पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान: क्रेमलिन – Nepal Press

पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान: क्रेमलिन

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ ।

पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गरेका छन् र हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच किमसँग भेट गरेका हुन् ।

‘पुटिनले ‘किमलाई हाम्रो उत्पादनमध्ये उच्च गुणस्तरको राइफल दिनुभयो’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने । बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहारस्वरुप प्राप्त गरेका छन् ।

‘पुटिनले किमलाई ‘अन्तरिक्षमा धेरै पटक भ्रमण गरेको अन्तरिक्ष सूटको पञ्जा’ पनि दिनुभएको छ । यसलाई उत्तर कोरियाको अन्तरिक्ष यात्राको सफलताको शुभेच्छाका रूपमा अर्थ्याइएको छ’, पेस्कोभले भने, पुटिनले ‘कृतज्ञतापूर्वक’ उत्तर कोरिया भ्रमणको निमन्त्रणालाई स्वीकार गर्नुभयो ।’

उनले किमको रूस भ्रमण अझै केही दिन लम्बिने बताएका छन् । उत्तर कोरियाली नेता मङ्गलबार रूस पुगेका थिए ।

युक्रेनमा रूसको पूर्ण आक्रमणका कारण रूस पश्चिमा र उसका केही परम्परागत साझेदारबाट अलग्गिएको अवस्थामा दुई नेताबीचको मैत्रीपूर्ण सम्बन्ध बनेको हो ।

अमेरिकी अधिकारी र विज्ञहरूले युक्रेनमा प्रयोग हुने गरी उत्तर कोरियाली गोलाबारुद खरिद गर्न रूस इच्छुक रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर