मधेश प्रदेश : एमालेका मन्त्रीहरू कार्यक्रम बीचमै छाडेर सर्लाहीबाट जनकपुर किन फर्किए ? – Nepal Press

मधेश प्रदेश : एमालेका मन्त्रीहरू कार्यक्रम बीचमै छाडेर सर्लाहीबाट जनकपुर किन फर्किए ?

जनकपुरधाम । मधेश सरकारका तीन मन्त्री सर्लाहीको बरहथवामा आयोजक एक कार्यक्रम बीचमै छाडेर हतार हतार जनकपुरधाम आइपुगेका छन् ।

बरहथवा नगरपालिका ३ स्थित एक विद्यालयमा चाइना एडको सहयोगमा संयुक्त राष्ट्रसंघीय कार्यक्रम अन्तर्गत महामारी रोकथाम तथा पुनः स्थापनाका लागि दुर्गम क्षेत्रका विद्यालय र समुदायलाई सहयोग परियोजनाको कार्यक्रम थियो । उक्त कार्यक्रममा चिनियाँ राजदूत चेन सोङ्ग पनि सहभागी थिए ।

राजदूत सोङ्गले सम्बोधन गर्न बाँकी रहेकै अवस्थामा कार्यक्रम छाडेर मधेशका भौतिक पूर्वाधार किवास मन्त्री सरोज कुमार यादव, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह, सञ्चार तथा कानून राज्यमन्त्री शारदा थापा जनकपुरधाम हिँडेकी छन् । तीनै मन्त्री नेकपा एमालेका हुन् ।

मधेश सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिन लागेको समाचार बाहिर आएको छ । लगत्तै एमालेबाट मन्त्रीहरू सर्लाहीबाट हतार हतार जनकपुरधाम आउनुले प्रदेशको सत्तामा उथलपुथल आउने सम्भावना बढेको छ ।

सर्लाहीको कार्यक्रम छाडेर जनकपुरधाम हिँडेका स्वास्थ्य राज्यमन्त्री रायले केहि विषयमा छलफल गर्न जनकपुरधाम आइपुगेको बताए । उनले भने, ‘के विषयमा बैठक बस्दै छ भन्ने कुरा पछि भन्छौँ । गोप्य बैठक हो ।’

गृह राज्यमन्त्री थापाले जसपा नेपाल विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारुढ दलको बैठक बस्न लागेको बताइन् । उनले भनिन्, ‘सर्लाहीबाट भर्खर जनकपुर आइपुगेकी छु । केहिबेरमा बैठक बस्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर