनाउने कथाको चक्र तोड्न राजनीतिमा आएँ : उपप्रमुख डंगोल – Nepal Press

महिलाहरूको क्षमता कमजोर बनाउने कथाको चक्र तोड्न राजनीतिमा आएँ : उपप्रमुख डंगोल

काठमाडौं । महिलाहरूको आत्मविश्वास, आत्मसम्मान र क्षमता बढ्न नदिने कथाको चक्र तोड्न आफू राजनीतिमा आएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।

बेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा बोल्दै उनले, महिलाहरूलाई प्रतिकुल अवस्थाबाट माथि उकास्न निरन्तर प्रयास गरिरहेको बताइन् ।

उनले सामाजिक मान्यताका आयामहरूमा चर्चा गर्दै, नेपाली राजनीतिमा महिलाहरूको सहभागिता बढ्दै गएको बताइन् ।

सूचना र प्रविधिले रूपान्तरित हुँदै गरेको विश्व परिवेशमा लैङ्गिक समानता र समावेशीकरणका लागि रणनीतिक राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्जाल निर्माण हुनेछ । यसबाट आफ्नो परिवेशलाई विश्वका अन्य परिवेशसँग तुलना गर्न र सुधारका काम गर्न सहज हुनेछ । कार्यक्रममा डंगोलले भनाइ थियो ।

शनिवार उपप्रमुख डंगोलले, अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गरेकी थिइन । व्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन गएकी हुन । मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु भएको फेस्टिभल आज सकिँदैछ ।

स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरूका बीच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक वर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लन्डनको साउथ बैङ्कबाट सुरु भएको हो ।

यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रूपमा सहभागी भइसकेकी छन् ।

लैङ्गिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरूको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो ।

हाल सम्म विश्वका ६ महादेशहरूको ४५ भन्दा बढी स्थानहरूमा ५० लाख भन्दा बढी व्यक्तिहरूले सहभागिता जनाइसकेका छन् ।

उपप्रमुख नेतृत्वको भ्रमण टोली यसपछि स्कटल्यान्डमा नेपाल स्कटल्यान्ड एसोसिएसनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछ ।

यस्तै लन्डनस्थित बेलायतका लागि नेपालको राजदूतावासले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुनेछ । भ्रमण अवधिमा टोली, अक्सफोर्ड विश्वविद्यालय, वर्ल्ड नेवा अर्गनाइजेसनलगायत संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर ज्येष्ठ २० गते स्वदेश फर्कनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *