फुटबल संघमा भाँडभैलो- अल्पमतमा परेका अध्यक्ष नेम्वाङमाथि नैतिक संकट – Nepal Press

फुटबल संघमा भाँडभैलो- अल्पमतमा परेका अध्यक्ष नेम्वाङमाथि नैतिक संकट

अध्यक्ष र महासचिव बर्खास्तीका लागि बहुमत सदस्यद्वारा प्रस्ताव पेश

काठमाडौं । देशको फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । एन्फाका बहुमत सदस्यहरुले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै प्रस्ताव दर्ता गराएका छन् ।

८६ सदस्यीय साधारण सभाका ४९ जनाले हस्ताक्षर गरेर अध्यक्ष-महासचिवको बर्खास्ती माग गरेका हुन् । अब एन्फा कार्यसमितिको बहुमतले अध्यक्षलाई अस्थायीरुपमा अर्को साधारणसभासम्मलाई निलम्बन गर्न सक्नेछ भने महासचिवलाई बर्खास्त गर्न सक्नेछ । अध्यक्षलाई बर्खास्त गर्न भने साधारणसभाको दुईतिहाइ चाहिन्छ ।

एन्फा कार्यसमिति र साधारणसभा दुवैमा अध्यक्ष नेम्वाङ स्पष्ट अल्पमतमा परेका छन् । यसले उनीमाथि नैतिक संकट उत्पन्न भएको छ । अल्पमतको अध्यक्षले कुनै पनि निर्णय गराउन सक्ने हैसियत राख्दैनन् । त्यसैले आफैं राजीनामा दिने वा साधारण सभाको सामना गर्ने दुई विकल्प उनीसामू छन् ।

एन्फा विधानको धारा ४१ मा अध्यक्षको बर्खास्तीसम्बन्धी व्यवस्था छ । त्यस बमोजिम साधारण सभाबाट बर्खास्तीको प्रस्ताव पारित हुन उपस्थितिको दुई तिहाइको समर्थन चाहिन्छ । यदि सबै थप ७ जना सदस्य जुटाए एन्फा अध्यक्ष पदमुक्त हुनेछन् । बर्खास्तीको प्रस्ताव पेश गरिएको ३० दिनभित्र साधारण सभा बोलाउनुपर्ने प्रावधान रहेको छ । साधारणसभाले मतदानबाट निर्णय लिन्छ ।

साधारणसभाअघि कार्यसमिति बैठक बोलाएर अध्यक्षलाई निलम्बन गर्ने असन्तुष्ट समूहको योजना छ । कार्यसमितिमा १८ सदस्यमध्ये असन्तुष्ट पक्षमा ११ जना छन्, जुन भनेको स्पष्ट बहुमत हो । यसअघि कार्यसमितिमा महासचिवको बर्खास्ती प्रस्ताव पेश भइसकेको थियो । तर, अध्यक्षले त्यसलाई टेबुल नगरेपछि साधारणसभामा लगिएको हो ।

असन्तुष्ट समूहले आज वरिष्ठ उपाध्यक्षलाई बुझाएको प्रस्तावमा अध्यक्षमाथि १९ बुँदे आरोप लगाएका छन् । विवादको मुख्य चुरो चाहिँ दुई पक्षबीच भागवण्डा नमिल्नु हो । एन्फाका पदाधिकारीहरुको व्यक्तिगत टकरावले यो स्थिति आएको स्रोत बताउँछ ।

एन्फा स्रोत भन्छ, ‘विगत ८ वर्षदेखि फुटबलमा केही पनि काम भएको छैन । गणेश थापाले जे जति काम गरेका थिए, त्यतिमै अड्किएको छ । एन्फा नेतृत्वसँग सरोकारबाट पक्ष सबै असन्तुष्ट छन् ।’ एन्फाले लेखा परीक्षक नियुक्तिको निर्णय अनुमोदन गराउन भन्दै हिजो भर्चुअल बैठक बोलाएको थियो ।

तर, डिभिजन क्लव र जिल्ला संघहरुले भर्चुअल साधारण सभाको विरोध गरे । बहुमत सदस्य अनुपस्थित भएपछि हिजो साधारण सभा नै हुन सकेन । आज पनि साधारण सभा बोलाइएका थियो । तर, बर्खास्तिको प्रस्तावपछि रोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *