शिक्षकको काज फिर्ता गर्न सबै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र – Nepal Press

शिक्षकको काज फिर्ता गर्न सबै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको काज फिर्ता गर्न सबै जिल्ला शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गरेको छ ।

शुक्रबार केन्द्रले देशभरका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई समेत परिपत्र गर्दै शिक्षकको काज फिर्ता गर्न निर्देशन दिएको हो । काजमा रहेका शिक्षकको काज फिर्ता गर्न निर्देशन दिइएको केन्द्रका निर्देशक नारायणप्रसाद पोख्रेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बैशाख २५ गते मन्त्रीस्तरीय निर्णय गर्दै शिक्षकको काज फिर्ता गर्न भनेको थियो । शिक्षा ऐन २०२८ को दफा १६ च २ को उपदफा एकमा सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासन सम्बन्धी काममा बाहेक अन्य काममा लगाउनु नहुने व्यवस्था गरेको छ ।

त्यस्तै शिक्षा नियमावली २०५९ को नियम १३३ को उपनियम १ को खण्ड ‘ज’ मा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर कामकाज गर्न नहुने व्यवस्था छ । उक्त व्यवस्था विपरीत कुनै पनि शिक्षकलाई कहीँ कतै काजमा जाने, काजमा राख्ने जस्ता काम कारबाही नगर्नु नगराउनु भनी मन्त्रीस्तरीय निर्णय गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर