हवाई डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ९७ भएको पुष्टि – Nepal Press

हवाई डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ९७ भएको पुष्टि

लस एन्जलस । अमेरिकाको हवाई राज्यको माउई राज्यमा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ११५ बाट घटाएर ९७ मा झारिएको स्थानीय सञ्चारमाध्यमले शुक्रवार जानकारी दिएका छन् ।

माउईका प्रहरी प्रमुख जोन पेलेटियरले शुक्रवार अपरान्ह पत्रकार सम्मेलन गरी मृतकको सङ्ख्यामा कमी आएको घोषणा गरेको राज्यको प्रमुख स्थानीय समाचार संस्था हवाई न्यूज नाउले जनाएको छ ।

अधिकारीहरूले ‘अवशेषहरूको सूचीकरण गर्ने कठिन प्रयासको बीच’ मृतकहरूको सङ्ख्या समायोजन गरेका छन् ।

अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘भेटिएका अवशेषको डिएनए विश्लेषणले केही अपूर्ण मृत शरीरहरूलाई एउटै भएको पुष्टि गरेपछि मृत्यु हुनेको सङ्ख्यामा संशोधन गरिएको हो ।’

‘डिफेन्स पीओडब्ल्यू÷एमआईए एकाउन्टिङ एजेन्सी’का प्रयोगशाला निर्देशक जोन बर्डले भने, ‘पहिलेको सङ्ख्या अनुमानमा आधारित थियो, जसमा शव गृहमा पठाइएका शरीरका झोलाहरूको सङ्ख्या पनि समावेश थियो । साथै, पानीमा भेटिएका गैर–मानव अवशेषहरू पनि यस पहिले गणनामा समावेश थिए ।

तीमध्ये ७४ जनाको आधिकारिक पहिचान भइसकेको र पहिचान हुन नसकेकाको सङ्ख्या ३१ मा झरेको प्रतिवेदनमा उल्लेख छ । अधिकारीहरूले गत हप्ता विनाशकारी डढेलोपछि ६६ जना अझै हराइरहेको बताएका थिए । अगष्ट ८ मा सुरु भएको डढेलो माउईको ऐतिहासिक शहर लाहैनामा फैलिएको थियो ।

अधिकारीहरूले यस डढेलोका कारण कम्तीमा ११५ जनाको मृत्यु भएको घोषणा गरेका थिए, जसले गर्दा हवाईको इतिहासकै सबैभन्दा भयानक प्राकृतिक प्रकोप र एक शताब्दीयताकै सबैभन्दा घातक अमेरिकी डढेलोमध्ये एक भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर