जुम्लामा स्थानीयले काटे फल लाग्दै गरेका १ हजार स्याउका बोट (भिडिओ) – Nepal Press

जुम्लामा स्थानीयले काटे फल लाग्दै गरेका १ हजार स्याउका बोट (भिडिओ)

सुर्खेत । जुम्लाको सिंजा गाउँपालिका- ६ भाडगाउँमा १ हजार स्याउका बोट काटिएको छ । फल लाग्दालाग्दैका बोट काटिएपछि आलोचना भइरहेको छ ।

भाडगाउँस्थित सामुदायिक वन अतिक्रमण गरी रोपिएको भन्दै ती स्याउका बोट काटिएको थियो । अतिक्रमित जग्गा छोड्न पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएपछि भाडगाउँका स्थानीयले ती स्याउ बोट नष्ट गरेका थिए ।

स्थानीयका अनुसार जुम्लाकै सिंजा- ६ जोडुका ४ र भाडगाउँका ६ गरी १० जनाले सामुदायिक वनको जग्गा अतिक्रमण गरेर स्याउ फार्म सञ्चालन गरेका थिए । कुल १० हेक्टर क्षेत्रफलमध्ये ५ हेक्टरमा स्याउका विरुवा रोपिएको थियो ।

फार्मले सामुदायिक वनको ५ हेक्टर जग्गा अतिक्रमण गरेको थियो । जसमा रोपिएका १ हजार स्याउका बोट काटिएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । उनका अनुसार सामुदायिक वनको ५ हेक्टर जग्गामा घेराबार लगाइ व्यक्तिगत प्रयोजन गरिएपछि स्थानीय आक्रोशित हुँदै आएका थिए ।

अतिक्रमण गरिएको जग्गामा २०६०/०६१ साल देखि सानीपातल काफलबारी सामुदायिक वन र स्याउ फार्म सञ्चालकबीच विवाद हुँदै आएको अध्यक्ष धितालले बताए । २०७१ सालमा जग्गा फिर्ता ल्याउने प्रयास गरिए पनि सफल नभएको उनको भनाइ छ ।

अध्यक्ष धितालले भने, ‘फार्मले सामुदायिक वनलाई प्रतिव्यक्ति १० हजार दिने र जग्गा छोड्ने सहमति भएको थियो, तर सहमति भए पनि कार्यान्वयन भएन । फार्म सञ्चालकले अतिक्रमित जग्गा नछोडेपछि पटक पटक मुद्दा समेत पर्दै आएको थियो ।’

फल दिइरहेका विरुवा काट्नुभन्दा सामुदायिक वनको आम्दानीको स्रोतको रुपमा संरक्षण गर्ने सकिने आफूले बताए पनि स्याउका बोट काटिएको उनले बताए ।

अध्यक्ष धितालले आगामी आर्थिक वर्षको बजेटमा उक्त वन क्षेत्रमा वृक्षरोपण गर्ने कार्यक्रमलाई प्राथमिकता दिइने जानकारी दिए ।

डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत खड्कलाल नेपालीले पटक पटक मुद्दा प्रक्रियापछि सहमति भए पनि फार्म सञ्चालकले अटेर गरेपछि गाउँलेको सहमतिअनुसार स्याउका बोट काटिएको जानकारी दिए ।

उनका अनुसार सामुदायिक वनको संरक्षण, अतिक्रमण हटाउने, नियमन तथा निरीक्षण गर्ने अधिकार सामुदायिक वन उपभोक्ता समितिलाई छ ।

सानीपातल काफलबारी सामुदायिक वनका अध्यक्ष रंगबहादुर रावतले अतिक्रमण गरेको जग्गा फिर्ता गर्न पटक पटक ताकेता गर्दा पनि अटेरी गरेपछि सबडिभिजन वन कार्यालय नराकोट, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा स्याउका बोट काटिएको जानकारी दिए ।

उक्त ठाउँमा वृक्षरोपण गरेर हराभरा गरिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *