२१ करोड दस्तुर तिरेपछि टेलिकमले पायो ५ वर्षको लाइसेन्स – Nepal Press

२१ करोड दस्तुर तिरेपछि टेलिकमले पायो ५ वर्षको लाइसेन्स

काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाका लागि पाँच वर्षका लागि लाइसेन्स प्राप्त गरेको छ । शुक्रबार अनुमतिपत्र खारेज हुने अन्तिम दिन नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई पत्राचार गर्दै पाँच वर्षका लागि नयाँ अनुमतिपत्र जारी भएको जानकारी गराएको हो ।

अहिलेलाई प्राधिकरणले २१ करोड रुपैयाँ दस्तुरसहित लाइसेन्स उपलब्ध गराएको प्राधिकरणका निर्देशकसमेत रहेका प्रवक्ता सन्तोष पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार नयाँ लाइसेन्सको अवधि र दस्तुरका विषयमा नीतिगत अन्योलता रहेकोमा प्राधिकरणले अहिलेका लागि पाँच वर्षको अवधि र २१ करोड रूपैयाँ लिएर लाइसेन्स दिएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल टेलिकमको उक्त अनुमतिपत्रको २५ वर्षे अवधि शुक्रबार सकिने भएकाले नयाँ लाइसेन्स दिन प्राधिकरणलाई निर्देशन दिएको थियो । नेपाल टेलिकमले २०५६ वैशाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र पाएको थियो ।

नयाँ लाइसेन्स लिन टेलिकमले गत माघ २८ गते नै प्राधिकरणमा आवेदन दिएको भए पनि कति दस्तुर लिएर कति अवधिका लागि पुनः अनुमतीपत्र जारी गर्ने भन्ने विषयमा अन्योलता थियो । यसबारे दूरसञ्चार कानुनमा स्पष्ट उल्लेख नभएकाले प्राधिकरणले निकास दिन भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *